मानव तस्करीका आरोपमा पक्राउ परेका एक विदेशी नागरिक अदालतको आदेशमा धरौटीमा छुटेका छन् । नेपाली मूलका बेल्जियमका नागरिक युवराज गुरुङ १० लाख रुपैयाँ धरौटीमा छुटेका हुन् । नेपाल आएका वेला गत २३ मंसिरमा गुरुङलाई ब्युरोले पक्राउ गरेको थियो । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले उनलाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।
२२ वर्षअघि एक महिलालाई बेल्जियम लैजाने भन्दै उनलाई यौन शोषण गरी धनमाल लिएर गुरुङ गायब भएको प्रहरीको अभियोग थियो । ०५६ मै जाहेरी परे पनि प्रहरीले उनलाई पत्ता लगाउन सकेको थिएन । गत महिना पक्राउ गरेर मुद्दा दायर गरिएकोमा अदालतको आदेशले धरौटी तिरेर छुटेको मानव बेचबिखन अनुसन्धान ब्युरोकी प्रमुख एसएसपी दुर्गासिंह चन्दले बताइन् ।
०५६ मा भारतीय लाहुरेकी श्रीमतीलाई बिहे गरेर बेल्जियम लैजाने आश्वासन दिई उनले नयाँदिल्ली लगेका थिए । तर, त्यहाँ उनको धनमाल लिएर गुरुङ फरार भएका थिए । त्यसयता उनी बेल्जियम बस्दै आएको र त्यहीको नागरिकसमेत भइसकेका थिए । उनी गैरआवासीय नेपाली संघ(एनआरएन) बेल्जिमयका पूर्वअध्यक्षसमेत हुन् ।
६ माघ ०५६ मा उनीविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दर्ता परेको थियो । मानव बेचबिखनसम्बन्धी मुद्दाका पुराना फाइल खोज्ने क्रममा ब्युरोले अनुसन्धान थालेको थियो । निकै मिहिनेत गरेर प्रहरी पीडितसम्म पुगी अभियुक्तलाई पक्राउ गरेको थियो । तर, यति गम्भीर मुद्दामा अदालतले धरौटीमा छाडेपछि प्रहरी अधिकारीहरूले अनौठो मानेका छन् । ‘एक त गम्भीर मुद्दा, अर्काेतर्फ विदेशी नागरिक,’ एक प्रहरी अधिकारी भन्छन्, ‘धरौटीमा छाड्ने आदेश हामीलाई अनौठो लागेको छ ।’
अमेरिकामा मानव तस्करी गर्ने ‘मोडल’ जेल चलान
अमेरिका लैजाने भन्दै विभिन्न देश पुर्याएर अलपत्र बनाउने सुधा देवकोटालाई प्रहरीले मानव बेचबिखनको आरोपमा पक्राउ गरेको छ । कुनै समय मोडलसमेत रहेकी देवकोटाले दुई युवकलाई अमेरिका पठाउने भन्दै विदेश लगेर बन्धक बनाएकी थिइन् । श्रीमान् मुक्तिनारायण केसीसँग मिलेर उनले ट्राभल एजेन्सीको आवरणमा मानव तस्करी गरेको प्रहरीले जनाएको छ । देवकोटाले केही वर्षअघि म्युजिक भिडियोमा अभिनय गरेको र हाल आफ्नै नाममा युट्युब च्यानल चलाउँदै आएकी थिइन् ।
एक पीडितलाई उनले २५ जनवरी ०१९ मा इन्डोनेसियाको जाकार्ता हुँदै बोलिभियामार्फत अमेरिका लैजाने आश्वासन दिई इन्डोनेसिया लगेकी थिइन् । तर, एयरपोर्टमा सेटिङ नमिलेको भन्दै नेपाल फर्काई इथियोपियाबाट मेक्सिको हुँदै अमेरिका लैजाने बताएका थिए । इथियोपियामा तीन महिनासम्म बन्धक बनाइएको थियो । पछि उनी आफन्तको सहयोगमा नेपाल फर्किएका थिए ।
ती पीडितसँग ११ लाख १० हजार रुपैयाँ लिएका थिए । त्यस्तै, अर्का पीडितलाई दिल्ली हुँदै लैजाने भनेर त्यहाँ पुर्याई दुई महिनासम्म राखिएको थियो । पछि नेपाल फर्काई १९ फ्रेब्रुअरी ०१९ मा इन्डोनेसिया पुर्याइएको थियो । त्यहाँ सात महिनासम्म बन्धक बनाई शारीरिक तथा मानसिक यातना दिइएको थियो । भिसा अवधि सकिएपछि उनी त्यहाँ १४ दिन जेलसमेत बसेका थिए । जेलबाट छुटेपछि त्यहाँको अध्यागमनले उनलाई नेपाल निष्कासन गरेको थियो ।