१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
हिमाल पौडेल काठमाडाैं
दिपेश शाही काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o६:o७:oo
Read Time : > 6 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेसको कमान्ड देउवाकै काँधमा

Read Time : > 6 मिनेट
हिमाल पौडेल, काठमाडाैं
दिपेश शाही, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:o७:oo

कांग्रेसको इतिहासमा कोइराला परिवारबाहिरबाट सभापतिमा दोहोरिने देउवा पहिलो नेता 

  • पहिलो चरणको भन्दा ४६७ मत बढाए देउवाले, शेखरको १५३ मत बढ्यो
  • पहिलो चरणको भन्दा दोस्रो चरणमा ५६ मत कम खस्यो
  • उपसभापति, महामन्त्री, सहमहामन्त्री र सदस्यको मतगणना बिहीबार

प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएका छन् । १४औँ महाधिवेशनअन्तर्गत मंगलबार भएको दोस्रो चरणको मतदानमा २७ सय ३३ मत प्राप्त गर्दै उनी सभापतिमा दोहोरिएका हुन् । कांग्रेस इतिहासमा कोइराला परिवारभन्दा बाहिरबाट सभापतिमा दोहोरिने देउवा पहिलो नेता हुन् ।

देउवाले कुल खसेको मतको ५९.१२ प्रतिशत मत पाउँदा उनका प्रतिद्वन्द्वी डा. शेखर कोइरालाले १८ सय ५५ अर्थात् ४०.१३ प्रतिशत मत पाए । कुल खसेको ४६ सय २३ मतमध्ये ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । 

०७२ मा भएको १३औँ महाधिवेशनबाट देउवा पहिलोपटक सभापति निर्वाचित भएका थिए । पार्टीभित्र लामो अन्तर्संघर्ष गर्दै उनी नेतृत्वमा पुगेका थिए । ०६७ मा काठमाडौंमा भएको १२औँ महाधिवेशनमा सुशील कोइरालासँग ३३५ मतले पराजित भएका देउवा ०५७ मा पोखरामा सम्पन्न नवाँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग पराजित भएका थिए । ०७० माघमा भएको संसदीय दलको नेताको चुनावमा पनि उनी सुशीलसँग पराजित भएका थिए । चर्को अन्तर्संघर्षकै कारण कारबाहीमा परेपछि देउवाले आफ्नै नेतृत्वमा ०५९ असारमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए । ०६४ सम्म उनले त्यसको नेतृत्व गरे । अहिले उनी पाँचौँपटक प्रधानमन्त्री छन् । 

पहिलो चरणमा प्रतिस्पर्धामा उत्रिएका पाँच उम्मेद्वारमध्ये कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि धेरै मत ल्याउने दुई उम्मेदवार देउवा र कोइरालाबीच दोस्रो चरणको निर्वाचन भएको थियो । कुल चार हजार सात सय ४३ मतदातामध्ये पहिलो चरणमा चार हजार ६ सय ७९ मत खसेका थिए, जसमा देउवाले दुई हजार दुई ५८ अर्थात ४८.२५ प्रतिशत मत पाएका थिए । जितका लागि उनलाई ८२ मत अपुग भएको थियो । दोस्रो चरणमा देउवाले नौ सय सात मतान्तरले जित निकालेका छन् । 

पहिलो चरणमा सभापतिका अन्य प्रत्याशी प्रकाशमान सिंहले तीन सय ७१, विमलेन्द्र निधिले दुई सय ५० र कल्याण गुरुङले २२ मत पाएका थिए । दोस्रो चरणको मतदान मंगलबार दिउँसो साढे तीन बजेदेखि सुरु हुने भनिएपनि डेढ घन्टा ढिला सुरु भएको थियो । राती करिब १० बजे मतदान सकिएलगत्तै गणना सुरु भएको थियो । बुधबार बिहान ३ बजे निर्वाचन समितिले नतिजा सार्वजनिक गरेको छ ।

पहिलो चरणमै जितनजिकको नतिजाबाट उत्साही थिए देउवा
पहिलो चरणको निर्वाचनमै झन्डै जितनजिक पुगेपछि देउवामा दोस्रो चरणमा सजिलै जित निकाल्न सक्ने आत्मविश्वासे बन्यो । त्यसैअनुसार उनले दोस्रो चरणको निर्वाचनको तयारी र संवाद अगाडि बढाए । आफूले हारे गठबन्धन सरकार जोखिममा पर्छ र त्यसो हुँदा कांग्रेस नेतृत्वमा चुनाव हुँदैन भन्ने देउवाको सन्देश पनि अर्थपूर्ण रह्यो ।

दोस्रो चरणमा प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि समर्थन गरेपछि देउवाले सजिलै जित हात पारे । पहिलो चरणमा देउवालाई ४५ प्रतिशतभन्दा कम मतमै रोक्न सके दोस्रो चरणमा आफूअनुकूल नतिजा ल्याउन सकिने सिंह र निधिको आकलन थियो । तर, देउवाले उनीहरूले सोचेभन्दा बढी मत ल्याए । सिंह र निधिमध्ये एकले सघाउँदा पनि देउवाले दोस्रो चरणमा सजिलै जित हात पार्ने अवस्था थियो । आफूभन्दा ‘जुनियर’ नेता शेखरलाई सभापति बनाउन पनि सिंह र निधिलाई सहज लागेको थिएन । त्यसैले उनीहरू जोखिम नमोलेर राजनीतिक भविष्य हेर्दै देउवासँग सहकार्य गर्न तयार भए । जसलाई देउवाले पनि उचित ‘रेस्पोन्स’ गरे । 

केन्द्रीय सदस्यमा मनोनीतदेखि आगामी चुनावमा टिकट वितरणसम्ममा आफू र आफूनिकटका नेताहरूलाई सहज बनाउने बाटो निधि र सिंहले रोजे । अहिले समीकरण बने पनि सिटौलासँगको शक्तिसन्तुलन मिलाइराख्न देउवाले उनीहरू दुवैका प्रस्ताव स्विकारे । त्यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला तटस्थ बस्दा पनि देउवालाई सहज वातावारण बन्यो । 

पहिलो चरणमा सिंह, निधि र गुरुङले कांग्रेसमा नेतृत्व परिवर्तनको मुद्दा उठाएका थिए । त्यति मात्र होइन निधि र सिंहले त दोस्रो चरणमा धेरै मत ल्याउने इतर समूहका प्रत्यशीलाई समर्थन गर्ने घोषणासमेत गरेका थिए । तर, पूर्ववत् अडानबाट दुवै नेता पछि हटे र देउवासँग सहकार्यको बाटो रोजे । पहिलो चरणका प्रत्याशीका पाँचमध्ये देउवासँग आफूसहित चार उम्मेदवार उभिएपछि शेखर एक्लिए । 

कोइरालाको पक्षमा खुल्न चियापानमा पौडेलमाथि दबाब, तर मौन बसेर मतदान पनि बहिष्कार गरे
दोस्रो चरणको मतदानअघि सभापतिका दुवै प्रत्याशी देउवा र कोइरालालाई वरिष्ठ नेता रामचन्द्र पौडेलसँग मञ्च सेयर गर्ने अवसर मिल्यो । संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार बन्ने प्रयास सफल नभएपछि मतदान नै बहिष्कार गरेका उनले सोमबार बिहान सबै महाधिवेशन प्रतिनिधिका लागि लैनचौर ब्यांक्वेटमा चियापान आयोजना गरेका थिए । निम्तो मान्न पुगेका देउवा र कोइरालाले पौडेलको सहानुभूति लिने प्रयास गरे । केहीले देउवाविरुद्धमा नाराबाजी गर्दै कोइरालालाई साथ दिन पौडेलमाथि दबाबसमेत दिएका थिए । तर, दबाबमूलक नाराबाजीप्रति असन्तुष्टि जनाउँदै कुनै पक्षलाई पनि आफ्नो समर्थन नरहेको दोहो¥याए । ‘मेरो कसैलाई पनि समर्थन छैन । चियापानलाई चियापानमै सीमित गरौँ,’ उनले भनेका थिए । सोमबार मतदान बहिष्कार गरेका पौडेल मंगलबार पनि मतदानस्थलमा उपस्थित भएनन् । 

शेखरले मीनेन्द्रमार्फत मागे शशांकसँग भोट
रामचन्द्र पौडेलजस्तै डा. शशांक कोइराला पनि कुनै उम्मेदवारतिर खुलेनन् । उनी मतदानमा भने सहभागी थिए । रोचक पक्ष त शेखरले भाइ शशांकसँग भोट माग्न मीनेन्द्र रिजाललाई लगाउनुपर्‍यो । शेखर र शशांक एकै परिवारका दाजुभाइ हुन् । शशांक बिपी कोइरालाका छोरा हुन् भने शेखर बिपीका भाइ केशवका छोरा हुन् । शशांकको महाराजगन्जस्थित निवासमै पुगेर मीनेन्द्रले शेखरको पक्षमा खुलिदिन आग्रह थिए । तर, शशांकले त्यसलाई इन्कार गरे । दिउँसै शशांकको देउवासँग पनि भेट भयो । प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार दुई नेताबीच बालुवाटारमा भेट भएको थियो । तर, शशांकको सचिवालयले भने कुनै पनि उम्मेदवारको पक्षमा नरहेको जानकारी गराएको थियो । 

महाधिवेशनमा पराजित भए पनि जबर्जस्त नेताका रूपमा उदाए शेखर

महाधिवेशनमा पराजित भए पनि डा. शेखर कोइराला पार्टीमा एउटा समूहको जबर्जस्त नेताका रूपमा उदाएका छन् । पहिलो चरणमा पाँच प्रत्याशीबीच भएको प्रतिस्पर्धामा शेखरले दोस्रो धेरै मत ल्याएपछि उनी दोस्रो चरणको निर्वाचनमा देउवासँग भिडेका थिए । कोइराला परिवारबाटै समेत असहयोग हुँदा उनी युवाहरूको टिम बनाएर मैदानमा होमिएका थिए । इतर समूहबाट शेखरसँगै प्रकाशमान सिंह पनि सभापतिको उम्मेदवार थिए । तर, दोस्रो चरणमा उनले देउवालाई समर्थन गर्ने सहमति गरेपछि कोइराला इतर समूहको प्रमुख नेताका रूपमा उदाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलइतर समूहमै सभापतिको साझा उम्मेदवार बन्न नसकेपछि प्रतिस्पर्धामा उत्रेनन्, यसले पनि शेखरलाई समूहको नेता बन्ने अवसर दियो । 

शेरबहादुर देउवा : रुवाखोलादेखि सानेपासम्म

दाेस्रोपटक कांग्रेस हाँक्ने जिम्मेवारी पाएका शेरबहादुर देउवा ३१ जेठ २००३ मा डडेल्धुराको असिग्राम गाविस– ६ रुवाखोलाको किसान परिवारमा जन्मिएका हुन् । पाँचौँपटक प्रधानमन्त्री बनेर देश पनि चलाइरहेका उनी यसअघि ०७२ मंसिरको अन्तिम साता भएको १३औँ महाधिवेशनबाट पनि सभापति निर्वाचित भएका थिए । राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका देउवाले लन्डन स्कुल अफ इकोनोमिक्सबाट मानार्थ डिग्रीसमेत हासिल गरेका छन् । नेपाल विद्यार्थी संघका संस्थापक सदस्यमध्येका उनी दोस्रो महाधिवेशनबाट अध्यक्षमा चयन भएका थिए । देउवा पटक–पटक गरी नौ वर्ष जेल बसेका छन् ।

प्रजातन्त्र स्थापनापछिका हरेक संसदीय निर्वाचनमा चुनाव जित्ने उनी एक्ला नेता हुन् । ०४८ मा गृहजिल्ला डडेल्धुराबाट निर्वाचित भएर उनी गृहमन्त्री बनेका थिए । ०५२ मा पहिलोपटक प्रधानमन्त्री बनेका देउवालाई दुईपटक त तत्कालीन राजा ज्ञानेन्द्र शाहले बर्खास्त नै गरे । पार्टीभित्र चर्को अन्तर्संघर्षका कारण कारबाहीमा परेपछि उनले ०५९ असारमा कांग्रेस (प्रजातान्त्रिक) स्थापना गरे । संविधानसभा निर्वाचनअघि ०६४ मा पुनः मूल पार्टी कांग्रेससँग एकीकरण गरे ।

०६७ मा काठमाडौंमा भएको १२औँ महाधिवेशनमा देउवा सभापतिमा सुशील कोइरालासँग ३३५ मतले पराजित भएका थिए । ०७० माघमा भएको संसदीय दलको नेताको चुनावमा पनि उनी सुशीलसँगै पराजित भएका थिए । त्यसअघि ०५७ मा पोखरामा सम्पन्न नवौँ महाधिवेशनमा सभापतिको उम्मेदवार भएका उनी गिरिजाप्रसाद कोइरालासँग पराजित भएका थिए । 

देउवा झन् शक्तिशाली

अघिल्लो महाधिवेशनमा सँगै नभएका र यसपटक बिच्किएका सहयोद्धालाई समेत दोस्रो चरणको निर्वाचनले देउवासँगै उभ्याएको छ

शेरबहादुर देउवा १३औँ महाधिवेशनको भन्दा पनि शक्तिशाली बनेका छन् । अघिल्लो महाधिवेशनमा उनको साथमा नभएका ‘सिनियर’ नेताहरूसमेत यसपटक उनीसँगै उभिएका छन् । जसले उनलाई आगामी दिनमा पार्टी चलाउन सहज हुने देखिन्छ । १३औँ महाधिवेशनमा देउवाले सभापतिका लागि रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग प्रतिस्पर्धा गरेका थिए । निर्वाचन दोस्रो चरणमा गएपछि सिटौलाको समर्थन पाएर उनी सहजै निर्वाचित भएका थिए । त्यतिवेला पौडेलको प्यानलबाट उपसभापति लडेका प्रकाशमान सिंह पनि अहिले देउवाको पक्षमा उभिएका छन् ।

सभापतिको उम्मेदवार बनेका सिंहले दोस्रो चरणमा देउवालाई समर्थन गरे । त्यस्तै, अघिल्लो महाधिवेशनमा सँगै प्रतिस्पर्धा गरेका पौडेल यसपटक तटस्थ बस्दा देउवालाई सहयोग हुने वातावरण बन्यो । त्यति मात्रै होइन, परिवारकै सदस्य डा. शेखर कोइराला उम्मेदवार हुँदा पनि निवर्तमान महामन्त्री तथा बिपीपुत्र शशांक कोइरालासमेत तटस्थ बसे । यसले पनि देउवालाई बलियो बनायो । लामो समय देउवाकै गुटमा रहे पनि यसपटक उनीबाट टाढिएर सभापतिको उम्मेदवार बनेका विमलेन्द्र निधिसँगको सम्बन्ध पनि दोस्रो चरणको निर्वाचनले सुमधुर बनाइदियो र उनी पनि देउवाकै पक्षमा उभिए ।

चाक्सीबारीस्थित घरमै पुगेर प्रकाशमानलाई फकाए 

पहिलो चरणको मतदानको नतिजा आएलगत्तै देउवा र उनीनिकट नेताहरू सिंह र निधिलाई फकाउने प्रयासमा लागेका थिए । बिहान साढे १० बजे चाक्सीबारीस्थित निवासमै पुगेर नेता सिंहसँग वार्ता गरे । पार्टीलाई विधानसम्मत सञ्चालन गर्ने सहमतिपछि आफूले सभापतिमा देउवालाई समर्थन गरेको प्रतिक्रिया सिंहले दिए । ‘आगामी दिनमा पार्टीलाई विधानसम्मत सञ्चालन गर्ने र कमीकमजोरीलाई सच्याएर अगाडि बढ्ने सहमति भएको छ,’ भेटपछि सिंहको भनाइ थियो, ‘यसैअनुसार दोस्रो चरणमा सभापतिमा शेरबहादुरजीलाई समर्थन हुन्छ ।’

पहिलो चरणमा देउवाले धेरै मत ल्याएकाले पनि उनलाई समर्थन गरेको सिंहको भनाइ थियो । दुई नेताबीचको भेटपूर्व देउवानिकट नेता बालकृष्ण खाण र कांग्रेसका सुदूरपश्चिम प्रदेश प्रमुख वीरबहादुर बलायर सिंहलाई भेट्न बिहान साढे ७ बजे नै चाक्सीबारी पुगेका थिए, जतिवेला मतगणना सकिइसकेको थिएन । साँझ विज्ञप्ति निकालेर सिंहले देउवासँग कुनै पदीय लेनदेन नभएको दाबी गरेका छन् । ‘प्रथम चरणको निर्वाचनमा सबैले भन्दा बढी मत प्राप्त गर्नुभएको तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हुँदा मैले मेरो स्ट्रेट फरवार्ड स्वभावअनुरूप उहाँलाई समर्थन गरेको हुँ,’ सिंहले भनेका छन् । 

देउवासँगको भेटपछि विमलेन्द्रले निकाले विज्ञप्ति

पहिलो चरणको निर्वाचनको नतिजा आएलगत्तै बिहान साढे ११ बजेतिर देउवा विमलेन्द्र निधिको निवास बानेश्वर पनि पुगेका थिए । दुई नेताबीचको छलफलपछि निधिले सभापति देउवालाई समर्थन गर्ने घोषणा गरे । ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान टेलिफोन गरेर र मेरो निवासमा आएर आफूलाई समर्थन गर्नको लागि गर्नुभएको आग्रहलाई स्वीकार गर्दै सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा उहाँलाई समर्थन गर्ने निर्णय गरेको छु,’ निधिले विज्ञप्ति जारी गर्दै भनेका थिए । देउवालाई समर्थनको घोषणापूर्व निधिले सिंहसँग पनि कुराकानी गरेका थिए । निधिको समर्थन पाएको भए देउवा पहिलो चरणमै सभापति बन्ने मतपरिणामले देखाएको थियो ।

चियापनामा पुगेर पौडेलेको प्रशंसा गरे 

पहिलो चरणको निर्वाचनमा तटस्थ बसेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि देउवाले बिच्कन दिएनन् । बरु, महाधिवेशन प्रतिनिधिको सम्मानमा पौडेलले बिहान राखेको चियापान कार्यक्रममा पुगेर उनको प्रशंसा गरे । ‘हामीले सँगसँगै लोकतन्त्र प्राप्तिका लागि संघर्ष गर्‍यौँ र जेलजीवन पनि बितायौँ । उहाँजस्तो महान् नेताले बोलाएको चियापानमा आउन पाउँदा आफूलाई भाग्यमानी ठानेको छु । पार्टीभित्रको निर्वाचनमा हारजित हुन्छ, प्रजातन्त्र र पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्छ । पार्टीभित्र अनुशासन र सम्मान गर्ने परम्परा कायम राख्नुपर्छ,’ देउवाको भनाइ थियो । कार्यक्रममा पौडेलले आफू तटस्थ रहने प्रस्ट संकेत गर्दै भने, ‘आफ्नो विवेकको सही प्रयोग गर्न मतदातालाई आग्रह गर्छु ।’ उनी दोस्रो चरणमा पनि मतदानमा सहभागी भएनन् । 

बिपीपुत्र शशांक पनि तटस्थ बसे

शशांक कोइराला दोस्रो चरणमा पनि तटस्थ बसे । देउवाले मंगलबार उनीसँग पनि भेट गरेका थिए । कोइराला परिवारबाटै शेखर सभापतिको उम्मेदवार भए पनि शशांकले उनको पक्षमा भोट मागेनन् । बरु, लगातार विवेक प्रयोग गर्न मतदातालाई आग्रह गरिरहे । बिपीपुत्र शशांकको तटस्थता पनि देउवाका लागि अनुकूल बन्यो । उम्मेदवारी दर्ता गर्ने दिन पनि २५ मंसिरमा देउवा र शशांकबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

ad
ad