१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १२ सोमबार
  • Monday, 01 July, 2024
२o७८ पौष १२ सोमबार २१:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कैदी फरार प्रकरण : घोराही कारागारका जेलरसहित सातजना पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १२ सोमबार २१:३८:oo

दाङको घोराही कारगारबाट कैदीलाई भगाउन सहयोग गरेको भन्दै कारागारका जेलर युवराज परियारसहित तीनजना प्रहरीलाई पक्राउ गरिएको छ। प्रहरी स्रोतका अनुसार कारागारका  कैदी नाइकेसमेत रहेका यमराज परियारलाई भगाउन उनीहरूको संलग्नता रहेको भन्दै जेलरसहित कारागारका सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक रुद्र सेन ठकुरी र प्रहरी हवल्दार गणेशकुमार थारूलाई पक्राउ गरिएको हो। साथै, यसअघि कैदी भागेकै दिन प्रहरी जवान धनबहादुर चौधरीलाई पक्राउ गरिएको थियो। उनीहरूसँगै कैदी परियारलाई भगाउन सहयोग गरेको भन्दै दुई युवती र एक होटेल सञ्चालकलाई पनि पक्राउ गरिएको  प्रहरीले बताएको छ। 

पक्राउ पर्नेमा एकजना साैरभ खनाल छन् भने एकजना घोराही र एकजना तुल्सीपुरकी युवती छन्। चौधरी थरकी दुवै युवतीको नाम भने गोप्य राखिएको छ। ती  दुई युवतीलाई प्रयोग गरेर भगाइएको प्रहरीले बताएको छ।‘ चरम लापरबाहीले गर्दा यस्तो घटना भएको हो,’ एक प्रहरी अधिकारीले भने, ‘भगाउनका लागि  केटी प्रयोग  भएको छ, हामी फरार  कैदीको खोजी गरिरहेका छौँ, लगभग नजिक–नजिक पुगेका छौँ।’ 

ती कैदीलाई भगाउने कार्यमा अझै २/३ जनाको संलग्नता रहेको भन्दै उनीहरूको पनि खोजी भैरहेको प्रहरीले बताएको छ। फरार भएका कैदी बिरामी पनि नभएको अनुसन्धानबाट खुलेको छ। कैदी परियारलाई बिरामी भएको भन्दै प्रहरी जवान धनबहादुर चौधरीले उपचारका लागि  लु ३४ प ४१०  नम्बरको मोटरसाइकलमा कारागारबाट हिँडाएका थिए। तर, उनलाई अस्पताल नलगेर घोराहीको एक होटेलमा लगियो। त्यहाँ ती दुई युवतीहरूसँग भेट भएपछि प्रहरी जवान चौधरी र कैदी परियार केही समय होटेलमा कुराकानी गरेको खुलेको छ। 

उनीहरूबीच कुराकानीपछि प्रहरी जवान चौधरी र कैदी परियारले फरक–फरक कोठामा एक/एक युवतीलाई लिएर गएको अनुसन्धानमा देखिएको छ। त्यही मौकामा प्रहरी जवान चौधरीको कोठामा कैदी परियारले बाहिरबाट चुकुल लगाएर भाग्न सफल भएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए। त्यसपछि प्रहरी जवान चौधरी बसेको कोठाको चुकुल अरू कसैले नै खोलिदिएपछि उनी बाहिर निस्किएका थिए।  

योजनाबद्ध रूपमा भगाएको प्रहरीले निष्कर्ष निकालेको छ। जेलर युवराज परियार पुस ६ गतेदेखि १३ गतेसम्म बिदामा थिए। तर, उनी एक्कासि ८ गते नै कार्यालयमा हाजिर भएका थिए। उनले नै कैदी परियारलाई अस्पताल लैजान अनुमति दिएका थिए। 

आफ्नी प्रेमिकालाई हत्या गरेका राजपुर गाउँपालिकाको बेलानिवासी ३२ वर्षीय परियारलाई  अदालतले २० वर्ष जेल सजाय सुनाएको थियो। सोहीअनुसार उनले करिब साढे ७  वर्ष कैदभुक्तान गरिसकेका थिए।  

घोराही कारागारको जेलरमा वली
तत्कालीन घोराही कारागारका जेलर युवराज परियार पनि कैदी भगाउनमा संलग्न रहेको पाइएपछि उनलाई जिल्ला प्रशासन कार्यालयमा तानिएको थियो। उनलाई जिल्ला प्रशासनमा तानेपछि उनको ठाउँमा तुल्सीपुर कारागारका जेलरसमेत रहेका अमर वलीलाई घोराही कारागारको जेलरका रूपमा  खटाइएको छ। अहिले उनले नै यो घटनाको अनुसन्धान गरिरहेका छन्।
 

ad
ad
ad
ad