नेपाल क्रिकेट संघ (क्यान)ले जनरल म्यानेजर रौनक मल्लको करार अवधि थप नगर्ने भएको छ । क्यानको बिहीबार भैरहवामा बसेको बोर्ड बैठकले जनरल म्यानेजर मल्लको सम्झौता नथपेको हो । क्यानको कार्यसमितिले मल्लको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै करार अवधि थप नगरेको जनाएको छ । गत वर्ष मल्ल एक वर्षका लागि क्यानको जनरल म्यानेजर नियुक्त भएका थिए । मल्लको कामप्रति पछिल्लो समय क्यान पदाधिकारी असन्तुष्ट रहेको बताइएको छ ।
सम्झौता थप नहुँदा क्यानले जनरल म्यानेजर पोस्ट नै हटाउने तयारी गरेको छ । सन् २०२० डिसेम्बर १५ मा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका मल्लले २०२१ जनवरी १ बाट औपचारिक रूपमा काम सुरु गरेका थिए । एक वर्षका लागि नियुक्त भएका मल्लको कार्यकाल डिसेम्बरमा सकिएको थियो । क्यानले अर्को व्यवस्था नभएसम्मका लागि काम जारी राख्न भनेको थियो ।
खेलाडीको ग्रेडदेखि सुविधासम्म थप गर्ने निर्णय गरेको बोर्ड बैठकले क्रिकेट म्यानेजर विनोद दास र फाइनल म्यानेजर रमेश न्यौपानेको करार अवधि एक वर्षका लागि थप गरेको छ । खेलाडीमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गर्दै आफ्नो अघिल्लो निर्णय उल्टाएको थियो ।
भैरहवामा सम्पन्न क्यानको बोर्ड बैठकले अध्यक्ष चतुरबहादुर चन्दको संयोजकत्वमा पाँच सदस्यीय कार्यसम्पादन समिति गठन गरेको थियो । जसमा कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशनकुमार सिंह, सदस्य दुर्गाराज पाठक र पदमबहादुर खड्कालाई राखिएको छ । यसै समितिले मल्ललाई हटाउन लागिएको क्यानका एक पदाधिकारीले बताए । क्यानको बोर्ड बैठकमा करारमा नियुक्त कर्मचारीको सम्बन्धमा छलफल भएको थियो ।