मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १३ मंगलबार १o:१५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्री र मन्त्रीहरूको सल्लाहकार र स्वकीयहरूका लागि मासिक कम्तीमा ५० लाख खर्च

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १o:१५:oo

प्रधानमन्त्री र मन्त्रीहरूको स्वकीय सचिवालयमा नियुक्ति गरिएका ठुलो संख्याका सल्लाहकार र स्वकीयहरूका लागि मासिक कम्तीमा ५० लाख रुपैयाँ खर्च हुने देखिन्छ । नियुक्त गरिएकामा २० सल्लाहकारमध्ये वैतनिक रहेका सातजना, १६ मध्ये वैतनिक रहेका १५ जना प्रमुख स्वकीय सचिव, १४ स्वकीय सचिव, १४ समन्वय, कार्यान्वयन तथा अनुगमन अधिकृत, १२ सञ्चार तथा जनसम्पर्क सहायक, ६ सहायक स्तर, ७ हलुका सवारीचालक र १२ कार्यालय सहयोगीलाई मासिक भुक्तानी लिन्छन् । सरकारको निर्णयबमोजिम उनीहरूले पाउने मासिक पारिश्रमिकको कुल ३९ लाख आठ हजार ७४१ रुपैयाँ हुन आउँछ ।

चालू आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी कायम गरिएको तलबमानअनुसार राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) को सुरु तलबमान मासिक ७९ हजार २९० रुपैयाँ छ । सचिवसरह पारिश्रमिक र सुविधा खाने वैतनिक ७ सल्लाहकारका लागि मासिक पाँच लाख ५५ हजार ३० रुपैयाँ खर्च हुन्छ । त्यस्तै, राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) को सुरु तलबमान ५३ हजार ६११ रुपैयाँ छ । उपसचिवसरह पारिश्रमिक र सुविधा खाने प्रमुख स्वकीय सचिव १५ जना भएकाले उनीहरूका लागि मासिक आठ लाख चार हजार १६५ रुपैयाँ खर्च हुन्छ ।

स्वकीय सचिव र समन्वय, कार्यान्वयन तथा अनुगमन अधिकृतको तलब सुविधा शाखा अधिकृतसरह हुने व्यवस्था छ । शाखा अधिकृतको सुरु तलबमान मासिक ४८ हजार ५८ रुपैयाँ हो । मन्त्रीहरूको स्वकीय सचिव र समन्वय, कार्यान्वयन तथा अनुगमन अधिकृतमा १४–१४ गरी २८ जना छन् । २८ जनालाई मासिक भुक्तानी गर्नुपर्ने रकम १३ लाख ४५ हजार ६२४ रुपैयाँ हुन आउँछ ।

सञ्चार तथा जनसम्पर्क सहायक र सहायकस्तरको तलब सुविधा राजपत्र अनंकित प्रथम श्रेणी (नासु) सरह हुने व्यवस्था छ । अहिले नासुको सुरु तलबमान मासिक ३८ हजार २०३ रुपैयाँ छ । सञ्चार तथा जनसम्पर्क सहायकमा १२ र सहायकस्तरमा ६ गरेर कुल १८ जना नियुक्त गरिएका छन् । उनीहरूलाई गर्नुपर्ने मासिक भुक्तानी ६ लाख ८७ हजार ६५४ रुपैयाँ हुन आउँछ ।

यसैगरी, हलुका सवारीचालक र कार्यालय सहयोगीलाई श्रेणीविहीन पद मानिन्छ । उनीहरूको सुरु तलबमान मासिक २७ हजार १७२ रुपैयाँ हो । हलुका सवारीचालकमा सात र कार्यालय सहयोगीमा १२ गरी कुल १९ जनाले नियुक्ति पाउँदा उनीहरूलाई गर्नुपर्ने मासिक भुक्तानी रकम पाँच लाख १६ हजार २६८ रुपैयाँ हुन आउँछ ।

प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरिएकाको नाम, पद र सेवासुविधाबारे विवरण उपलब्ध हुन नसकेकाले त्यसको हिसाब यसमा संलग्न छैन । त्यसका अतिरिक्त विभिन्न आयोजना तथा निकायबाट तलब खाने गरी सचिवालयमा नियुक्त गरिएकाको हिसाब पनि यसमा छैन । सबै गर्दा मासिक कम्तीमा ५० लाख रुपैयाँ पुग्ने अनुमानित हिसाब निस्किन्छ । स्वकीयहरूका लागि मन्त्रालयमा कोठा र च्याम्बर निर्माण गरिएका छन् । त्यसका अतिरिक्त स्वकीयहरूले प्रयोग गर्ने सवारीसाधन, इन्धन, खाजा, भ्रमणलगायतको खर्च अलग्गै छ ।

↑