मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ मङ्सिर १३ सोमबार
  • Tuesday, 29 September, 2026
फणिन्द्रमणि पोखरेल प्रवक्ता, गृह मन्त्रालय
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर १३ सोमबार o८:o७:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा कडाइ, ‘अनअराइभल भिसा’मा रोक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर १३ सोमबार o८:o७:oo

सरकारले कोभिड– १९ नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिमलाई मध्यनजर गर्दै अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा कडाई गर्दै अन अराइभल भिसामा रोक लगाएको छ ।  अफ्रिका हुँदै आउने अन्य मुलुकका नागरिकको हकमा भने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरिएको छ । अफ्रिकाका केही मुलुकमा कोभिड– १९ को नयाँ भेरियन्ट ओमिक्रोन देखापरेपछि सतर्कतास्वरूप गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो । गृहले अफ्रिकी मुलुकका नागरिकका लागि दिइने ‘अनअराइभल’ भिसा तत्कालका लागि रोक्न मातहतको अध्यागमन विभागलाई आइतबार नै निर्देशन गरिसकेको छ । अफ्रिका हुँदै आउने अन्य नागरिकको हकमा क्वारेन्टिनको व्यवस्था गर्न पनि विभागलाई गृहले निर्देशन गरेको छ ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले हालै देखापरेको कोभिड–१९ को नयाँ भेरियन्टको जोखिमबाट बच्न यस्तो निर्देशन गरिएको बताए । ‘कोभिड–१९ को नयाँ भेरियन्ट देखापरेको छ । यसको जोखिम उच्च रहेको सूचना आइरहेका छन् । यो जोखिमबाट बच्न अफ्रिकी मुलुकको नागरिकका लागि दिइने अन अराइभल भिसा रोक्न निर्देशन भएको छ । अफ्रिका हुँदै आउने अन्य देशका नागरिकले भने अनिवार्य रूपमा क्वारिन्टिनमा बस्नुपर्ने भनेका छौँ,’ उनले भने । सरकारको निर्णयपछि अर्को व्यवस्था नभएसम्मका लागि अफ्रिकी मुलुकका नागरिकले नेपाल प्रवेश गर्न पाउनेछैनन् । 

 ‘ओमिक्रोन’को निगरानी बढाउन डब्लुएचओको अपिल 
दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरस कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बारे उच्च निगरानी बढाउन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दक्षिण–पूर्वी एसिया क्षेत्रका देशहरूलाई अपिल गरेको छ । विश्वमा कोरोना घट्दै गएको, तर दक्षिण अफ्रिकामा नयाँ भाइरस ‘ओमिक्रोन’ पत्ता लागेपछि आइतबार विश्व स्वास्थ्य संगठनले दक्षिण–पूर्वी एसिया क्षेत्रका देशलाई निगरानी बढाउन, सार्वजनिक स्वास्थ्य र सामाजिक उपायलाई सुदृढ गर्न अपिल गरेको हो । त्यस्तै, कोरोनाविरुद्ध खोपको कभरेज बढाउनसमेत आग्रह गरेको छ । धेरैजसो देशमा कोभिडका केस घट्दै गए पनि विश्वका अन्य देशको केसहरूमा भएको वृद्धिले चिन्ता बढाएको र यसले निरन्तर जोखिम बढाएका डब्लुएचओले जनाएको छ ।

कोभिड– १९ को नयाँ भेरियन्ट देखापरेको छ । यसको जोखिम उच्च रहेको सूचना आइरहेका छन् । यो जोखिमबाट बच्न अफ्रिकी मुलुकको नागरिकका लागि दिइने अनअराइभल भिसा रोक्न निर्देशन भएको छ ।

डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले सचेत हुन सबैलाई आग्रह गरेकी छिन् । सम्बन्धित देशले निगरानी र अनुक्रम बढाउनुपर्ने उनको भनाइ छ । विश्वव्यापी रूपमा पछिल्लो समय कोभिडका केसहरू बढ्दै जानु चिन्ताको विषय बन्न थालेकाले डब्ल्युएचओले दक्षिण–पूर्वी एसिया क्षेत्रका देशहरूलाई सतर्क रहन आग्रह गरेको हो ।

 दक्षिण–पूर्वी एसिया क्षेत्रका झन्डै एक अर्ब मानिस खोप पाउनबाट वञ्चित
डा. पालले हालसम्म दक्षिण–पूर्वी एसिया क्षेत्रका देशहरूले ३१ प्रतिशत पूर्ण खोप पाएको उल्लेख गर्दै आंशिक खोप लगाउनेको संख्या २१ प्रतिशत रहेको जनाएकी छिन् । ‘यस क्षेत्रका झन्डै एक अर्ब मानिसले कोभिड–१९ विरुद्धको खोपको एक डोज पनि प्राप्त गर्न सकेका छैनन् । भाइरसका कारण गम्भीर रोग लाग्ने र थप फैलिने जोखिममा रहन्छ । खोप लगाएपछि पनि संक्रमित हुनबाट जोगिन र भाइरसबाट गम्भीर रूपमा प्रभावित हुन सक्ने अरू कसैलाई संक्रमण हुन नदिन सबैले सावधानी अपनाउनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ । 

 स्वास्थ्य मन्त्रालयको शून्य तयारी
विश्वव्यापी रूपमा ओमिक्रोन भेरियन्टको त्रास बढ्दा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी भने शून्य देखिएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडा कोभिड नियन्त्रणमा भन्दा पनि कर्मचारी सरुवामा बढी तल्लीन देखिएका छन् । नेपाल बाहिरबाट आएकालाई १० दिन अनिवार्य क्वारिन्टिनमा राख्ने भनिए पनि त्यसको कुनै पालना भएको छैन । आइतबार अफ्रिकाको अल्जजिराबाट आएका ६ जना सरकारी अधिकारीलाई क्वारिन्टिनमा नराखी छाडिएको छ । विमानस्थल हेल्थ डेस्कका कर्मचारीले १० दिन होटल क्वारिन्टिन बस्न गरेको अनुरोधलाई ती अधिकारीहरूले ठाडै अस्वीकार गरेर हिँडेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

↑