ह्वाट्सएपमार्फत क्युआर कोड पठाएर आफन्त र साथीको बैंक खातामा घुस खाने अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीले ससुरा र साथीको बैंक खातामा ५३ व्यवसायीमार्फत २८ लाख रुपैयाँ घुस लिएका हुन् । उनका ससुरा वसन्तकुमार बस्याल क्षेत्री तथा साथीहरू रश्मिता श्रेष्ठ र सुरेश चौधरीविरुद्ध सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा घुससम्बन्धी मुद्दा दायर गरेको छ ।
चीनबाट खाद्यसम्बन्धी सामान आयात गर्दा स्वीकृति दिनेक्रममा उनले व्यवसायीबाट घुस रकम असुलेका हुन् । उनले व्यवसायी तथा उनीहरूका भन्सार एजेन्टहरूसँग ह्वाट्सएपमा डिल गरी क्युआर पठाएर बैंक खातामै घुस मगाउँथे । एक व्यवसायीको उजुरीका आधारमा अख्तियारले उनलाई पक्राउ गरी अनुसन्धान गर्दा उनको ह्वाट्सएपमा ५३ जना व्यवसायीसँग घुस लिएको पुष्टि भएको छ । थप घुस लेनदेनबारे आयोगले अनुसन्धान गरिरहेको छ ।
१६ चैत ०८२ मा अधिकारीविरुद्ध व्यवसायी हर्ष वंसलले उजुरी दिएका थिए । अधिकृत अधिकारीले उनीसँग दुईपटक गरी बैंक खातामै पाँच हजार घुस लिएका थिए । त्यसको प्रमाणसहित उनले उजुरी दिएपछि आयोगले अधिकारीलाई पक्राउ नै गरेर अनुसन्धान गरेको थियो । अनुसन्धान लम्बिएपछि उनलाई पाँच लाख धरौटीमा छाडेर विस्तृत छानबिन भएको थियो । अनुसन्धानका क्रममा उनको मोबाइलबाट थप घुस कारोबार पुष्टि भएका हुन् । उनको ह्वाट्सएपमा पैसा मागेको विषयदेखि पैसा खातामा जम्मा गरिएका स्क्रिनसट तथा भौचरसमेत भेटिएका छन् ।
अधिकारीले आफ्नै बैंक खातामा एक लाख ३९ हजार, वसन्तकुमार बस्याल क्षेत्रीको खातामा आठ लाख ९४ हजार पाँच सय, रश्मिता श्रेष्ठको खातामा १४ लाख ९३ हजार ३७५ तथा सुरेश चौधरीको खातामा दुई लाख ६९ हजार घुस लिएको छानबिनबाट पुष्टि भएको छ । ती खाताको एटिएम भने अधिकारी आफैँले प्रयोग गर्दै आएको उनको आफ्नै बयान छ । विदेशबाट खाद्य सामग्री आयात गर्दा विभागको स्वीकृति लिनुपर्ने व्यवस्था छ । स्वीकृति रोकेर अधिकारीले डिल गर्दथे । घुस खाएपछि मात्र स्वीकृति दिन्थे । उनीबाट आजित भएपछि व्यवसायी अख्तियार पुगेका हुन् ।
कोसँग कति लिए घुस ?
अधिकृत अर्जुन अधिकारीले पाँच हजारदेखि दुई लाख ३५ हजारसम्म घुस लिएका विवरण अख्तियारको आरोपपत्रमा छ । ओम बहावीर ट्रेडिङका अञ्चल ढकाल, प्रकाश पछ्याई र राजेश मगरसँग ८० हजार, हाइक बिजनेस कन्सर्नका जीवनकुमार शर्मासँग ८२ हजार, सुचेता हेल्थ केयरका दीपक भण्डारीसँग ६४ हजार, सुरभि इन्टरनेसनलका शैलेन्द्र धामीसँग ६ हजार, सत्व ट्रेडर्स प्रालिका अंकित दारुका र विश्वास श्रेष्ठसँग ५९ हजार पाँच सय, गुरमिट भियानाका मरिचमान तामाङ र रामकृष्ण थापासँग ४० हजार लिएको अख्तियारको छानबिनबाट खुलेको छ । त्यस्तै, राधेरानी इन्टरनेसनल ट्रेडिङका गौरव अग्रवालसँग सात हजार, अम्बुजा इन्टरनेसनलका अमितकुमार चौधरी र कोमलराज रेग्मीसँग ४९ हजार, रानी सती इन्टरनेसनलका ओमप्रकाश वंसल र धीरेन्द्रकुमार सिंहसँग २५ हजार, एबिसि इन्डस्ट्रिजका लक्ष्मी मण्डल, सजीवकुमार कोइराला र दीपक कोइरालासँग एक लाख ५३ हजार पाँच सय लिएको प्रमाण बैंक खाताबाटै पुष्टि भएको छ ।
एमए सप्लायर्स दाङ फिड इन्डस्ट्रिज तथा मध्यपश्चिम फिड इन्डस्ट्रिजका भन्सार एजेन्ट नारायणप्रसाद भण्डारीसँग ३५ हजार, सेनेटिभ बायोटिकका शैलेन्द्रकुमार सिन्हासँग ११ हजार पाँच सय, राज फुड प्रोडक्टस, प्रभु कृपा अर्डर एन्डसप्लायर्स, नित्य ट्रेडिङ एन्ड सप्लायर्सका मोहम्मद इरफान जसगढसँग २२ हजार, सुपर इम्पेक्सका मो. इमरान र नारायण भण्डारीसँग २४ हजार पाँच सय, अप्टिलाइफ न्युट्रिसनका सजिव काफ्लेसँग २० हजार, लक्ष्मी ट्रेड लिंक, विजयपुर ड्रग हाउस सप्लायर्सका तेजनारायण महतोसँग ६ हजार पाँच सय, हिमालय फुड केम, नेपाल ट्रेड एक्जिमका रामनिवास शाह र समसुलहोदा आलमसँग पाँच हजार लिएको छानबिनबाट पुष्टि भएको छ । आयोगले घुस दिने सबै व्यवसायीको पनि बयान लिएको थियो ।