१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ४ आइतबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ४ आइतबार o७:२२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

रावलले अस्वीकार गरे सल्लाहकार कमिटी सदस्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ४ आइतबार o७:२२:oo

एमाले नेता भीमबहादुर रावलले केन्द्रीय सल्लाहकार परिषद् सदस्य बनाउने पार्टी केन्द्रीय कमिटी बैठकको निर्णय अस्वीकार गरेका छन् । महासचिव शंकर पोखरेलले २६ मंसिरमा सम्पन्न केन्द्रीय कमिटी बैठकले रावललाई सल्लाहकार परिषद् सदस्य बनाउने नीतिगत निर्णय गरेको सार्वजनिक गरेलगत्तै उनले अस्वीकार गरेका हुन् । 

शंकर पोखरेल, महासचिव, एमाले

भीम रावलजी केन्द्रीय कमिटीमा रहनुभएन, त्यस अर्थमा केन्द्रीय कमिटीमा उहाँको कार्यविभाजन हुने कुरा भएन । हामीले गरेको नीतिगत निर्णयका रूपमा हेर्दा उहाँलाई सल्लाहकार परिषद्को जिम्मेवारी प्रदान गर्छ । त्योभन्दा बाहेकको जिम्मेवारीका सन्दर्भमा पार्टी अध्यक्षसँग परामर्श गर्न सक्नुहुन्छ ।

‘मलाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने मलाई सोध्दैनसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ,’ रावलले शनिबार ट्विट गर्दै भनेका छन् । 

एमालेमा महाधिवेशनमा केन्द्रीय कमिटीमा पराजित हुने नेताहरूलाई सल्लाहकार परिषद् सदस्य बनाउने प्रचलन छ । त्यही प्रचलनअनुसार रावल नीतिगत हिसाबले सल्लाहकार भएको पोखरेलले प्रस्ट्याएका थिए । 

दशौँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका रावलले दुई सय २३ मत प्राप्त गरेका थिए । तर, दोस्रो केन्द्रीय कमिटी बैठकमा ४४ केन्द्रीय सदस्य मनोनयन गर्दा रावल मनोनीत भएनन् । एमाले विधानमा पदाधिकारीमा प्रतिस्पर्धा गर्ने नेता स्वतः केन्द्रीय सदस्यको उम्मेदवार बन्ने व्यवस्था रहे पनि रावलले आफूले अध्यक्षबाहेकमा उम्मेदवारी नदिएको भन्दै केन्द्रीय सदस्यको उम्मेदवार हुनै नसक्ने प्रस्टीकरण दिएका थिए । 

केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्दै महासचिव पोखरेलले रावलले सल्लाहकारबाहेक थप जिम्मेवारीका लागि तत्परता देखाए अध्यक्ष केपी ओलीले उनीसँग छलफल गरेर निर्णयमा पुग्ने बताएका थिए । 

‘भीम रावलजी केन्द्रीय कमिटीमा रहनुभएन । त्यस अर्थमा केन्द्रीय कमिटीमा उहाँको कार्यविभाजन हुने कुरा भएन । हामीले गरेको नीतिगत निर्णयका रूपमा हेर्दा उहाँलाई सल्लाहकार परिषद्को जिम्मेवारी प्रदान गर्छ । त्योभन्दा बाहेकको जिम्मेवारीका सन्दर्भमा पार्टी अध्यक्षसँग परामर्श गर्न सक्नुहुन्छ,’ पोखरेलले शुक्रबार भनेका थिए, ‘पार्टी अध्यक्षको परामर्शमा थप जिम्मेवारीको कुरा रह्यो, उहाँले जिम्मेवारी वहन गर्न तत्परता देखाउनुभयो भने हामी छलफलका लागि तयार छौँ । अहिले नीतिगत रूपमा उहाँ केन्द्रीय सल्लाहकार परिषद्को सदस्य हुनुहुन्छ । केन्द्रीय सल्लाहकारका रूपमा उहाँले पार्टीलाई समय–समयमा सल्लाह दिन सक्नुहुन्छ । त्यसलाई पार्टीले ग्रहण गर्नेछ ।’ रावल केही दिनयता गृहजिल्ला अछाममा स्थानीय पार्टी कमिटीहरूद्वारा आयोजित विभिन्न कार्यक्रममा व्यस्त छन् ।