नेकपा एमालेका सांसद डा. पुष्पराज कँडेलले सरकारले ल्याएको ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानुनी सिद्धान्तविपरीत र दलगत स्वार्थबाट प्रेरित भएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कँडेलले अध्यादेश निष्क्रिय भएपछि पुरानै कानुनी व्यवस्था स्वतः सक्रिय हुने सर्वोच्च अदालतको नजिर हुँदाहुँदै पुनः विधेयक ल्याउनुको औचित्य नभएको बताए।
उनले सरकारको यस्तो कदमले कानुनी शासन, सुशासन र राजनीतिक स्थायित्व कमजोर बनाउने दाबी गरे। आफ्नो स्वार्थअनुसार कानुनका व्यवस्था हटाउने र पुनः ब्युँताउने प्रवृत्तिले मुलुकमा थिति नबस्ने उनको भनाइ थियो।
‘पुरानै कानुन जगाउने हो भने त्यतिवेला नियुक्त भएका पदाधिकारी र संसद्समेत पुरानै अवस्थामा ब्युँताउनुपर्छ,’ भन्दै उनले सरकारको कदमप्रति व्यंग्य गरे। कँडेलले यस्तो कानुनी अस्थिरताले अर्थतन्त्र र लगानीको वातावरणमा समेत नकारात्मक असर पार्न सक्ने चेतावनी दिए।