धनकुटाको चौबिसे गाउँपालिकामा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई आज बिहान नियन्त्रणमा लिएको छ । चौबिसे गाउँपालिका– २, डाँडागाउँस्थित दीपक सारू मगरको घरमा तास खेल भइरहेको विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली परिचालन गरिएको थियो । प्रहरी टोलीले तास खेलिरहेका ६ जना र खेल हेरिरहेका ६ जना गरी १२ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरूको साथबाट नगद दुई लाख ३६ हजार २५० रुपैयाँ तथा २१ बुक तास बरामद गरेको छ ।
घटनास्थलबाट खोलेको चार बुङ र नखोलेको १७ बुङ गरी २१ बुङ तास बरामद भएको छ । तास खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा चौबिसे गाउँपालिका– २ का ३६ वर्षीय इमा मगर, ५३ वर्षीय राजेन्द्र मगर, चौबिसे गाउँपालिका– ६, राजारानीका ४५ वर्षीय गुणराज राई, सोही स्थानका ३६ वर्षीय लेखबहादुर लिम्बू (यलेक्स), ४२ वर्षीय योगेन लिम्बू तथा चौबिसे गाउँपालिका– ७, मौनाबुधुकका ४० वर्षीय राम चेम्जोङ रहेका छन् ।
त्यस्तै, तासको खेल हेरिरहेको अवस्थामा चौबिसे गाउँपालिका– २, डाँडागाउँका ३० वर्षीय सुमन मगर, मुढेवासका २१ वर्षीय समीर मगर, लाप्सेका २६ वर्षीय प्रजल मगर, डाँडाटोलका २४ वर्षीय प्रदीप मगर, धारापानीका १९ वर्षीय विशाल मगर तथा चौबिसे गाउँपालिका– ६ राजारानीका ३५ वर्षीय धीरेन चेम्जोङलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी डिएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए।
तास खेलिरहेको अवस्थामा नगदसहित पक्राउ परेका सबैजनालाई जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याएर आवश्यक अनुसन्धान सुरु गरिएको डिएसपी भण्डारीले बताए । पक्राउ परेकामाथि प्रचलित कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ । यसअघि सोमबार धनकुटाको हिलेबाट तास खेलिरहेका आठजनालाई नगद एक लाख १४ हजार ५५० रुपैयाँसहित प्रहरीले पक्राउ गरेको थियो ।