१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर १८ शनिबार
  • Monday, 01 July, 2024
नवीन अर्याल नयाँ पत्रिका
२o७८ मङ्सिर १८ शनिबार o८:१४:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

रूपाकोट चिनाउने रिसोर्ट

Read Time : > 4 मिनेट
नवीन अर्याल, नयाँ पत्रिका
नयाँ पत्रिका
२o७८ मङ्सिर १८ शनिबार o८:१४:oo
  • क्षमता विस्तारपछि रूपाकोट रिसोर्टको कुल लगानी एक अर्ब ३० करोड पुग्ने
  • रूपाकोटमै थप २० करोड लगानीमा ‘स्विङपार्क’ बनाइँदै, एक अर्ब लगानीमा ‘वल्र्ड भिलेज’ सञ्चालनमा ल्याइँदै

 केही वर्षअघिसम्म पनि कास्कीको रूपाकोट पर्यटकको त्यति रोजाइमा पर्दैनथ्यो । पोखरा पुग्ने पर्यटक सराङकोट र पुम्दिभुम्दी पुगेर रमाउँथे । तर, सेता हिमालहरू, हरियाली डाँडा, रूपाताल र बेगनास ताल, पोखरा–लेखनाथ सहर छर्लंग देखिने रूपाकोट डाँडामा कसैको नजर पुग्दैनथ्यो । पर्यटन व्यवसायीले सराङकोट र पुम्दिभुम्दी डाँडातिर महँगो मूल्य तिरेर जग्गा किन्न होडबाजी गरिरहँदा रूपाकोटवासी भने सस्तो मूल्यमा जग्गा बेचेर पोखरा–लेखनाथतिर झर्ने चलन थियो ।

पोखरा, बेगनास, सराङकोट, पुम्दिभुम्दी, पामेतिर होटेल तथा रिसोर्ट खोल्न प्रतिस्पर्धा गरिरहेका लगानीकर्ताको नजरमा रूपाकोट पटक्कै परेको थिएन । सायद, रूपाकोटमा लक्जरी रिसोर्ट सञ्चालन गरेर पर्यटकको आकर्षक गन्तव्य बनाउन सकिन्छ भनेर कसैले पनि सोचेकै थिएनन् । तर, दुई दशकदेखि बेल्जियममा व्यवसाय गर्दै आइरहेका रूपाकोटकै स्थानीय पुष्पराज अधिकारीलाई लाग्यो, लक्जरी रिसोर्ट खोल्न सकियो भने रूपाकोट प्रिमियम पर्यटकीय गन्तव्य बन्छ । एकातिर आफ्नै गाउँ–ठाउँमा केही गरौँ भन्ने हुटहुटी, अर्कोतिर रूपाकोटमा पर्यटनको राम्रो सम्भावना पनि । बेल्जियममा राम्रै चलिरहेको व्यवसाय र बसाइलाई चटक्कै छाडेर रूपाकोटमा जोखिम मोल्न कस्सिए उनी । उनले ६ वर्षअघि रूपाकोट डाँडामा दुई सय रोपनी क्षेत्रफलमा लक्जरी रूपाकोट रिसोर्ट सञ्चालनमा ल्याए । 

पुष्पराज अधिकारी, सञ्चालक रूपाकोट रिजोर्ट 

रूपाकोटलाई ‘वर्ल्डक्लास टुरिस्ट डेस्टिनेसन’ बनाउने अठोटसहित लक्जरी रिजोर्ट, स्विङपार्क, वर्ल्ड भिलेजलगायत परियोजनामा ठूलो लगानी गर्न कस्सिएको हुँ ।

रिसोर्टमा धेरै भवनहरू भएकाले एउटा सिंगो गाउँजस्तै देखिन्छ । मौलिक शैलीको आधुनिक निर्माणले रिसोर्टमा पुग्नेलाई विशेष अनुभूति गराउँछ । स्थानीय ढुंगाहरू कुँदेर बनाइएको रिसोर्टका भवनहरू महत्ववपूर्ण लाग्छन् । रिसोर्टमा बस्ने जोकोहीले गाउँमै बसेको अनुभूति गर्न सक्छन् । रिसोर्ट खोलेपछि उनले पछाडि फर्केर हेर्नुपरेन । आकर्षक डिजाइनमा बनेको रिसोर्टले धेरैलाई आकर्षित गर्‍यो । रिसोर्टमा बनाइएको हात्तीको पाइलाकै आकारको स्विमिङ पुल लोभलाग्दो छ । यो रिसोर्ट अहिले पोखरा पुग्ने धेरैको प्राथमिकतामा पर्ने गरेको छ । पोखरा पुगेर पनि रूपाकोट नपुगे भ्रमण नै पूरा नहुनेजस्तै भइसकेको छ । तर, महँगो हुनाले रूपाकोट रिसोर्टमा बस्ने सबैको रहर भने पूरा हुँदैन । अहिले खर्च गर्न सक्नेहरू एक–दुई दिन रूपाकोटमा बिताउन चाहन्छन् । अहिले सोही रिसोर्टकै कारण रूपाकोटलाई हेर्ने नजर पनि फेरिएको स्थानीय बताउँछन् । अधिकारी भन्छन्, ‘रूपाकोटको सुन्दरता र पर्यटकीय सम्भावना बुझेरै बेल्जियमको व्यवसाय छाडेर स्वदेश फर्किएको हुँ ।’

रूपाकोट रिसोर्टमा भएका ४२ लक्जरियस कोठाहरू अपुग भइसकेका छन् । कोठा अपुग भएपछि अहिले धमाधम क्षमता विस्तारको काम भइरहेको छ । सञ्चालक अधिकारीले ५० करोड रुपैयाँ खर्चेर रिसोर्टको क्षमता विस्तार गर्न लागेका हुन् । रिसोर्टमा कोठा, लबी, रिसेप्सन, रेस्टुरेन्ट एन्ड बार, मिटिङ हललगायत सेवाहरू थपिनेछन् । उनका अनुसार रिसोर्टमा २० वटा लक्जरियस कोठाहरू थपिँदै छन्, जसमा ६ वटा सुइट रुम हुनेछन् । भिआइपी मिटिङका लागि ४० जना अटाउने सुविधासम्पन्न सभाकक्ष तयार हुँदै छ । छुट्टै प्रिमियम क्लासको बार पनि सञ्चालनमा आउँदै छ । अहिले ३६० डिग्री देखिने पानोरामा रेस्टुरेन्ट छ ।

अधिकारी एउटा रिसोर्टमा मात्र सीमित रहन चाहेनन्, रूपाकोटमै रिसोर्टबाट एक किलोमिटर दूरीमा २५ रोपनी क्षेत्रफलमा स्विङपार्क बनाइरहेका छन् । स्विङपार्क आगामी वैशाखमा सञ्चालनमा आउँदै छ । एक किलोमिटर दूरीमै अर्को वर्ल्ड भिलेज परियोजना बनाउने योजना छ । उनी स्विङपार्क र वर्ल्ड भिलेजमा सवा अर्ब रुपैयाँ खर्च गर्दै छन् । रूपाकोटलाई ‘वर्ल्डक्लास टुरिस्ट डेस्टिनेसन’ बनाउने अठोटसहित ठूलो लगानी गर्न कस्सिएको उनी बताउँछन् । 

रिसोर्टको क्षमता विस्तार रफ्तारमा 
कोभिड महामारीले ढिलाइ भइरहेको रिसोर्टको क्षमता विस्तारको काम अहिले तीव्र गतिमा भइरहेको छ । अहिले भवनहरू निर्माणको काम सम्पन्न भएको र डेकोरेसनको काम मात्र बाँकी रहेको अधिकारीको भनाइ छ । ‘२०२२ को मार्चसम्म २० कोठाहरू सञ्चालनमा आइसक्नेछन्,’ उनले भने, ‘रिसोर्टको भौतिक संरचनादेखि सेवा–सुविधा सबै सुपर लक्जरियस हुनेछन्, हामी रूपाकोटमा आउने पाहुनालाई बिल्कुल फरक खालको आतिथ्य सत्कार गर्नेछौँ ।’ 

रूपाकोट रिसोर्टको क्षमता विस्तारपछि लगानी एक अर्ब ३० करोड रुपैयाँ पुग्ने अधिकारीको भनाइ छ । उनले भने, ‘यसअघि नै ८० करोड रुपैयाँ लगानी भइसकेको छ, अहिले हामी कोठा मात्र होइन, धेरै लक्जरियस सेवा–सुविधा पनि थप गर्दै छौँ ।’ रिसोर्टमा आउने हाई एन्ड पाहुनालाई लक्षित गरेर दुईवटा हेलिप्याड बनाइँदै छ । र, बच्चाहरूका लागि चिल्ड्रेन पार्कसमेत बनिरहेको छ  । 

पोखराको लेकसाइडबाट २५ किलोमिटर दूरीमा रहेको रूपाकोट रिसोर्ट देशकै महँगोमध्येमा पर्छ । यो रिसोर्टमा एक रात बस्न दुईजनाका लागि १० हजार रुपैयाँभन्दा बढी खर्च लाग्छ । रिसोर्टबाट आँखैअगाडि मन बहलाउने सेता हिमालहरू, वरिपरि हरियाली, तलपट्टि सुन्दर सहर, रूपा र बेगनास ताल छर्लंग देखिने हुँदा पनि रूपाकोट रिसोर्ट धेरैको रोजाइमा परेको हो । 

अहिले रूपाकोट रिसोर्टको व्यवस्थापनमा अधिकारीका दुई छोराहरू सुशील र मनीषले पनि सघाउन थालिसकेका छन् । दुवै छोराहरू रूपाकोटको एग्रेसिभ विस्तार र मार्केटिङमा केन्द्रित छन् । ‘हामी रूपाकोटलाई देशकै अब्बल रिसोर्ट बनाउन चाहन्छौँ,’ रिसोर्टका निर्देशक सुशीलले भने, ‘हाम्रो लक्ष्य हस्पिटालिटी इन्डस्ट्रीमा प्रोजेक्ट पायोनियरिङ कम्पनी हुने हो ।’ 

रूपाकोटले काठमाडौंको लक्जरी बुटिक होटेल द्वारिकाजका कर्मचारीहरू पनि तान्न थालिसकेको छ । द्वारिकाजको लोभलाग्दो जागिर छाडेर रूपाकोट पुग्ने कर्मचारीको संख्या पाँच पुगिसकेको छ । हालै मात्र द्वारिकाजकी एचआर म्यानेजर अनुपमा बज्राचार्य रूपाकोट पुगेकी छिन् । उनीसँग दुबईका होटेलमा पनि एचआर विभागमा काम गरेको अनुभव छ । ‘हामीसँग एचआरको कमी थियो, अब हाम्रो एचआर विभाग पनि बलियो बनेको छ,’ अधिकारीले भने ।

वर्ल्ड भिलेजमा एक अर्ब लगानीको योजना
रूपाकोट रिजोर्टबाट करिब एक किलोमिटर दूरीमा वर्ल्ड भिलेज परियोजना निर्माणको तयारीमा छन्, अधिकारी । १८औँ शताब्दीको जीवनशैली र रहनसहन झल्काउने पुरानो परम्परागत गाउँकै झल्को दिने गरी वर्ल्ड भिलेज बनाउन लागेको उनले बताए । अहिले वर्ल्ड भिलेज परियोजना डिजाइनकै चरणमा छ । यो परियोजना निर्माणमा झन्डै एक अर्ब लगानी हुने अनुमान छ । 

वर्ल्ड भिलेज ७५ रोपनी क्षेत्रफलमा फैलिनेछ, जहाँ एउटा पुरानो सिंगो गाउँसहित प्रिमियम लक्जरी रिजोर्ट पनि सञ्चालनमा आउनेछ । अधिकारीका अनुसार रिजोर्ट पनि पुरानो शैलीमा निर्माण हुनेछ । रिजोर्टमा करिब ६० कोठाहरू बनाउने प्रारम्भिक योजना छ । यो रिजोर्ट प्रिमियम लक्जरियस हुने हुनाले खर्चालु पर्यटक लक्षित हुनेछ । 

वर्ल्ड भिलेज र रिजोर्ट निर्माणका लागि स्थानीय निर्माण सामग्री ढुंगा र माटोको प्रयोग गर्ने उनी बताउँछन् । उनी थप्छन्, ‘प्रकृतिको मज्जा लिन विश्व यात्रामा निस्कने धनाढ्य पर्यटकलाई लक्षित गरेर वर्ल्ड भिलेज बनाउन लागिएको हो ।’ रूपाकोट रिजोर्टको क्षमता विस्तार र स्विङपार्क निर्माण सम्पन्न हुनासाथ वर्ल्ड भिलेज परियोजना सुरु गरिहाल्ने उनको भनाइ छ ।

रूपाकोट ब्रान्डमा अरूका होटेल चलाउने तयारी
अरू व्यवसायीहरूले होटेलको व्यवस्थापनमा विदेशी चेन होटेल ब्रान्ड भित्र्याइरहेका वेलामा अधिकारीले रूपाकोट ब्रान्डबाट अरूका होटेलहरू व्यवस्थापन गर्ने अठोट गरेका छन् । आगामी तीन वर्षभित्र अरूका प्रोपर्टी व्यवस्थापन गर्ने गरी तयारी गरिरहेको उनले बताए । ‘हामी बाहिरबाट ब्रान्ड ल्याउँदैनौँ, बरु रूपाकोट ब्रान्डबाट अरूका प्रोपर्टी व्यवस्थापन गर्ने सोच बनाएका छौँ,’ उनले भने, ‘बाहिरका ब्रान्ड आउँदैमा राम्रो सर्भिस दिन्छन् भन्ने छैन्, केही उदाहरण हाम्रै अगाडि छन्, हामी आफैँ तीभन्दा राम्रो सर्भिस दिन सक्छौँ ।’ 

अधिकारीले दक्ष कर्मचारी उत्पादनका लागि रूपाकोटमै आफ्नै होटेल म्यानेजमेन्ट कलेज खोल्ने योजना बनाएका छन् । उनले कलेज खोल्न जग्गा लिइसकेका छन् । रिजोर्टको क्षमता विस्तार र स्विङपार्कको काम सकिनेबित्तिकै कलेजको काम अगाडि बढाउने उनले सुनाए । 

वैशाखदेखि स्विङपार्क 
रूपाकोट रिजोर्टबाट एक किलोमिटर दूरीमा अधिकारीकै २० करोड लगानीमा स्विङपार्क निर्माणको काम भइरहेको छ । स्विङपार्कमा झरनासहितको पाँच लाख लिटर पानी भएको ठूलो स्विमिङ पुल हुनेछ । छेवैमा स्टिम बाथको पनि सुविधा हुनेछ । रेस्टुरेन्ट, स्विङ अर्थात् गुलेली पिङ, चिल्ड्रेन पार्क, फुड कोर्टलगायत सुविधाहरू स्विङपार्कमा उपलब्ध हुनेछन् । स्विङपार्कबाट पनि हिमाल र तालको सुन्दर दृश्य देख्न सकिने उनले बताए । 

रूपाकोटलाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य बनाउने उद्देश्यसहित स्विङपार्कमा लगानी गरेको अधिकारीले बताए । स्विङपार्क फोटो सुट, फिल्म र म्युजिक भिडियो सुटिङका लागि पनि आकर्षक गन्तव्य बन्ने उनको विश्वास छ । 

ad
ad
ad
ad