दसैँको मुखमा बजारमा मासु र अन्य उपभोग्य वस्तुको मूल्य त निकै बढेको छ नि ?
चाडबाडको मुखमा यसरी मूल्य आकासिनुमा सरकारको अक्षमता मुख्य रूपमा जिम्मेवार छ । बजारमा सूक्ष्म निगरानी राखी प्रभावकारी अनुगमन गर्नुपर्नेमा यसतर्फ सरकारको दूरदृष्टि नै पुगेको छैन । सरकारले आमउपभोक्ताको दैनिक जीवनलाई सहज बनाउनेतिर भन्दा पनि व्यवसायी, व्यापारीलाई फुक्काफाल छाड्नेतिर ध्यान दियो । चाडपर्व आइसक्यो, विगत ६–७ महिनादेखि अभाव देखिँदै आएको ग्यासको अझै चर्को अभाव छ । सरकार प्राकृतिक विपत्तिलाई दोष दिएर आफूलाई पानीमाथिको ओभानो देखाउन खोजिरहेको छ । हरेक वर्ष हाम्रा ठुला चाडपर्व वर्षापछि नै आउने हुन् । हरेक वर्ष बाढीपहिरोले बाटो अवरोध गरेकै हुन्छ । तर, यसअघि चाडबाडको समयमा यति चर्को अभाव हुँदैनथ्यो । झन्डै दुईतिहाइको वर्तमान सरकारले पनि विगतकै सरकारको जस्तो निकम्मापन देखाइरहेको छ ।
यस्तो अस्वाभाविक मूल्य नियन्त्रण गर्ने कुनै कानुन र संयन्त्र केही छैनन् ?
नेपालमा अस्वाभाविक मूल्य नियन्त्रण गर्न कानुन र संयन्त्रको कुनै कमी छैन । भएका कानुन कार्यान्वयन गराउने इच्छाशक्ति तीनै तहका सरकारमा हुने हो भने यहाँ मूल्य नियन्त्रणमा समस्या आउँदैन । तर, नेतृत्व तहको इच्छाशक्ति नभएकाले मात्र समस्या देखिएको हो । उपभोक्ता संरक्षण ऐन मात्रै प्रभावकारी रूपमा कार्यान्वयन हुने हो भने पनि मूल्यवृद्धि नियन्त्रण प्रभावकारी हुन सक्छ ।
चाडबाडको मुखमा बजारलाई अनुशासित बनाउन के गर्नुपर्ला ?
तीनै तहका सरकारले कानुनले आफूलाई दिएको अधिकार इमानदारीपूर्वक कार्यान्वयन गर्ने हो भने बजार अनुशासित नहुने कुरै छैन । तीनै तहले कानुनको प्रभावकारी कार्यान्वयन, इमानदार अनुगमन, कैफियत देखिएको अवस्थामा कडा कारबाहीलगायत प्रक्रियालाई निरन्तरता दिने हो भने हाम्रो बजार अनुशासित हुन कठिन छैन ।