१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २१ शुक्रबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २१ शुक्रबार o८:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

जनवरीमा भित्रिए १७ हजार पर्यटक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २१ शुक्रबार o८:५o:oo

सन् २०२२ को पहिलो महिना विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ । कोभिड महामारीकै बीच जनवरीमा विभिन्न मुलुकबाट १६ हजार नौ सय ७५ पर्यटक भित्रिएका छन् । यो संख्या सन् २०२१ को जनवरीको तुलनामा ९१.३ प्रतिशत बढी हो । गत वर्षको जनवरीमा आठ हजार आठ सय ७४ पर्यटक भित्रिएका थिए । जनवरीमा पर्यटक आगमनमा सुधार देखिए पनि कोभिड सुरु हुनुअघिको तुलनामा भने निकै कम हो । सन् २०१९ को जनवरीमा ८१ हजार दुई सय ७३ र सन् २०२० को जनवरीमा ७९ हजार सात सय दुई पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डले जनाएको छ । 

सन् २०२० को मार्च–अप्रिलदेखि नेपालमा कोभिड महामारी फैलिन सुरु भइसकेको थियो । पछिल्लो समयमा बिस्तारै पर्यटक आगमन बढ्दै गइरहेको पर्यटन बोर्डका रिसर्च, प्लानिङ तथा मोनिटरिङ विभागका प्रमुख मणिराज लामिछानेले बताए । ‘गत वर्षको तुलनामा यस वर्ष विदेशी पर्यटक आगमन झन्डै दोब्बर पुगेको छ,’ उनले भने, ‘पछिल्ला महिनामा युरोप, अमेरिकालगायत पश्चिमा मुलुकहरूबाट पनि पर्यटक आगमन बढ्न थालेको छ, जुन सकारात्मक लक्षण हो ।’

सरकारले कोभिड संक्रमण फैलिन नदिन सन् २०२० को मार्च–अप्रिलदेखि मुलुकभर लकडाउन गरेको थियो । विदेशी पर्यटकका लागि नोभेम्बरबाट मात्र खुला गरिएको थियो । पर्यटन खुला हुने बित्तिकै पर्यटक आगमन पनि क्रमशः बढ्दै गइरहेको थियो । तर, २०२१ को अप्रिलदेखि कोभिडको दोस्रो लहर सुरु भएपछि मुलुकमा पुनः निषेधाज्ञा जारी भयो । दोस्रो चरणको निषेधाज्ञा खुकुलो बनाई पर्यटन क्षेत्र खुला गरिएसँगै विदेशी पर्यटक आगमन बढ्दै गइरहेको लामिछानेको भनाइ छ । ‘कोभिड महामारीपछि आन्तरिक पर्यटन गुल्जार नै भइसकेको छ, विदेशी पर्यटकको संख्या पनि बढ्दै गइरहेको छ,’ उनले भने, ‘अब पर्यटकीय सिजन पनि सुरु हुँदै छ, विदेशमा नेपाल भ्रमणका लागि सुरक्षित रहेको सन्देश प्रवाह भइरहेको छ, यसले पर्यटक संख्या बढाउन मद्दत पुग्नेछ ।’ विश्व यात्रा गर्ने यात्रीहरूमा कन्फिडेन्स बढ्दै गइरहेको हुँदा पनि आगामी दिन पर्यटन क्षेत्रका लागि सुखद रहने उनको विश्वास छ ।

सन् २०२२ को जनवरीमा सार्क मुलुकबाट पाँच हजार पाँच सय पर्यटक आएका छन् भने अन्य एसियन मुलुकबाट एक हजार एक सय १४, युरोपेली मुलुकबाट तीन हजार पाँच सय २७, आसियानाबाट एक हजार दुई सय ४०, अमेरिकी मुलुकबाट तीन हजार ६ सय १८ र अन्य मुलुकबाट एक हजार नौ सय ७५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । जनवरीमा सबैभन्दा बढी भारतबाट तीन हजार नौ सय १६ पर्यटक भित्रिएका छन् भने दोस्रोमा अमेरिकाबाट तीन हजार दुई सय ५७ पर्यटक आएका छन् ।

ad
ad
ad
ad