१४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक १५ मिनेट, चार प्रस्ताव पारित
देउवाको शक्ति अभ्यास : पहिलो केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार बन्नेका लागि सभापति देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय गरेको छ ।
वरीयता तोकेर सन्देश : हालको वरीयतामा १३ पदाधिकारीपछि शशांक कोइराला, अर्जुननरसिंह केसी, रामशरण महत, चित्रलेखा यादव, गोपालमान श्रेष्ठ, सुनील थापापछि सभापतिमा पराजित शेखर कोइरालाको नाम छ ।
कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकबाटै सभापति शेरबहादुर देउवाले कार्यकारी भूमिका सुरु गरेका छन् । शनिबार बसेको पहिलो बैठकले पारित गरेका चार प्रस्तावमध्ये एकले सभापति देउवाको भूमिकालाई संस्थागत गरेको छ । १४औँ महाधिवेशनमा दोहोरिएका देउवा पार्टीभित्र थप शक्तिशाली बनेका छन् ।
बैठकले संकल्प प्रस्ताव, धन्यवाद प्रस्ताव, राष्ट्रिय सभा निर्वाचनसम्बन्धी प्रस्ताव र निर्वाचन आयोगमा दल दर्ताको प्रस्ताव पारित गरेको छ । जसमा राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्नेका लागि सभापति देउवाको हस्ताक्षर प्रयोग गर्ने एउटा प्रस्ताव छ । ‘राष्ट्रिय सभा निर्वाचनको प्रयोजनका लागि कांग्रेसका तर्फबाट उम्मेदवार बन्नेका लागि सभापति देउवाको हस्ताक्षर प्रयोग गर्ने कार्यादेश दिने निर्णय गरेको छ,’ महामन्त्री गगन थापाले भने ।
महामन्त्री थापाका अनुसार बैठकले पार्टीका संस्थापक नेता र सहिदहरूलाई स्मरण गर्दै अझै सुदृढ एकता बनाएर अघि बढ्ने संकल्प गरेको छ । बैठकले अधिवेशन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने र निर्वाचन आयोगमा दल दर्ताका लागि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने प्रस्तावसमेत पारित गरेको महामन्त्री थापाले बताए ।
दिँउसो १ बजेका लागि बोलाइएको बैठक ४५ मिनेट ढिलो गरी सुरु भएको थियो । बैठक १५ मिनेटमा सम्पन्न भएको थियो । पहिलो बैठकको सुरुवात सभापति देउवाले क्रिसमसको शुभकामना दिएर सुरु गरेका थिए । लगत्तै चार प्रस्ताव पेस भई पारित भएका थिए ।
आयोगमा दर्ता
केन्द्रीय कार्यसमितिको बैठकको निर्णयलगत्तै कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गराएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले कार्यसमिति बैठकलगत्तै आयोगमा दल दर्ता गराइएको जानकारी दिए । ‘दल दर्ता गरेर दर्ताको प्रतिलिपि पार्टी कार्यालयमा राखिसकिएको छ,’ पौडेलले नयाँ पत्रिकासँग भने । १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले शनिबारसम्म दल दर्ताको समय तोकेको थियो । सोही कारण कांग्रेस कार्यसमितिले यसबारे निर्णय गरेर पौडेललाई यसको जिम्मेवारी दिएको थियो ।
सबैको सभापति हुने प्रयास मात्रै होइन, त्यही गर्नेछु : देउवा
पार्टीको आन्तरिक निर्वाचनअन्तर्गत वडादेखि केन्द्रसम्म नै निर्वाचन सकिएका छन् । वडादेखि नै निर्वाचन गर्ने कांग्रेसको बराबर प्रजातान्त्रिक अभ्यास भएको अरू पार्टीमा होलाजस्तो लाग्दैन । कांग्रेसले तल्लो तहदेखि निर्वाचन गरेर पूर्ण प्रजातान्त्रिक अभ्यास गरेको छ । निर्वाचन समितिले स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न गरेर एउटा आयाम थपेको छ । यस रूपमा कांग्रेस ग्रासरुटसम्मै जनतासँग भिजेको पार्टी हो । भोलिका दिनमा हाम्रो लागि ठूलो चुनौती पनि छ । स्थानीय तहको निर्वाचनदेखि राष्ट्रिय निर्वाचनमा पनि पार्टीले जित्नुपर्नेछ । कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्नु छ । कांग्रेसमा पूर्ण समानुपातिक प्रतिनिधित्व भएको छ । म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन लाग्नेछु । पूर्ण रूपमा सबैको सहयोग चाहिन्छ । महाधिवेशनमा भोट नहाल्नेसँग पनि मलाई मतलब छैन । म सबैको सभापति हुँ । सबैको सभापति हुने प्रयास मात्रै होइन, त्यही गर्नेछु । मेरो जिम्मेवारी ठूलो छ । यसैकारण सबैलाई समावेश गरेर, सबैको सभापति बनेर, सबैको भावनाको कदर गरेर पार्टीलाई हाँक्न चाहन्छु ।
पहिलो बैठकमा शेखर अनुपस्थित, वरीयता २०औँ नम्बरमा
सभापतिमा प्रतिस्पर्धा गरेका कांग्रेस नेता डा. शेखर कोइराला महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकमा उपस्थित भएनन् । कांग्रेस विधानले सभापतिमा दोस्रो मत पाउने व्यक्ति स्वतः केन्द्रीय सदस्य बन्ने व्यवस्था गरेको छ । विधानको व्यवस्थाअनुसार उनी स्वतः केन्द्रीय सदस्य हुन् । सभापतिका लागि भएको पहिलो चरणको निर्वाचन विधानअनुसार परिणामविहीन भएपछि भएको दोस्रो चरणको कुल खसेको चार हजार ६ सय २३ मत मतमध्ये देउवाले २७ सय ३३ र कोइरालाले १८ सय ५५ मत पाएका थिए । त्यसैबीच, कोइरालाको पदाधिकारी र पूर्वपदाधिकारीपछिको वरीयता तोकिएको छ । १४औँ महाधिवेशनपछि बसेको पार्टीको पहिलो केन्द्रीय कार्यसमिति बैठकले सभापति देउवाको प्रस्तावअनुसार नेताहरूको वरीयता तय भएको हो । उपसभापति धनराज गुरुङका अनुसार कोइरालाको वरीयता २०औँ नम्बरमा छ । कांग्रेसमा यसअघि सभापतिमा पराजित बनेकालाई वरिष्ठ नेताका रूपमा सभापतिपछिको वरीयतामा राख्ने प्रचलन थियो ।
हालको वरीयतामा १३ पदाधिकारीपछि शशांक कोइराला, अर्जुननरसिंह केसी, रामशरण महत, चित्रलेखा यादव, गोपालमान श्रेष्ठ, सुनील थापापछि कोइरालाको नाम छ । केन्द्रीय कार्यसमितिमा हाल एक सय ३४ जना निर्वाचित भएका छन् । यसबाहेक ३३ जनालाई पार्टी सभापतिले केन्द्रीय कार्यसमितिमा मनोनीत गर्न बाँकी छ । मनोनीत गर्दा केन्द्रीय सदस्यहरूमा पूर्वपदाधिकारी थप भएको अवस्थामा कोइरालाको वरीयता अझ तल झर्नेछ ।
संस्थापन पक्षबाट सहमहामन्त्रीमा विजयी फर्मुल्लाह मन्सुरले कोइरालाको वरीयता स्वाभाविक भएको बताए । ‘उहाँ (शेखर कोइराला) एकपटक पनि पदाधिकारी नभईकन सभापति लड्नुभएकाले वरीयतामा तल पर्नुभएको हो । यसअघि सभापतिका प्रतिद्वन्द्वी पदाधिकारीका रूपमा आइसकेपछि सभापतिको उम्मेदवार बन्नुभएको थियो । पार्टीमा वरिष्ठ नेता राख्ने व्यवस्था विधानमा छैन,’ उनले भने, ‘३३ जना अझै मनोनीत हुन बाँकी नै हुनुहुन्छ । मनोनीत हुँदा पूर्वपदाधिकारीहरू केन्द्रीय सदस्यमा आउनुभएको अवस्थामा उहाँको पोजिसन अझै पछाडि धकेलिन सक्छ ।’
शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा सभापति देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच छलफल भएको थियो । वरीयताको विषयमा विभिन्न विकल्पमा छलफल भएको र अन्तिममा सभापति देउवाले राजनीतिक निर्णय लिएको उपसभापति गुरुङले बताए ।
‘वरीयताको विषय सभापतिले निर्णय गर्ने हो । पोखरामा भएको दशौँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाले शेरबहादुर देउवाजीलाई कृष्णप्रसाद भट्टराईपछि तेस्रो नम्बरमा राख्नुभएको थियो । सभापतिको तजबिजी अधिकार त नभनौँ, तर राजनीतिक निर्णय लिनुपर्ने अवस्था हो,’ गुरुङले भने, ‘दुई–तीनवटा कोणबाट सामान्य सल्लाह भएको थियो । १३औँ महाधिवेशनमा उहाँको वरीयता जे थियो, त्यही रहने विषय पनि आएको थियो । पदाधिकारीपछिको वरीयतामा राख्ने, सभापतिपछि राख्ने, पदाधिकारीमुनि राख्ने वा पूर्वपदाधिकारीमुनि राख्ने भन्ने विषयमा सामान्य छलफल भएको हो । तर, वरीयताले नेता बन्ने–नबन्ने भन्ने हुँदैन ।’
कांग्रेस नेता गुरुराज घिमिरे भन्छन्–वरीयता पार्टीको स्थापित अभ्यासअनुकूल छैन
वरीयतामा खसालेर वा तल पारेँ भन्ठान्नु आत्मसन्तुष्टि मात्रै हो । शेखर कोइराला वैकल्पिक नेतृत्वका रूपमा स्थापित भइसक्नुभएको छ । पुस्तान्तरण र रूपान्तरणको एजेन्डा पनि स्थापित भइसकेको छ । पदाधिकारीमा युवा पुस्ता निर्वाचित भएर आइसक्यो । तर, २०औँ नम्बरमा राखेर ‘मिनिमाइज’ गर्ने प्रयत्न भएको छ । निकटतम प्रतिद्वन्दीलाई सभापतिपछि राखिनुपर्ने हो, ०५७ सालमा पनि गिरिजाप्रसाद कोइराला सभापतिमा निर्वाचित हुँदा उहाँले किसुनजीपछि शेरबहादुरजीलाई राख्नुभएको थियो । अहिले सभापतिका निकटतम प्रतिद्वन्द्वीको वरीयता कसरी २०औँ भयो ? यो युक्तिसंगत र वैज्ञानिक छैन । यो पार्टीको स्थापित परम्परागत अभ्यासअनुकूल छैन ।