मूल नेतृत्वका विषयमा प्रचण्ड स्वयंले पनि आफ्नो चासो सार्वजनिक रूपमा प्रस्ट्याउँदै आएका छन् । तर, अन्य पदमा भने दाबेदार धेरै छन् । अन्तरिम विधानमा उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवको व्यवस्था गरेको छ ।
प्रथम राष्ट्रिय सम्मेलनको पूर्वाद्र्धमा रहेको माओवादीमा केन्द्रीय नेतृत्व चयनको विधिलाई लिएर चर्चा सुरु भएको छ । पार्टीमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य सर्वसम्मत वा निर्वाचनमार्फत आउँछन् भन्ने धेरैको चासो छ । तर, विधिबारे अहिलेसम्म माओवादीमा औपचारिक बहस भने भएको छैन ।
आगामी ११ देखि १३ पुससम्म राजधानीमा हुने माओवादीको राष्ट्रिय सम्मेलनले दुईओटा एजेन्डामा छलफल गर्ने बताएको छ । पहिलो, नीति तथा विचार र दोस्रो, नेतृत्व चयन । यसमा पनि जसको नीति उसको नेतृत्व हुने भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिले नै मूल नेतृत्वमाथि प्रश्न गर्नुनपर्ने गरी पार्टीको दस्तावेज तयार पारेका छन् ।
स्थायी कमिटी सदस्य गणेश साह अध्यक्ष प्रचण्डको दस्तावेजले नीति र नेतृत्वको संयोजन गर्ने बताउँछन् । ‘अध्यक्षले पार्टीले तय गर्ने नयाँ नीति र विचारलाई समेटेर दस्तावेज तयार पार्दै हुनुहुन्छ,’ नेता साह भन्छन्, ‘नेतृत्वको विषयमा हामीले भन्दै आएको जसको नीति उसैको नेतृत्व भन्ने मान्यता नै अगाडि आउने देखिन्छ ।’
मूल नेतृत्वका विषयमा प्रचण्ड स्वयंले पनि आफ्नो चासो सार्वजनिक रूपमा प्रस्ट्याउँदै आएका छन् । तर, अन्य पदमा भने दाबेदार धेरै छन् । अन्तरिम विधानमा उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवको व्यवस्था गरेको छ । तर, त्यसमा पदाधिकारीको संख्या कति हुने भन्ने राष्ट्रिय सम्मेलनले टुंग्याउनेछ ।
केन्द्रीय सदस्य गणेशमान पुन भर्खरै महाधिवेशन सम्पन्न गरेका कांग्रेस, एमालेजस्तो संसदीय व्यवस्थाको चुनाव पनि नहुने र पूरै सर्वसम्मत पनि नहुने सम्भावना रहेको बताउँछन् । ‘पार्टी अध्यक्षले कस्तो प्रस्ताव ल्याउनुहुन्छ भन्ने मुख्य हुन्छ,’ नेता पुन भन्छन् ।
माओवादीका कार्यालय सचिव डोरप्रसाद उपाध्याय यसले पार्टीभित्र एकमत हुने अवस्थामा अन्तरसंघर्ष बढेर जटिलता पैदा हुने बताउँछन् । उनी विकल्पका रूपमा आन्तरिक मूल्यांकनमार्फत सूचक खोज्ने र न्यूनतम योग्यता पुगेकाबीच प्रतिस्पर्धा गराउन सकिने बताउँछन् ।
केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा पनि चुनाव र सर्वसम्मत दुवै विधिले पार्टीलाई नयाँ उचाइमा पुर्याउन नसक्ने बताउँछन् । ‘चुनाव मात्रै गर्ने हो भने अरू पार्टीमा जस्तो हुनेखाने, पैसावाला, ठेकापट्टा र दलाली गर्ने व्यक्ति नेतृत्वमा आउँछ । जोसँग कुनै विचार र योजना हुँदैन र पार्टीमा संकट उत्पन्न हुन्छ । सर्वसम्मत गर्दा पनि पार्टी संगठनमा योगदान पुर्याउने, जनता र कार्यकर्तामा लोकप्रियता हासिल गरेका व्यक्ति छुट्न सक्छन्,’ उनी भन्छन्, ‘त्यसैले वैकल्पिक विधिबाट नयाँ मापदण्डसहितको विधि बनाउनु आवश्यक देखिन्छ ।’
आन्तरिक मूल्यांकनपछि चुनावमा जाँदा राम्रो हुन्छ
माओवादी चुनौतीपूर्ण घडीमा छ । राष्ट्रिय सम्मेलनपूर्व जसरी आठ लाख सदस्य बनेका छन्, पार्टीप्रति उनीहरूको आकर्षणलाई विश्वासमा बदल्नुपर्ने छ । मेरो विचारमा नेतृत्वका लागि यो चुनौती हो । तल्लो तहमा देखिएको आकर्षणसँगै त्यसलाई सम्बोधन गर्ने नेतृत्व चाहिन्छ । राजनीतिक रूपमा पनि माअोवादीले समाजवादको नयाँ परिभाषासहितको कार्यदिशा दिनुपर्नेछ, नत्र आममानिसमा अरू पार्टी र माओवादीबीच अन्तर नभेटिन सक्छ । अर्कोतर्फ संगठनात्मक विधि र नेता–कार्यकर्ताको व्यवस्थापनमा नयाँ अभ्यासमा जानुपर्ने हुन्छ । गुणात्मक र गतिशील नेतृत्वका लागि नयाँ प्रयोग गर्न सकिन्छ ।
नेतृत्व चयनमा चुनाव कि सर्वसम्मत भन्ने बसह छ । दुवै पक्षका फाइदा–बेफाइदा अनि सहजता र जटिलता छन्, यसमा हामीले ध्यान दिनुपर्छ । सर्वसम्मतमा जा“दा नयाँ नेतृत्व (केन्द्रीय कमिटीमा) आउने सम्भावना कम हुन्छ । संविधानअनुसार क्लस्टर मिलाएर जानुपर्ने छ, यसो हुँदा केही पुराना अनुहार केन्द्रीय कमिटीमा नअटाउन सक्छन् । त्यसले गुटलाई बढावा दिन सक्छ । अन्तरसंघर्ष बढ्न सक्छ । एकढिक्का बनाएर चुनावमा जाने वेला यसले जटिलता पैदा गर्न सक्छ ।
अर्कोतिर, पूरै चुनावी प्रक्रियामा जाँदा पनि जटिलता धेरै छन् । हामीसँग केन्द्रीय सदस्यका लागि मानिसको योग्यता के हो भन्ने स्पष्ट सूचक छैन । विधानले पार्टी सदस्य भएको निश्चित वर्षमा केन्द्रीय सदस्य बन्न सक्ने भनेको छ । तर, आचरण, कार्यशैली र उसको जनाधार के हो भन्ने स्पष्ट छैन । चुनावमै मात्र जाँदा राम्रा र नराम्राबीच प्रतिस्पर्धा हुन सक्छ । राजनीतिक र सांस्कृतिक पक्षमा कमजोर हुन सक्छ ।
अहिले १५ सय प्रतिनिधिले नै आफूलाई केन्द्रीय सदस्यका दाबेदार मानेका छन् । उनीहरूबीच राम्रा–राम्राको प्रतिस्पर्धा हुने चुनावी मोडेल चाहिन्छ । चुनावमा नयाँ मान्छे त आउँछन्, तर बाह्य चुनावमा जस्तै आन्तरिक चुनावमा पनि बेथिति प्रवेश हुन सक्छन् । आन्तरिक मूल्यांकनको विधि नभई होलसेलमा चुनावमा जाँदा समस्या आउँछ । त्यसरी आएको केन्द्रीय नेतृत्वले अहिलेको आवश्यकताअनुसारको पार्टी नीति र संगठन बोकेर हिँड्न सक्दैन कि भन्ने देखिन्छ । चुनावले विचार र कार्यदिशा सम्हाल्ने नेतृत्व नआउन सक्छ । नेतृत्व चयन गर्दा हरेकपटक क्लस्टरअनुसार ३३ प्रतिशत नेताको विभाग वा आयोगमा व्यवास्थापन गर्न सके केन्द्रमा स्वतः नयाँ अनुहार आउँछन् ।
विकल्पका रूपमा आन्तरिक मूल्यांकनमार्फत सूचक खोज्ने र न्यूनतम योग्यता पुगेकाबीच प्रतिस्पर्धा गराउन सकिन्छ । यसो गर्दा राम्रो मान्छे नै आउँछ । अन्तिम विकल्प त चुनावै होला, तर त्यसपूर्व सबैबीच प्रतिस्पर्धा होइन, कार्यसम्पादन मूल्यांकनमा योग्यता पुगेकाबीच चुनावको विधि अपनाउन सकिन्छ । प्रचण्डले अहिले धेरै कुरा भत्काएर विचार र संगठनमा नयाँ प्रयोग गर्न खोजेको देखिन्छ ।