मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
२o८३ असोज १३ मंगलबार १२:३३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्मचारीसँगको मिलेमतोमा कटारी क्षेत्रबाट व्यापक रूपमा खयर तस्करी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १२:३३:oo

उदयपुरको पश्चिमी क्षेत्रमा पर्ने राष्ट्रिय, निजी तथा सामुदायिक वनबाट खयर, उत्तिस, सिमललगायत विभिन्न प्रजातिका काठ अवैध रूपमा कटान तथा तस्करी हुने गरेको पाइएको छ। वन कर्मचारीकै सेटिङमा लामो समयदेखि वन क्षेत्रमा खयरलगायत काठ कटान गरी तस्करी हुने गरेको स्थानीयको आरोप छ।

काठ कटानका लागि निश्चित रुख र क्षेत्र तोकेर अनुमति लिइए पनि वन कर्मचारीसँगको मिलेमतोमा अनुमति दिइएको क्षेत्रभन्दा बाहिरका रुखसमेत काटेर तस्करी हुने गरेको स्थानीय बताउँछन्। उनीहरूका अनुसार घना वन क्षेत्रबाट अनुमति दिइएकोभन्दा बढी खयर काटेर तस्करी हुने गरेको छ।

सुनकोशी नदी तटीय क्षेत्रमा पर्ने उदयपुरको पश्चिमी भागमा खयरको जंगल पाइन्छ। ती जंगलबाट वन कार्यालयबाट कटान अनुमति लिएभन्दा बढी खयर तथा अन्य प्रजातिका काठ काटेर बिक्री–वितरण हुने गरेको कटारी नगरपालिका–१४ का हरबहादुर मगरले बताए। उनका अनुसार अनुमति लिएका रुख वरपरका रुखसमेत ठेकेदारको सहयोगमा काटेर बेच्ने गरिएको छ।

‘वन कार्यालयबाट जुन काठ काट्न अनुमति लिएको हुन्छ, त्यसको वरपर भएका रुख पनि ठेकेदारको सहयोगमा काटेर बेच्ने गरिन्छ,’ उनले भने, ‘वन कार्यालयलाई ठेकेदारले मिलाउने गर्छ।’

कटारी क्षेत्रबाट खयर तस्करी हुने गरेको घटना यसअघि पनि सार्वजनिक हुँदै आएको छ। खयर कटान तथा तस्करीमा संलग्न भएको आरोपमा केही व्यक्ति पक्राउसमेत परेका थिए। सुनकोशी नदीको तटीय क्षेत्रअन्तर्गत कटारी नगरपालिका–१४, १० र ताप्ली गाउँपालिकाका क्षेत्रमा ठुलो मात्रामा खयर पाइन्छ।

कटारी नगरपालिका– १० का ओमसिंह राईका अनुसार एउटा रुख काट्न अनुमति लिएको ठाउँमा तीनवटासम्म रुख काटेर तस्करी गर्ने गरिएको छ। ‘गाउँघरमा अहिले धेरै खयर मासिइसकेको छ। ठेकेदार र वन कर्मचारीको मिलेमतोमा कटान हुने गरेको छ,’ उनले भने, ‘अहिलेसम्म रोकिएको छैन। वेलावेला पक्राउ पर्दा सर्वसाधारण मात्र पक्राउ पर्छन्।’

स्थानीयका अनुसार वन क्षेत्रमा ठुलो संख्यामा खयरका रुख कटान तथा ओसारपसार हुँदा वन संरक्षणको जिम्मेवारी पाएको निकायले समयमै नियन्त्रण गर्न सकेको छैन। यहाँबाट काटिएको खयर भारततर्फ लैजाने गरिएको उनीहरूको भनाइ छ।

खयर बहुउपयोगी वनस्पति मानिन्छ। यसको काठ तथा बोक्राबाट औषधिजन्य पदार्थ, सुगन्धित वस्तु तथा अन्य सामग्री उत्पादन गरिन्छ। घरेलु मदिरा उत्पादनमा समेत यसको प्रयोग हुने गरेको बताइन्छ। खयरको व्यावसायिक मूल्यका कारण यसको अवैध कटान तथा तस्करी बढेको स्थानीयको भनाइ छ।

यता डिभिजन वन कार्यालय, त्रिवेणीका प्रमुख अनिरुद्धकुमार साहले खयर कटानमा रोक लगाइएको बताएका छन्। उनका अनुसार यसअघि अनुमति दिइएकोभन्दा बढी मात्रामा खयर कटान हुने गरेको गुनासो आएपछि अहिले नियन्त्रण गरिएको हो।

‘म आउनुभन्दा अघि बढी मात्रामा खयर कटान हुने गरेको विषयमा विवाद थियो। अहिले रोकेका छौँ,’ उनले भने, ‘अनुमतिभन्दा बाहिर गएर कटान हुने गरेको थियो। सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रबाट हुने खयर कटान अहिले रोकिएको छ।’

उनका अनुसार खयर पाइने कटारी नगरपालिका, ताप्ली गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकाका क्षेत्रमा खयरका बिरुवा रोप्ने कामसमेत भइरहेको छ। स्थानीयको सहयोगमा खयर संरक्षण र अवैध कटान तथा तस्करी नियन्त्रणको काम भइरहेको उनले बताए।

↑