मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ३ सोमबार
  • Thursday, 19 December, 2024
२o७८ माघ ३ सोमबार १३:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गाउँमा उत्पादन भएको बेसारले बजार नपाएको किसानको गुनासो 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ३ सोमबार १३:४३:oo

बहुउपयोगी बालीको रूपमा प्रयोग हुने बेसारले बजार नपाउँदा बाग्लुङका किसान निराश बनेका छन् । जिल्लाको बाग्लुङ नगरपालिकाको बलेवा क्षेत्र, बिहुँ र गलकोट क्षेत्रमा उत्पादन भएको बेसारले बजार नपाउँदा किसान बारीमै राख्न बाध्य भएका छन् । कोरोनाको कहरसँगै यसको माग बढ्दो रहे तापनि बारीमा उत्पादन भएको अर्गानिक बेसारले भने अहिले बजार पाउन सकेको छैन । गत वर्षदेखि नै उत्पादन भएको बेसारले बजार नपाएको र यस वर्ष उत्पादन भएको बेसारको पनि राम्रो भाउ नपाउँदा बारीमै राख्न बाध्य भएको बाग्लुङ नगरपालिका– १४ नारायणस्थानका किसान वेदनिधि शर्माले बताए । उत्पादन गरेको बेसारले मूल्य तथा बजार पाउन नसकेको अन्य किसानको पनि गुनासो छ । 

यस क्षेत्रमा अन्य खेतीभन्दा बेसार राम्रो फल्ने गरेको छ । अघिल्ला–अघिल्ला वर्षमा भारतीय व्यापारीले खरिद गर्दै आएका थिए । गत वर्ष कोरोनाको कहरसँगै ती व्यापारी गाउँ छिरेका छैनन् । त्यसैले बेसार बारीमै थन्किएको हो । गाउँघरमा मात्र थोरै मात्रामा किन्ने र धेरै उत्पादन भएको बेसारले बजार नपाउँदा उत्पादन भएको बेसार गाउँमा नै सस्तोमा बेच्नुपर्ने बाध्यता रहेको शर्मा बताउँछन् । ‘गाउँघरमा एक मानाको सय रुपैयाँमा बिक्री हुन्छ । सहरमा यसैलाई महँगो भन्छन् । तर, गाउँको उत्पादनमा कसैले ध्यान दिँदैनन्,’ शर्माले भने, ‘हरेक वर्ष दुई–तीन क्विन्टल  उत्पादन गर्‍याे, बजार पाउँदैन र बारीमै त्यसै कुहिएर जाने हुन्छ । बारीबाट निकालेको बेसारलाई प्रशोधन गरी बेच्नका लागि आधुनिक प्रविधिको मेसिन नहुँदा हातले नै सबै गर्नुपर्दा धुलो बेसार बनाउनसमेत कठिन हुने शर्माले बताए । 
  

 बेसारलाई सुक्खा स्थानमा राख्दा पनि ५–६ महिनासम्म कुहिँदैन । तर, बारीमै राख्नुपर्ने भएकोले झरीले कुहिन्छ कि भन्ने चिन्ता किसानलाई छ । ‘मिहिनेत गरेर फलायो, बेच्ने वेलामा कुहाएर फाल्नुपरेको छ,’ उनले भने, ‘राज्यले किनिदिने र सुरक्षित भण्डारण गरिदिने व्यवस्था भए राम्रो हुन्थ्यो ।’ बेसार (हदेलो) बारीमै राख्दा अर्को खेतीसमेत लगाउन नपाउने उनले गुनासो गरे । ‘हरेक घरमा दुईदेखि पाँच क्विन्टलसम्म बेसार (हदेलो) फलाएका छौँ,’ शर्माले भने, ‘कहिले बजार पाइन्छ, कहिले बारीमै कुहिन्छ । केही गाउँमा नै पिसेर बिक्री गरिन्छ, केही आफन्तलाई सित्तैमा दिइन्छ ।’
    
बारीबाट निकालेर पूर्ण रूपमा तयार पारिएको बेसार बजारमा बेच्न सजिलो हुने र हदेलो नै खरिद गरेर पुनः बेसार बनाउन झन्झटिलो हुने हुँदा व्यापारीले अर्गानिकभन्दा पनि आयातीत बेसार नै बेच्ने गरेको बाग्लुङ उद्योग वाणिज्य संघका सदस्य एवं किराना व्यवसायी  गणेश लम्सालले बताए । लम्सालका अनुसार बारीबाट उठाएको हदेलोलाई पुनः पखालेर यसलाई काट्न र पिस्नका लागि व्यवसायीले झन्झटिलो मान्ने हुँदा गाउँमा उत्पादन भएको बेसारले बजार पाउन नसकेको हो । 
    
बाग्लुङ नगरपालिकाले भने गाउँमा उत्पादन भएका वस्तुको बजार व्यवस्थापनका लागि प्रत्येक शनिबार हाटबजारको व्यवस्थापन गरेको र त्यहीँ ल्याएर किसानले उत्पादन गरेका वस्तु बिक्री गर्न सक्ने बाग्लुङ नगरपालिका कृषि शाखाका प्राविधिक लक्षुता बरुवालले बताइन् । नगदेबाली उत्पादन बढाउन किसानलाई अनुदान र प्राविधिक सहयोगको कार्यक्रम बनाएको छ । बजारीकरणका लागि वडा कार्यालय र नगरपालिकाले व्यवस्थापनको पाटोमा सहयोग गर्नेछ,’ बरुवालले भनिन् । 

यस क्षेत्रमा अरू बालीको तुलनामा प्रतिहेक्टर बेसारको उत्पादकत्व पनि उच्च छ ।