नागोयामा अत्यधिक वर्षा भएपछि श्रीलंका विजयी घोषित भएको छ । योसँगै नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले २०औँ एसियाली खेलकुद (एसियाड)को क्वार्टरफाइनलबाटै फेरि बाहिरिएको छ।
नागोयामा लगातार चार दिनदेखि मौसम खराब थियो । अत्यधिक वर्षा भएपछि नागोयामा क्रिकेट खेल नै हुन सकेन । तेस्रो क्वार्टरफाइनल खेल हुन नसकेपछि श्रीलंका आइसिसी टी–२० वरीयताका आधारमा सेमिफाइनलमा पुगेको हाे। आइसिसी टी–२० आई वरीयतामा श्रीलंका नवौँ र नेपाल १४औँ स्थानमा छन् ।
प्रतियोगिताअन्तर्गत आइतबार पनि वर्षाका कारण दुई क्वार्टरफाइनल खेल रद्द भएका थिए । पहिलो क्वार्टरफाइनलमा पाकिस्तानले हङकङको सामना गरेको थियो । तर, वर्षाले खेल सम्भव भएन । वरीयताकै आधारमा पाकिस्तान अन्तिम चारमा पुग्यो ।
दोस्रो क्वार्टरफाइनल भारत र अफगानिस्तानबिच थियो । यो खेल गत वर्षको फाइनलजस्तै रह्यो । सन् २०२३ मा चीनको हाङझाउमा भएको एसियाडको क्रिकेट फाइनलमा यी दुवै राष्ट्रबिच प्रतिस्पर्धा भएको थियो । जसमा भारतले पहिलो ब्याटिङ गर्यो, तर वर्षाले खेल पूरा भएन ।
वरीयताकै आधारमा भारतले स्वर्ण र अफगानिस्तानले रजत हात पारेको थियो । यसपटक यी दुवै राष्ट्र सेमिफाइनल प्रवेश खेलमा भिड्दा पुनः वर्षा बाधक बन्यो । भारत भाग्यमानी हुँदै सेमिफाइनलमा पुग्यो ।