भारतमा हालसम्म दुई हजार ६ सय ३० जनामा ओमिक्रोन पुष्टि भएको छ । ओमिक्रोनबाट एकजनाको मृत्यु भएको छ । बिहीबार मृत्यु भएका तीन सय २५ मध्ये एक व्यक्ति ओमिक्रोन संक्रमित रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृतक वृद्ध रहेको र मधुमेह रोगीसमेत रहेको मन्त्रालयका सहसचिव लव अग्रवालले बताए । ती बिरामी १५ डिसेम्बरमा राजस्थानको उदयपुरमा अस्पताल भर्ना भएका थिए । उनले खोपको पूर्ण मात्रा लगाएको चिकित्सकले बताएका छन् ।
इटलीबाट अमृतसर आएको विमानका १२५ यात्रु कोरोना संक्रमित
इटलीबाट बुधबार भारतको पन्जाबस्थित अमृतसर अवतरण भएको विमानमा सवार एक सय ७९ यात्रुमध्ये एक सय ६० जनाको नमुना परीक्षण गर्दा एक सय २५ मा कोरोना पजिटिभ पुष्टि भएको छ । १९ बालबालिकासहित उनीहरू इटलीको मिलानबाट युरो एट्लान्टिक एयरवेजको चार्टर उडानमा आएका थिए ।
अमृतसर विमानस्थलका निर्देशक भिके सेठले यू– ६६१ कलसाइन भएको जहाजमा आएकामध्ये अधिकांशमा कोरोना देखिएको पुष्टि गरेका छन् । कोरोना संक्रमितमध्ये अधिकांश प्रौढ उमेरका रहेको भारतीय पत्रिका टाइम्स अफ इन्डियाको अनलाइनले समाचार दिएको छ । विमान बिहीबार दिउँसो १:३० बजे अवतरण भएको थियो । बालबालिकाको भने परीक्षण नभएको स्वास्थ्य मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।
ओमिक्रोन भाइरसले सबैभन्दा बढी आक्रान्त मुलुकमध्ये इटली पनि एक हो । इटलीबाट जर्जिया पुगेर इन्धन राखेर उक्त विमान अमृतसरको श्री गुरु रामदासजी विमानस्थलमा अवतरण भएको थियो । कोरोना देखिएकालाई क्वारेन्टिनमा पठाइएको भारतीय अधिकारीहरूले जनाएका छन् ।
भारतको केन्द्र सरकारले नौ राज्य सरकारलाई कोभिड– १९ को व्यापक परीक्षण गर्न पत्र पठाएको छ । तमिलनाडु, पन्जाब, उडिसा, उत्तर प्रदेश, उत्तराखण्ड, मिजोरम, मेघालय, जम्मु–कस्मिर, बिहार सरकारलाई पत्र पठाइएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव आरती अहुजाले बताएकी छिन् ।