![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/bidhyasundar-shakya2021-12-12-02-49-25.jpeg)
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अन्य निकायले बिगारेका कामको दोष महानगरले लिनुपरेको भन्दै असन्तुष्टि जनाएका छन्। २७औँ महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा मेयर शाक्यले अन्य निकायले काम बिगार्दा पनि दोष आफूहरुलाई आएको बताएका हुन्।
महानगरपालिकाभित्र विकासका काम गर्ने जिम्मेवारी महानगरको मात्र नभएको उल्लेख गर्दै उनले प्रदेश र केन्द्र सरकारले पनि सघाउनुपर्ने बताए। ‘काठमाडौं महानगरमा हुने विकास निर्माणमा समन्वय छैन। दोष अर्कैको हुन्छ, बिगार्ने पनि अर्कै हुन्छ,’ उनले भने, ‘तर, गाली हामीले खानुपरेको छ। सबै ठूला काम महानगरले मात्रै गर्न सक्दैन। केन्द्र र प्रदेशले पनि चासो दिनुपर्छ।’
ठूला पूर्वाधारका काममा महानगरले हात हाले पनि अन्य निकायको अवरोधका कारण सम्पन्न हुन नसकेको मेयर शाक्यको भनाइ छ। समन्वय नहुँदा महानगरले बनाएका कतिपय सडक अन्य निकायले भत्काएको उनले बताए। तीनकुने पार्कमा लामो विवाद भएको उल्लेख गर्दै उनले त्यसको गाँठो फुकाउन अन्य निकायले पनि सहयोग गर्नुपर्ने बताए।
सहरी विकासमा समन्वय नहुँदा कतिपय काम दोहो–याएरसमेत गर्नुपरेको भन्दै उनले महानगर पूर्वाधार विकास निर्माण मात्रै नभएर जनतालाई सानातिना सेवा दिने निकाय भएको उल्लेख गरे।