पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई थुनामुक्त गराउन माग गरिएको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायाधीशद्वय हरिकृष्ण कार्की र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा परेको छ। सर्वोच्च अदालतले शुक्रबार आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय कार्की र ढुंगानाको संयुक्त इजलास तोकेको हो।
आलमलाई ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतमा मुद्दा चलिरहेको छ।
आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो। त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका हुन्। यसअघि आलमको मुद्दामा पटकपटक पेसी चढे पनि सुनुवाइ रोकिँदै आएको छ।