अविरल वर्षापछि घट्टेखोलामा लेदोसहितकाे ढुंगा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदी खुलाउन थालिएको छ।
चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार नदीको धार परिवर्तन गरी पानी आंशिक रूपमा बगाउन थालिएको छ। उपलब्ध एक्स्काभेटरलगायत उपकरण प्रयोग गरेर थुप्रिएका ढुंगा हटाउने काम भइरहेको छ भने ठुला चट्टान फुटाउन आवश्यक तयारी भइरहेको छ।
नदीको धार परिवर्तन हुँदा पुलआसपासका केही घर डुबानमा परेका छन्। स्थानीय तहले नदीको बहाब पुरानै अवस्थामा फर्काउन विस्फोटमार्फत चट्टान हटाउने विषयमा समेत अध्ययन गरिरहेको जनाएको छ।
बाढीपहिरोका कारण विद्युत्, खानेपानी, टेलिफोन, इन्टरनेट र सडक सेवा प्रभावित भएका छन्। हुम्देलगायतका क्षेत्रमा घरमा पानी र हिलो पसेको छ।