अधिकारको बहसमा अनुशासनको प्रश्न : विद्यार्थीलाई कपाल काट्न, पोसाक मिलाउन वा अनुशासनमा बस्न शिक्षकले लगाए भने त्यसलाई नै मानसिक दबाब वा अपमानका रूपमा व्याख्या गर्ने प्रवृत्ति बढ्न थालेको छ । विद्यार्थीले ‘हेलो सरकार’मा उजुरी गर्ने, विद्यालय, शिक्षक वा प्रधानाध्यापकको फोटो र नाम सामाजिक सञ्जालमा राखेर अपमानित गर्ने क्रम बढेको छ । शिक्षा निकायमा उजुरी पनि पर्ने गरेका छन्, कपाल काट्न नभन्नू भनी सम्बन्धित निकायले मौखिक निर्देशन दिने गरेका छन् । हालै मात्र राष्ट्रिय मानव अधिकार आयोगले समेत विद्यार्थीको कपाल काट्न रोक्नू भन्दै केही स्थानीय तहलाई पत्राचार गरेको छ । यस्ता विषयलाई तुरुन्तै ‘उजुरी’, ‘मानसिक यातना’ वा ‘अधिकार हनन’को भाषामा लैजाने प्रवृत्तिले अन्ततः विद्यार्थी र शिक्षकबिचको विश्वास कमजोर बनाउन सक्छ ।
भखैरै भएको शिक्षा नियमावलीको दसौँ संशोधनको दफा २३ को (ट १) मा ‘कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने कुनै पनि गतिविधि विद्यालयपरिसर वा कक्षाकोठाभित्र सञ्चालन गर्न वा गराउन नदिने’ भन्ने व्यवस्था गरिएको छ । नियमावलीको यस व्यवस्थाले विद्यालयमा पढाउने, सिकाउने वातावरण बिग्रँदै गएको भनी देशभरका विद्यालयमा तरंग पैदा भएको छ ।
विद्यालयका नियम, मर्यादा र आचारसंहिता मान्ने सर्तमा विद्यालयमा विद्यार्थी भर्ना भएका हुन्छन् । विद्यालयभित्रका नियम विद्यार्थीलाई दुःख दिन वा उनीहरूको स्वतन्त्रता खोस्न बनाइएका हुँदैनन्, तिनको मूल उद्देश्य विद्यालयलाई व्यवस्थित, मर्यादित र सिकाइका लागि अनुकूल बनाउनु हो । विद्यालयमा निर्धारित समयमा पुग्नु, शिक्षकलाई अभिवादन गर्नु, तोकिएको पोसाक लगाउनु, जुत्ता पोलिस गरेर लगाउनु, नङ, कपाल काट्नु, सरसफाइमा ध्यान दिनु, गृहकार्य पूरा गर्नु र शिक्षकको निर्देशन पालना गर्नुजस्ता नियम विद्यार्थीको सिकाइ, अनुशासन र सामूहिक वातावरणका लागि बनाइएका हुन्छन् । यिनै साना अभ्यासबाट बालबालिकामा समयपालन, सरसफाइ, आत्मानुशासन, मर्यादा र अरूप्रति सम्मानको भावना विकास हुन्छन् ।
बहसको केन्द्रमा कपाल : विद्यार्थीको कपाल काट्न लगाउनुलाई अहिले मानसिक यातना भन्ने गरिएको छ । कपालको लम्बाइ आफैँमा शिक्षा पनि होइन, कपाल काट्नु नै चरित्र निर्माणको अन्तिम उपाय पनि होइन । विद्यार्थीले आफूलाई मन परेको शैलीमा कपाल राख्न चाहनु अस्वाभाविक होइन । आजका विद्यार्थी विश्वसँग जोडिएका छन्, उनीहरूले मोबाइलको स्क्रिनमा संसार देखिरहेका छन् । खेलाडी, कलाकार, म्युजिसियन, गायक, गिटारिस्ट, विभिन्न सेलिब्रेटी तथा सामाजिक सञ्जालका चर्चित पात्रको शैली तिनका आँखाअगाडि छन् । त्यसैले, आफ्नो कपाल पनि त्यस्तै बनाउने इच्छा हुनु स्वाभाविक हो ।
छात्रहरू कसैलाई ‘कर्ली टप’, ‘फ्रिन्ज कट’ वा ‘फ्ल्याट टप’ ‘मोडल’को कपाल मन पर्ला । छात्राहरू पनि ‘भी कट’, ‘स्टेप कट’ वा ‘बटरफ्लाई कट’ वा अरू मोडलमा जालान् । कपाल कटाइका करिब सय मोडल हुँदा रहेछन् । त्यसमाथि पनि कपाललाई सेतो, खैरो, रातो वा खरानी रङले रंगाउन चाहन्छन् । व्यक्तिगत जीवनमा व्यक्तिको रुचि र छनोटको आफ्नै महत्व हुन्छ । तर, विद्यालय भनेको व्यक्तिगत फेसन प्रदर्शन गर्ने ठाउँ होइन । विद्यालयको आफ्नै पहिचान, पोसाक र मर्यादा हुन्छ । विद्यालयलाई व्यक्तिगत फेसनको प्रतिस्पर्धा गर्ने ठाउँ बनाउने कि अनुशासन र शिक्षाको केन्द्र बनाउने ? बहस जरुरी छ ।
शिक्षकको भूमिका केवल पाठ्यपुस्तक पढाएर परीक्षा लिनुमा मात्र सीमित छैन । शिक्षक मार्गदर्शक हुन्, अनुशासनका संरक्षक हुन्, प्रेरणाका स्रोत हुन् र कतिपय अवस्थामा अभिभावकको भूमिकासमेत निर्वाह गर्छन् । सम्मानपूर्वक गरिने सुधार र अपमानबिचको अन्तर बुझ्नैपर्छ । विद्यालयमा शिक्षकले विद्यार्थीलाई गृहकार्य गर्न भन्नैपर्छ, समयमै आउन सम्झाउनैपर्छ, कक्षामा अनुशासन कायम गर्नैपर्छ, साथीलाई अपमान नगर्न सिकाउनैपर्छ, प्राकृतिक रङ र छोटो कपालको एकरूपता कायम गराउनुपर्छ । घरमा आजित भएका थुप्रै अभिभावकले शिक्षकसँग ‘हामीले भनेको त पटक्कै मानेनन्, जसरी हुन्छ यसको कपाल कटाइदिनुस्’ भन्ने गरेका छन् । यी सबै काम शिक्षकले नगर्ने हो भने कसले गर्ने ? शिक्षकको भूमिका कमजोर पारेर विद्यार्थी बलियो हुँदैन । यी सबै शिक्षा प्रक्रियाका हिस्सा हुन् । यस्ता व्यवहारलाई मानसिक यातना भन्न मिल्छ र ! शिक्षकको हृदयमा विद्यार्थीप्रति कुनै व्यक्तिगत शत्रुता हुँदैन । उनीहरूको चाहना एउटै हुन्छ, आफ्ना विद्यार्थी असल बनून्, पढाइमा अगाडि बढून्, व्यवहारमा सभ्य बनून्, बोलीमा विनम्र बनून् र जीवनमा सफल बनून् ।
विद्यार्थी किशोरावस्थामा छ, वयस्क छ, शारीरिक रूपमा बलिष्ट छ । विद्यालयका आचारसंहिता पालना गर्न सम्झाउँदा टेढो आँखाले हेर्छ, शिक्षकलाई अपमान गर्छ । कहिलेकाहीँ अपशब्द प्रयोग गर्छ । सरकारले केही गर्न पाइन्न भनेको छ, सरकारी नियम हो भनी उल्टै शिक्षकलाई ओठे जवाफ फर्काउँछ । विद्यालयमा शिक्षकले गृहकार्य दिए, विद्यार्थीले गरेन । शिक्षकले सोधे, ‘गृहकार्य किन गरेनौ ?’ के यो मानसिक दबाब हो ? ‘मलाई मन लागेन, त्यसैले गर्दिनँ’ भन्ने संस्कार विद्यालयमा विकास हुँदै गयो भने भोलिको समाजमा हामी कस्ता नागरिक उत्पादन गर्दै छौँ ? अनि शिक्षाको उद्देश्य के रहन्छ ? त्यस्तो कक्षामा शिक्षकले कसरी पढाउने ? कुन मानसिकताले शिक्षा दिने ? शिक्षकलाई मानसिक यातना हुने कि नहुने ? कक्षाकोठामा विद्यार्थीले शिक्षकमाथि हातपात गरेका कतिपय घटना सामाजिक सञ्जालमा आइरहेका छन् । के हामीले विद्यालयलाई असभ्य विद्यार्थीको जमातको केन्द्र बनाउन खोज्दै छौँ ?
शिक्षक आफैँ अपमानित, असुरक्षित र निरुत्साहित भएमा उसले कक्षाकोठामा कति प्रभावकारी रूपमा पढाउन सक्छ ? हरेक निर्देशनपछि उजुरी पर्ला कि, स्पष्टीकरण मागिएला कि, सामाजिक सञ्जालमा बदनाम होला कि भन्ने भय बोकेर शिक्षक कक्षामा प्रवेश गर्नुपर्ने वातावरण बन्यो भने के हुन्छ ? त्यस्तो अवस्थामा कक्षाकोठामा शिक्षा होइन, संकोचको वातावरण बन्न सक्छ । त्यसको अन्तिम असर कसलाई पर्छ ? विद्यार्थीलाई होइन र ? शिक्षकलाई निरंकुश बन्न दिनुहुँदैन, तर शिक्षकलाई निरीह पनि बनाउनुहुँदैन । शिक्षक अपमानित, भयभीत र निरुत्साहित हुँदै गए भने कक्षाकोठामा उनीहरूको आत्मविश्वास कमजोर हुन सक्छ । त्यसैले, विद्यार्थीको आत्मसम्मान जति महत्वपूर्ण छ, शिक्षकको पेसागत सम्मान पनि उत्तिकै महत्वपूर्ण छ ।
राम्रो अभ्यासको अनुकरण : हामीले संसारबाट सिक्नुपर्छ । तर, युरोपेली विद्यार्थीका मोडल र विद्यालयको आचारसंहिताको नक्कल गरेर मात्र नेपालको शिक्षा प्रणाली राम्रो हुने होइन । युरोपेली समाजको विकासको स्तर तथा शिक्षा प्रणाली लामो ऐतिहासिक विकासक्रमबाट गुज्रिएर आजको अवस्थामा पुगेको हो । १६औँ शताब्दीदेखि युरोपमा सर्वसाधारण र ग्रामीण भेगका बालबालिकालाई साक्षर बनाउने अभियानले व्यापकता पायो । जर्मनीको प्रसिया राज्यले सन् १७६३ मा सर्वसाधारणका लागि अनिवार्य प्राथमिक शिक्षाको सुरुवात गर्यो भने सन् १८३० पछि बेलायत, फ्रान्स तथा अन्य युरोपेली देशले क्रमशः प्राथमिक शिक्षालाई निःशुल्क र अनिवार्य बनाउँदै लगे । सन् १७६० पछि बेलायतबाट सुरु भएको औद्योगिक क्रान्तिले समाजको जीवनशैली, परिवारको संरचना र सोच्ने तरिका पनि परिवर्तन हुँदै गयो । त्यसैले, उनीहरूको वर्तमान समाज, परिवार र जीवनपद्धति हाम्रो समाजभन्दा धेरै फरक छ ।
हाल युरोपका सार्वजनिक विद्यालयमा युनिफर्म वा कपालको एकरूपतासम्बन्धी कुनै नियम छैन । विद्यार्थी दैनिक जीवनमा प्रयोग हुने सादा र सहज कपडा लगाएर विद्यालय जान्छन् । कपालको मोडल र कपडामा विद्यार्थीको आफ्नै रोजाइ चल्छ । तर, अरू विकसित मुलुक सबैमा यस्तो छैन । अस्ट्रेलियाका प्रायः सबै सरकारी तथा निजी विद्यालयमा तोकिएको पोसाक नै लगाउनुपर्छ, छात्रको कपाल छोटो र सफा हुनुपर्ने, छात्राको लामो कपाल भए बाँध्नुपर्ने, अस्वाभाविक रङ वा शैली बनाउन नपाइनेजस्ता कडा नियम लागू भएका छन् । चीनमा कक्षा १२ सम्म पोसाकमा कडा एकरूपता हुन्छ, छात्रहरूको कपाल छोटो हुनुपर्छ भने छात्राले पनि छोटो वा व्यवस्थित रूपमा बाँध्नुपर्छ । कपाल रंग्याउन वा फेसनदार बनाउन प्रतिबन्ध छ । जापानमा माध्यमिक र उच्च माध्यमिक विद्यालयमा तोकेको निश्चित पोसाक नै लगाउनुपर्छ । छात्रले कपाल लामो पाल्न, रंग्याउन, मोड्न वा असामान्य शैली बनाउन नपाइने कडा नियम छ । कपालको प्राकृतिक रङ कायम राख्नुपर्छ । नेपालका सैनिक र प्रहरी स्कुलमा समेत सबै विद्यार्थीको कपाल छोटो राख्नु अनिवार्य छ । के हामी विकासको हरेक मोडल जस्ताको तस्तै नक्कल गर्न सक्छौँ ? निश्चित रूपमा सक्दैनौँ । त्यसैले, हाम्रो शिक्षा प्रणालीको वातावरण पनि हाम्रो परिवेशअनुकूल हुनुपर्छ ।
जीवन सिकाउने थलो : विद्यालयमा अनुशासन विद्यार्थीका लागि मात्र हुँदैन, शिक्षकका लागि पनि हुन्छ । पूर्वतयारीसाथ घन्टीको तालमा शिक्षण सिकाइ प्रक्रियाका सम्पूर्ण गतिविधि सञ्चालन गर्नु शिक्षकका नियमित जिम्मेवारी हुन् । शिक्षकका शब्द र बोलीको मिठास मात्र होइन, उनको पहिरन, हिँडाइको ढाँचा, कार्यशैली, शिक्षण पद्धति र विद्यार्थीसँग गरिने व्यवहारका हरेक आयामबाट विद्यार्थीले जीवनका अनेक पाठ सिक्छन् । शिक्षकको व्यक्तित्व स्वयं एउटा खुला पुस्तकझैँ हुन्छ, जसका प्रत्येक व्यवहार र आचरणले विद्यार्थीको मनमा गहिरो छाप छोडिरहेको हुन्छ ।
अहिले विद्यालयमा सानै उमेरदेखि विपरीतलिंगीप्रतिको आकर्षण देखिन थालेको छ । यो मानवीय मनोविज्ञानको एउटा स्वाभाविक पक्ष हुन सक्छ । १३–१४ वर्षको बालक वा बालिकाले ‘म फलानासँग विवाह गर्छु’ भन्यो भने उसको कुरा सुन्नुपर्छ, भावना बुझ्नुपर्छ, तर उसको उमेर, मानसिक परिपक्वता, भविष्य र कानुनी अवस्थाबारे सम्झाएर गलत निर्णय लिनबाट रोक्नु पनि अभिभावक र शिक्षकको दायित्व होइन र ?
विद्यालय प्रहरी हिरासत होइन । विद्यार्थीलाई भय सिर्जना गरेर, थर्काएर र अपमान गरेर सिकाउन सकिँदैन । तर, विद्यालय सार्वजनिक मेला पनि होइन, जहाँ कुनै नियम र मर्यादा आवश्यक नहोस् । विद्यालय एउटा सिकाइको थलो हो । त्यहाँ स्वतन्त्रता पनि चाहिन्छ र अनुशासन पनि । माया र मार्गदर्शन दुवै चाहिन्छ । अधिकार खोज्नेले कर्तव्य पनि पूरा गर्नुपर्छ । प्रश्न गर्ने वातावरण पनि चाहिन्छ, उत्तरदायित्वको बोध पनि । विद्यालयलाई बालमैत्री बनाउनुपर्छ, तर अनुशासनविहीन होइन । शिक्षालाई आधुनिक बनाउनुपर्छ, तर संस्कारविहीन होइन ।
शिक्षा नियमावलीको दसौँ संशोधनको कार्यान्वयनले शिक्षक आफ्नो कर्तव्य निर्वाह गर्न डराउने, प्रधानाध्यापक निर्णय गर्न हिचकिचाउने र विद्यालयलाई स्पष्टीकरण दिँदै बस्नुपर्ने अवस्थामा पुर्याउनुहुँदैन । हामीले यस्तो शिक्षा खोजेका होइनौँ, जहाँ विद्यार्थी डरले पढून् । तर, यस्तो शिक्षा पनि चाहेका होइनौँ, जहाँ शिक्षक डरले पढाउन नसकून् । हामीले खोजेको शिक्षा त्यस्तो हो, जहाँ विद्यार्थीले शिक्षकलाई सम्मान गरोस्, गुरु–चेलाको सम्बन्ध स्थापित होस्, हाँसिखुसी प्रसन्न मनले सिक्ने–सिकाउने वातावरण बनोस्, ताकि विद्यार्थीमा असल संस्कारको राम्रो विकास होस् । आखिर विद्यालयको उद्देश्य कपालको शैली मिलाउनु मात्र होइन, जीवनको शैली मिलाउनु पनि हो । विद्यालयले केवल पाठ पढाउने होइन, जीवन पढाउने हो । त्यसैले, सिकाइलाई प्रतिकूल प्रभाव पार्ने अनावश्यक विषय शिक्षा नियमावलीबाट हटाउनु उपयुक्त हुन्छ ।
(पाण्डे हिसानका केन्द्रीय उपाध्यक्ष हुन्)