१५ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको विवरणअनुसार प्रधानमन्त्री बालेन्द्र शाहको स्वकीय सचिवालयमा २७ जना नियुक्त गरिएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयमा ४८ जनाको दरबन्दी रहेकामा २७ जना नियुक्त गरिएको जानकारी पत्रमार्फत कार्यालयले दिएको छ ।
‘प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम सम्माननीय प्रधानमन्त्रीको स्वकीय सचिवालयतर्फ कुल ४८ जनाको दरबन्दी रहेकामा हाल २७ जना नियुक्त हुनुभएको छ,’ पत्रमा कार्यालयले भनेको छ ।
तर, सचिवालयमा नियुक्त भएका पदाधिकारी को–को हुन् भन्ने जानकारी भने कार्यालयले दिएको छैन । साथै, सचिवालयमा नियुक्त गरिएका पदाधिकारीको सेवा–सुविधाबारे जानकारी पनि कार्यालयले दिएको छैन । पत्रमा छ, ‘सचिवालयमा नियुक्त भएका पदाधिकारी तथा कर्मचारीले नेपाल सरकारका सम्बन्धित श्रेणीसरहको कानुनबमोजिम प्राप्त हुने सेवा–सुविधा पाउने व्यवस्था रहेको व्यहोरा जानकारीका लागि आदेशानुसार अनुरोध छ ।’
प्रधानमन्त्रीको सचिवालयमा नियुक्त हुने स्वकीय समूहले राज्यबाट तलब र सुविधा पनि लिन्छ । कानुनअनुसार उनीहरू राष्ट्रसेवकको परिभाषाको दायरामा पनि पर्छन् । तर, कार्यालयले सचिवालयमा नियुक्ति गरिएका व्यक्तिहरूको नामसहितको विवरण दिन इन्कार गरेको छ ।