१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १२ बुधबार
  • Wednesday, 26 June, 2024
२o७८ माघ १२ बुधबार o९:३३:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

 परराष्ट्र मन्त्रालयको वार्षिक प्रतिवेदन भन्छ-  छिमेकीसँग सम्बन्ध सुदृढ छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १२ बुधबार o९:३३:oo

परराष्ट्र मन्त्रालयले भारत र चीनसँग सम्बन्ध सुदृढ रहेको जनाएको छ । बुधबार सन् २०२१ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै मन्त्रालयले पछिल्लो एक वर्षमा छिमेकी भारत र चीनसँग सम्बन्ध सुदृढ भएको जनाएको हो । अहिलेसम्म १७१ मुलुकसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको प्रतिवेदनमा उल्लेख छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपतिको आयोजनामा ग्लोबल डेमोक्रेसी फोरममा गरेको सम्बोधन र स्कटल्यान्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागिता र सम्बोधनलाई उपलब्धिका रूपमा सार्वजनिक गरेलगत्तै परराष्ट्रको वार्षिक प्रतिवेदन सार्वजनिक भएको हो । 

सरकार ६ महिना पुगेको उपलक्ष्यमा शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमा प्रधानमन्त्री देउवाले सन् २०२२ मा अफगानिस्तानमा नेपालले १४ टन राहत सामग्री पठाइएकोलाई पनि कूटनीतिक उपलब्धिका रूपमा व्याख्या गरेका थिए । परराष्ट्रले वेबसाइटमा सार्वजनिक गरेको प्रतिवेदनमा परराष्ट्रसचिव भरतराज पौड्यालले भारतसँग सीमापार पेट्रोलियम उत्पादन पाइपलाइन, सीमापार रेलवे, एकीकृत जाँच चौकी, भूकम्पपछिको पुनर्निर्माण, जलविद्युतजस्ता पारस्परिक रूपमा लाभदायक परियोजनाहरू कार्यान्वयन र सहयोग प्रवर्द्धन भएको उल्लेख गरेका छन् । उनले नेपाल–भारत संयुक्त आयोग र नेपाल–भारत पर्यवेक्षण संयन्त्रका बैठक, द्विपक्षीय परियोजनाहरूको समीक्षा, व्यापार, पर्यटन र लगानीलगायतका सहयोग अभिवृद्धि भएको पनि उपलब्धिका रूपमा व्याख्या गरेका छन् । संयुक्त आयोगको बैठकमा सीमा तथा सीमा व्यवस्थापनसम्बन्धी छलफल भएको प्रतिवेदनमा उल्लेख छ । 

‘भारतका विदेशसचिवको नेपाल भ्रमणले नेपाल–भारत सहयोगअन्तर्गत विभिन्न द्विपक्षीय संयन्त्रको द्रुत बैठक र विकास आयोजना कार्यान्वयनको मार्ग प्रशस्त गरेको छ,’ पौड्यालले प्रतिवेदनमा उल्लेख गरेका छन् । कोभिसिल्ड खोप भारतबाट सुरुमा प्राप्त गर्ने देशहरूमध्ये नेपाल पहिलो भएको पनि उनले उल्लेख गरेका छन् भने कोरोना महामारीको दोस्रो लहरको समयमा तरल अक्सिजनको द्रुत ढुवानी भएको र भारतको सहयोगले जीवन बचाउन मद्दत गरेको पनि उल्लेख गरेका छन् । 

सचिव पौड्यालले उत्तरी छिमेकी चीनसँगको सम्बन्ध राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सुदृढ र विस्तार भएको जिकिर गरेका छन् । दुई देशले कोभिड–१९ को प्रतिकार्य र पुनःप्राप्तिलगायत आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोगलाई अगाडि बढाउन सहकार्य गरेको उनले उल्लेख गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङसँग भएको टेलिफोन वार्तादेखि उच्चस्तरमा भर्चुअल भेटघाट र विभिन्न तहमा भएको भेटघाटले कठिन समयमा दुई देशबीचको आपसी समझदारी र सहयोग प्रवद्र्धन भएको, सगरमाथाको नयाँ उचाइ (८८४८.८६ मिटर) संयुक्त घोषणाको अवसरमा नेपाल र चीनका राष्ट्रपतिहरूले बधाई सन्देश आदान–प्रदान गरेको पनि पौड्यालले प्रतिवेदनमा लेखेका छन् । सन् २०२१ लाई नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सवका रूपमा मनाइएको उनको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेशको राजकीय भ्रमणले द्विपक्षीय सम्बन्ध र पारस्परिक सहयोगलाई थप प्रगाढ बनाउने बाटो खुलेको पनि प्रतिवेदनमा छ ।  

अघिल्लो वर्ष नेपालको विदेश नीति २०२० जारी भएको, नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि सिफारिस भएको, संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदमा पुनः अर्को कार्यकालका लागि सदस्य निर्वाचित भएको, नेपाल शान्ति स्थापक सेनामा दोस्रो ठूलो फौज पठाउने मुलुक भएको प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्रसंघीय महासभामा परराष्ट्रमन्त्री डा. नारायण खड्का नेतृत्वको सहभागितालाई पनि कूटनीतिक उपलब्धिका रूपमा प्रतिवेदनमा व्याख्या गरिएको छ । 

चीनको छेङ्दुमा महावाणिज्य दूतावास स्थापना भएकोदेखि अफगानिस्तानबाट करिब एक हजार नेपालीलाई उद्धार गरेकोसमेत प्रसंग प्रतिवेदनमा समेटिएको छ । छिमेकी भारत र चीन, अमेरिका, जापानलगायतका मुलुकबाट खोप खरिद तथा अनुदानमा प्राप्त गरेको पनि परराष्ट्रको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

१७१ देशसँग कूटनीतिक सम्बन्ध
प्रतिवेदनमा नेपालले गाम्बिया, सियरालियोन र कमन वेल्थ अफ डोमिनिकासँग सन् २०२१ मा कूटनीतिक सम्बन्ध स्थापना गरेको उल्लेख छ । यीसमेत जोड्दा नेपालको कूटनीतिक सम्बन्ध १७१ मुलुकसँग स्थापित भएको छ । नेपालले सन् १८१६ मा बेलायतसँग पहिलो कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । त्यसपछि सन् १९४७ अप्रिलमा अमेरिकासँग दोस्रो तथा त्यही वर्ष जुन १३ मा भारतसँग तेस्रो कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । छिमेकी चीन नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको पाँचौँ मुलुक हो । चीनसँग नेपालले सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो । हाल नेपालका ३० राजदूतावास, संयुक्त राष्ट्रसंघका लागि स्थायी नियोग तीनवटा, सातवटा महावाणिज्य दूतावास छन् । विश्वका ५३ मुलुकमा अवैतनिक नेपाली वाणिज्यदूत छन् । 

ad
ad
ad
ad