१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको राष्ट्रिय अधिवेशनको उद्घाट सत्रमा गीत गाउँदै गायक चेतन सापकोटा ।
२०७८ पौष १५ बिहीबार ०६:४१:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

कलाकारको राजनीतिमा बढ्दो रुचि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा अभिनेत्री रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दिएकी थिइन् । तर, उनी पराजित भइन् ।

Read Time : > 2 मिनेट
२०७८ पौष १५ बिहीबार ०६:४१:००

-काठमाडौंमा आइतबारबाट सुरु भएको नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन सत्रमा गायक तथा संगीतकार चेतन सापकोटाले गीतमार्फत आफ्नो प्रस्तुति दिए । उनले ‘गणतन्त्र ल्याउने माओवादी हो, राजतन्त्र ढाल्ने माओवादी हो...’ बोलको गीत गाएर उद्घाटन सत्रलाई रोमाञ्चक बनाएका थिए । माओवादी केन्द्रको महाधिवेशनमा चलचित्रकर्मी युवराज लामा प्रदेश २ बाट महाधिवेशन प्रतिनिधि बनेर आएका छन् । यस्तै, चलचित्र निर्देशक छवि ओझा नेकपा माओवादी केन्द्रनिकट चलचित्र संघको विशेष समितिका अध्यक्ष चयन भएका थिए । 

-अघिल्लो साता सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा निर्माता तथा अभिनेता रोज राणा, कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’, लोकगायक विमलराज क्षेत्री, कलाकार शिवहरि वैरागी, कलाकार तीर्थ थापा, निर्देशक सम्झना रौनियरलगायत दर्जनभन्दा बढी कलाकार विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि बनेका थिए । महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी निर्देशक तथा कोरियोग्राफर रेनेशा बान्तवा राई भने इलाममै पराजित भइन् । निर्माता तथा अभिनेता रोज राणा प्युठानबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा चयन भएका थिए । उनी सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा चुनिएका थिए । लोकगायक क्षेत्रीले त कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवारी नै दिएका थिए । तर, उनी पराजित भए । 

-चितवनको भरतपुर १०–१२ मंसिरमा सम्पन्न नेकपा (एमाले)को महाधिवेशनमा कलाकार एकनारायण भण्डारीको एमालेको प्रचार गर्ने गरी ‘राम्रो नेपालमा हाम्रो एमाले...’ बोलको गीत सार्वजनिक गरेका थिए । यो गीतको शब्द र संगीत भाण्डरीकै थियो । ०७४ को चुनावताका एमालेको प्रचारका लागि ‘मै पनि एमाले, सही पनि एमाले’ गीत पनि एकनारायणकै शब्द र संगीतमा तयार भएको थियो । यो गीत गायक बद्री पंगेनी र गायिका प्रिया भण्डारीले गाएका थिए । यो गीत गाउने कलाकारहरूलाई १०औँ महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमाणपत्रसमेत प्रदान गरेका थिए ।

पछिल्लो समय राजनीतिक दलमा कलाकारहरूले अनुहारका साथसाथै भविष्य पनि खोजिरहेको प्रस्टिन्छ । कलाकारिताबाट नाम र दाम कमाइसकेकाहरूको राजनीतिक यात्रा भने प्रभावकारी बन्न सकेको छैन । सक्रिय राजनीतिमा उत्रिएका कलाकारहरू पार्टीभित्र स्थापित हुन अझै सकेका छैनन् ।अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएकी थिइन् । तर, उनी पराजित भइन् । यता, गायिका कोमल वली भने नेकपा एमालेको १०औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी छिन् । उनी राष्ट्रिय सभा सदस्य पनि हुन् । अभिनेत्री करिश्मा मानन्धर पनि केही समयअघिसम्म राजनीतिमा सक्रिय थिइन् । उनी सुरुमा डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा आबद्ध थिइन् । हाल उनी कुनै पार्टीमा आबद्ध छैनन् । तर, उनको निकटता एमाले अध्यक्ष ओलीसँग रहेको उनकै भनाइहरूबाट पुष्टि हुन्छ । 

कलाकारको दलमा वैचारिक उपस्थिति कमजोर 
राजनीतिक दलमा कलाकारहरूको उपस्थिति बाक्लिए पनि दलमा वैचारिक हस्तक्षेप गर्न नसकेको चलचित्रकर्मी तथा समीक्षक सचिन घिमिरे बताउँछन् । उनी भन्छन्, ‘नेपाली राजनीतिमा कलाकरको उपस्थिति अनुहार र नामको मात्रै भइरहेको छ । वैचारिक हस्तक्षेप कमजोर देखिन्छ । राजनीतिमा कलाकारले अनुहार मात्रै देखाउनु भएन ।’ जुनसुकै दलमा कलाकार आबद्ध भए पनि प्रश्न गर्न सक्ने हुनुपर्ने उनी बताउँछन् । 

यस्तै, चलचित्रकर्मी तथा समीक्षक मनोज पण्डित पनि घिमिरेको मतमा सहमति जनाउँछन् । उनी कलाकारहरू चिन्तशील र संवेदनशील हुने भएकाले सर्वसाधारणको मनोविज्ञानलाई नजिकबाट अनुभूत गर्न सक्ने बताउँछन् । सोही कारण कलाकारले राजनीतिमा सर्वसाधारणको पीडा र भावनालाई प्रभावकारी तरिकाले राख्न सक्ने उनको मत छ । उनी कलाकार कुनै नेताको कार्यकर्तामा मात्रै सीमित हुन नहुने बताउँछन् । ‘कार्यकर्ता बन्न मात्रै कलाकार राजनीतिमा लाग्ने होइन । दलमा शक्तिशाली प्रश्न बन्ने गरी लाग्नुपर्छ ‘एस मेन’ भएर होइन ।’ उनले भने ।

स्वार्थ बोकेर राजनीतिमा लागेकोजस्तो देखिन्छ
हरि रोका,राजनीतिक विश्लेषक

राजनीतिक विश्लेषक हरि रोका नेता भएका कलाकारको राजनीतिमा वैचारिक उपस्थिति निकै कमजोर रहेको बताउँछन् । उनी भन्छन्, ‘राजनीतिमा लाग्नु ठूलो कुरा भएन । निजामती कर्मचारीबाहेकका प्राध्यापकहरू, स्कुलका शिक्षकलगायत सबै राजनीतिमा छन् । तर, कलाकारहरू राजनीतिलाई कति बुझेर लागेका छन् भन्ने महत्वपूर्ण रहन्छ ।’ उनी कलाकारहरू राजनीतिक स्वार्थ बोकेर लागेको दलमा लागेको जस्तो देखिएको बताउँछन् । नेता बनिसकेका कलाकारहरूले कलाकारिता क्षेत्रलाई नै व्यवस्थित बनाउन र जीवन्त क्षेत्र बनाउन नसकेको उनको दाबी छ । ‘कलाकारितामा लागेकाहरूको जीवन सहजै चल्नुपर्छ भन्ने विषयमा समेत यस्ता नेता कलाकारले मान्त्रिपरिषद्मा र दलका मञ्चहरूमा उठाएका छैनन्,’ उनले भने ।