मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १३ मंगलबार १o:o७:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

एआई दुरुपयोगबारे बिल गेट्सको चेतावनीको अर्थ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १o:o७:oo
  • माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले एनबिसीमा प्रसारित एक अन्तर्वार्तामा एआईको दुरुपयोगले एक अर्ब मानिसको ज्यान जाने चेतावनी दिएका छन्

अमेरिकी प्रविधि उद्यमी बिल गेट्सले अमेरिकी संघीय संसद् र नियामक संस्थाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई)को विकासलाई नियमन गर्न आह्वान गरेका छन् । आइतबार प्रसारित एक अन्तर्वार्तामा बोल्ने क्रममा गेट्सले यस प्रविधिलाई अनियन्त्रित छोडियो भने ‘यसले एक अर्ब मानिसको ज्यान लिन सक्ने’ चेतावनी दिए । उनले ‘स्वनियमन पर्याप्त’ भएको कसैलाई विश्वास नभएको पनि बताए । 

‘सुरक्षा उपायहरू र अनुगमन कस्तो हुनुपर्छ भन्नेबारे कानुन कार्यान्वयनकर्ता र राजनीतिज्ञबिच व्यापक बहस हुनु आवश्यक छ,’ माइक्रोसफ्टका सहसंस्थापक तथा विभिन्न परोपकारी कार्यमा संलग्न गेट्सले अमेरिकी टिभी एनबिसीको ‘मिट द प्रेस’ कार्यक्रमकी प्रस्तोता क्रिस्टन वेल्करलाई भने । 

व्यापार सञ्चालनका लागि आवश्यक पर्ने अतिरिक्त खर्च वा व्यवस्थापकीय भारतर्फ संकेत गर्दै गेट्सले थपे, ‘नियमनले उद्योगमाथि केही अतिरिक्त भार त थप्नेछ तथापि, उनीहरूले गरिरहेको कामको गतिमा भने खासै ठुलो कमी आउनेछैन ।’ 

अन्तर्वार्ताको अर्को अंशमा गेट्सले गम्भीर चेतावनी दिँदै भने कि गलत व्यक्तिको हातमा परेको खण्डमा एआई ‘यस्तो शक्तिशाली हतियार हुनेछ कि यसले एक अर्ब मानिसको ज्यान लिने खालका घटनाहरू निम्त्याउन सक्नेछ’ । ‘अत्याधुनिक एआई नियत खराब भएका मानिसहरूको हातमा परे यो जत्तिको शक्तिशाली हतियार अहिलेसम्म बनेको छैन,’ गेट्सले थपे । गेट्स अत्यधिक शक्तिशाली एआईविरुद्ध चेतावनी दिइरहेका विभिन्न प्राविधिक तथा राजनीतिक व्यक्तिमध्ये एक हुन् । 

सामान्यतया गेट्स मानव भविष्यप्रति आशावादी मानिन्छन् । उक्त अन्तर्वार्ताबारे टिप्पणी गरिरहेका धेरैले अगस्टको अन्त्यमा गेट्सले उनको वेबसाइटमा प्रकाशित गरेका करिब ६,००० शब्दबारे चर्चा गरिरहेका छन् । त्यस लेखमा गेट्सले एआई र यसले मानव जातिमाथि निम्त्याउन सक्ने सम्भावित घातक खतराहरूबारे चेतावनी दिएका थिए ।

एआई कम्पनी ‘ओपनएआई’का प्रमुख स्याम अल्टम्यान र एलन मस्कलगायत अन्य प्रविधि क्षेत्रका हस्तीले पनि पछिल्लो समय एआईको विकासको गति कम गर्नुपर्ने बताउन थालेका छन् । केही विज्ञहरूका अनुसार एआईले जैविक हतियार र आणविक हतियार प्रयोग गरेर मानवजातिको व्यापक विनाश निम्त्याउन सक्ने सम्भावना उच्च रहेको छ । गेट्सको अन्तर्वार्ता बाहिरिएपछि केही आलोचकहरूले भने एआईसँग सम्बन्धित केही भयावह वा विनाशकारी पक्षको वृद्धिमा गेट्स नेतृत्वको माइक्रोसफ्ट आफैँले पनि भूमिका खेलेको आशंका गरेका छन् । विशेषतः अभियन्ता तथा माइक्रोसफ्टका केही कर्मचारीले कम्पनीले इजरायली सेनासँगको सम्बन्ध तोड्नुपर्ने माग राख्दै आएका छन् । इजरायली सेनाले गाजा र अमेरिकी सेनाले इरानमा मानिसहरूको ज्यान लिन एआई उपकरणको प्रयोग गरेको आरोप लाग्दै आएको छ । 

‘नो एज्योर फर अपार्टहाइड’ नामक समूहमा आबद्ध मोहम्मद हुसेन र ग्रिनेट किमले शुक्रबार ब्रिटिस पत्रिका गार्जियनमा छापिएको एक लेखमा ‘एआईका कारण निम्तिएका भयावह घटनाहरू अमेरिकामै समेत देखिन थालेको चेतावनी’ दिइएको छ । उदाहरणका लागि, हुसेन र किमका अनुसार अमेरिकी गृह मामिला हेर्ने मन्त्रालय ‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ले आप्रवासीहरूको निगरानी गर्न, उनीहरूलाई पक्राउ गर्न र सामूहिक रूपमा देश निकाला गर्न माइक्रोसफ्टको ‘एज्योर’नामक एआई उपकरणहरूको प्रयोग गरिरहेको छ । अगस्टमा प्रकाशित गेट्सको लेख र आइतबारको अन्तर्वार्तालाई उनी जेफ्री एप्स्टिनसँग जोडिएर विवादित बनेपछि सार्वजनिक रूपमा सक्रिय हुने उनको प्रयासका रूपमा हेरिएको छ । एप्स्टिन एक बदनाम वित्तीय व्यवसायी थिए, जसले सन् २००८ मा धनाढ्यहरूलाई यौन कार्यका लागि नाबालिगको व्यवस्था मिलाउने गरेको अपराध स्वीकार गरेका थिए । त्यसको ११ वर्षपछि यौन तस्करीको आरोपमा थुनामा रहेको समयमा उनले जेलमा आत्महत्या गरेका थिए । 

गेट्सको परोपकारी फाउन्डेसनले गराएको एक समीक्षाले गेट्सले सन २०११ देखि २०१४ बिचमा एप्स्टिनसँग अन्य कर्मचारीका साथ सामूहिक रूपमा करिब ३० वटा बैठक गरेको उल्लेख छ । जुलाईमा सार्वजनिक गरिएको त्यस समीक्षाले गेट्स एप्स्टिनले स्वीकार गरेका वा आरोपित अपराधहरूमा संलग्नता रहेको देखाइएको छैन । व्यापक आलोचनापछि गेट्स सार्वजनिक रूपमा एक विज्ञप्ति जारी गर्दै एप्स्टिनसँग बिताएको ‘प्रत्येक क्षण’प्रति पछुतो लागेको स्पष्टीकरण दिएका थिए । तथापि, विवादपछि पनि गेट्स ८९ अर्ब डलरको ‘गेट्स फाउन्डेसन’ नामक परोपकारी संस्थाको अध्यक्षका रूपमा कायमै छन् । पत्रकार वेल्करसँगको अन्तर्वार्ताको क्रममा गेट्सलाई ‘तपाईं कुनै व्यावसायिक वा व्यक्तिगत कामका लागि एआईबाट सहयोग लिनुहुन्छ ?’ भन्ने प्रश्न गर्दा उनी मुस्कुराउँदै जवाफ दिन्छन्- ‘खैर, म यसलाई मेरो व्यक्तिगत सम्बन्धका लागि प्रयोग गर्दिनँ । मलाई त्यसको आवश्यकता नै भएन । किनकि परिवार, साथीभाइको साथका हिसाबमा म भाग्यमानी झएकाले मलाई एआईसँग अन्तर्त्रिया गर्नुपर्ने आवश्यकता पर्दैन ।’ 

(गार्जियनका लागि रामोन एन्टोनियो भार्गासको आलेख)

↑