१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १८ मंगलबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १८ मंगलबार o९:२८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भरतपुरमा शिक्षक अस्पताल बनाउन सैद्धान्तिक सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १८ मंगलबार o९:२८:oo

सरकारले चितवनको भरतपुरमा शिक्षक अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदनका आधारमा भरतपुरमा शिक्षक अस्पताल निर्माणका लागि सैद्धान्तिक सहमति दिएको हो । 

शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवं जग्गा पहिचान समितिले केही समयअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको थियो । समितिले मन्त्रीलाई बुझाएको प्रतिवेदनमा भरतपुर महानगरपालिका–१५ भगवानपुरमा शिक्षक अस्पतालका लागि उपयुक्त हुने सिफारिस गरेको थियो । शिक्षा मन्त्रालयका अधिकारीका अनुसार सैद्धान्तिक सहमति पाइसकेपछि काम थपअगाडि बढाउने बाटो खुलेको छ । 

समितिले भरतपुर महानगरपालिका–१५, भगवानपुर, भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगाती, सूर्यविनायक नगरपालिका–४ गुन्डु र मकवानपुरको थाहा नगरपालिका–१० चित्लाङमा शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन गरेको थियो । समितिले भरतपुर महानगरपालिका–१५ मा शिक्षक अस्पतालका लागि २१ बिघा जग्गा उपुयक्त रहेको प्रतिवेदनमा उल्लेख छ । डा. विमल शर्मा चालिसेको संयोजकत्वमा समितिले अध्ययन गरेको थियो । सबै क्षेत्रका लाभग्राहीले सुविधा लिन सक्ने ठाउँ रहेको र भौतिक संरचना निर्माण गर्न जग्गा सम्याउने, पर्खाल लगाउनेजस्ता साइट डेभलपमेन्ट कार्यमा सहज हुने उल्लेख छ । 

संघीय शिक्षक अस्पतालका लागि हाल तीन सयवटा बेडको अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाउने तयारी छ । सरकारबाट स्वीकृत मापदण्डबमोजिम भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधासहित रहनेछन् । वातावरणीय संरक्षण ऐन २०७६ बमोजिम वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी मापदण्डअनुसार जनशक्ति व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाउने निष्कर्षसमेत समितिले निकालेको छ । अस्पताल बनेपछि कर्मचारी तथा उनका परिवारलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गर्ने तयारी छ ।