१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ पौष २८ बुधबार ११:४३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खसेकोभन्दा ३१ मत बढी भेटिएपछि दैलेख एमालेको मतगणना स्थगित 

Read Time : > 1 मिनेट
२०७८ पौष २८ बुधबार ११:४३:००

नेकपा एमाले दैलेखको पुस २३ गते उद्घाटन भएको अधिवेशनमा नेतृत्व चयनका लागि केही दिन सहमतिको प्रयास गरिए पनि अन्ततः निर्वाचन भयो । मंगलबार बिहान भएको निर्वाचनपछि मतगणनाको प्रक्रिया सुरु गर्दा खसेको मतभन्दा ३१ मत बढी भेटिएपछि मतगणना प्रक्रिया स्थगित भएको छ । चुनावमा भाग लिएका प्रतिनिधिहरूले मतदानमा धाँधली भएको र फर्जी मत खसेको भन्दै विरोध गरेपछि मतगणना प्रक्रिया स्थगित गरिएको हो ।

अध्यक्षमण्डल, निर्वाचनमण्डल र उम्मेदवारहरूको रोहवरमा प्रक्रिया स्थगित गरिएको निर्वाचनमण्डलका सदस्य एवं नेकपा एमाले कर्णाली प्रदेशका सदस्य विनोदकुमार शाहले जानकारी दिए । मतदान सकिएसँगै मुचुल्का उठाउँदा एमालेको नयाँ नेतृत्व चयनका लागि सात सय १७ मत खसेको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत हिमालयजंग शाहले जानकारी दिए । मतदान सकिएको झन्डै दुई घन्टापछि दैलेख सदरमुकामस्थित गणेश चोकको योग भवनमा मतगणना सुरु गरिएको थियो । मतपेटिकामा भएका सबै मत गन्दा सात सय ४८ मत भेटिएपछि विवाद सुरु भएको थियो । कुल प्रतिनिधि सात सय २१ रहेकोमा सबैको मत खसे पनि २७ मत बढी कसरी खस्यो भन्ने विषयमा विवाद उत्पन्न भएको छ । 

मतदान बदर गर्ने निर्णय 

एमाले अधिवेशनको अध्यक्षमण्डलले मतदान नै बदर गर्ने निर्णय गरेको छ । थप प्रक्रियाका लागि केन्द्रीय निर्वाचन आयोगले गर्ने निर्णयका आधारमा अगाडि बढ्ने नेताहरूले जानकारी दिएका छन् । एमाले पोलिटब्युरो सदस्य तथा दैलेख जिल्ला इन्चार्जसमेत रहेका अध्यक्षमण्डलका अध्यक्ष लक्ष्मीप्रसाद पोखरेलले मतदान बदर गरिएको बताए । 

जिल्लाका शीर्ष नेताहरू कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गरिरहेका छन् । निर्वाचन प्रक्रिया सुरु हुँदै गर्दा मतदानस्थलभित्र निकै भद्रगोल अवस्था देखिएको थियो । निर्वाचनमण्डलले सात सय २१ मतपत्र मात्र छुट्याएर निर्वाचन लडेका प्रतिनिधिहरूको रोहवर राखेर मतदान सुरु गर्नुपर्नेमा त्यसो नगरिएको गुनासो गरेका छन् । दुईवटा निर्वाचन क्षेत्र रहेको दैलेखका निर्वाचन क्षेत्र नं. २ र १ बाट करिब ६० प्रतिनिधिहरू उपस्थित नभएको अवस्थामा फर्जी मत खसेको गुनासो केही नेताहरूले गरेका छन् । मतदान गर्न नसक्ने भन्दै सट्टामा मत हाल्न लगिएका व्यक्तिहरूले समेत मतपत्र लगेको र मतदान गरेको आशंका गरिएको छ । 

एमालेका नेता तथा कार्यकर्ताहरूले निर्वाचन कमिटीले धेरै मतपत्रमा साइन गरेको विषयलाई लिएर निर्वाचनमण्डललाई दोष देखाएका छन् । एमाले दैलेखको अध्यक्षका लागि रवीन्द्रराज शर्मा र सूर्यबहादुर शाहीको उम्मेदवारी थियो । उपाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका थिए । यस्तै, सचिवमा रुद्र शाही र तिलकप्रसाद रिजालको उम्मेदवारी थियो ।