मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
प्रेम गौतम काठमाडाैं
२o८३ असोज १३ मंगलबार o८:१६:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

वर्षाले तल्लो तहको अधिवेशन प्रभावित भएपछि कांग्रेस महाधिवेशन सर्ने, अर्को मिति चाँडै टुंग्याइने

१६–१९ असोजमा घोषणा गरिएको महाधिवेशन १९ असोजमा उद्घाटन गर्ने कि दसैँ–तिहारपछि सार्ने विषयमा छलफल जारी

Read Time : > 3 मिनेट
प्रेम गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार o८:१६:oo

१६–१९ असोजका लागि तय भएको कांग्रेसको १५औँ महाधिवेशन केही दिन धकेलिने भएको छ । वर्षाका कारण तल्लो तहका अधिवेशन प्रभावित भएपछि तोकिएको मितिमा महाधिवेशन उद्घाटन गर्न कठिन हुने निष्कर्षमा नेताहरू पुगेका छन् । महाधिवेशनको मिति नजिकिएसँगै मिति परिवर्तनको तयारी गरिएको छ ।

घोषित मितिको अन्तिम दिन १९ असोजमा महाधिवेशन उद्घाटन गर्ने कि दसैँ–तिहारपछि सार्ने भन्ने विषयमा छलफल सुरु भएको एक नेताले बताए । तर, औपचारिक निर्णय हुन बाँकी छ । वर्षाका कारण कांग्रेसले यसअघि पनि तल्लो तहका अधिवेशनको मिति परिवर्तन गर्दै आएको थियो ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले वर्षाका कारण तल्लो तहका अधिवेशन प्रभावित भएकाले महाधिवेशनमा पनि त्यसको असर पर्ने बताए । उनले वैधानिक र कानुनी रूपमा अप्ठ्यारो नपर्ने गरी अर्को मिति तोकिने बताए । ‘निरन्तरको वर्षाले अधिवेशनहरू प्रभावित भएका छन् । कतिपय ठाउँमा १४ असोजमा क्षेत्रीय अधिवेशन छ । त्यसकारण १६ असोजसम्म काठमाडौं आउनै नसक्ने स्थिति छ,’ उनले भने, ‘नीतिगत रूपमा महाधिवेशनको कार्यतालिका परिवर्तन गरेका छैनौँ । वैधानिक र कानुनी रूपमा अप्ठ्यारो नपर्ने गरी निर्णय गर्छौँ ।’

१० असोजमै क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने कार्यतालिका भए पनि निरन्तरको वर्षाका कारण मंगलबारसम्मको समय दिइएको थियो । महाधिवेशन प्रतिनिधि छानिने क्षेत्रीय अधिवेशन मंगलबारसम्म सम्पन्न हुने स्थिति छैन । केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार १६ जिल्लामा क्षेत्रीय अधिवेशन सकिएको छ भने २२ जिल्लाका क्षेत्रमा निर्वाचन भइरहेको छ । ‘बाँकीमा मंगलबार हुँदै छ,’ उनले भने ।

कांग्रेस नेता अर्जुननरसिंह केसी महाधिवेशनको मिति सारेर सहमतिको प्रयास गर्नुपर्ने बताउँछन् । ‘महाधिवेशनको मिति दसैँ–तिहार पछि सारेर भए पनि अझै सहमतिको प्रयास गर्नुपर्छ । कांग्रेसलाई एकढिक्का बनाएर मात्रै देशको चुनौती सामना गर्न सकिन्छ । सबैले एक कदम अघि बढेर सहमतिमा पुग्नुपर्छ भन्नेमा छु,’ उनले भने । कांग्रेसको १५औँ महाधिवेशन १६–१९ असोजमा काठमाडौंको खुलामञ्चमा गर्ने कार्यतालिका छ । जिल्ला र प्रदेश अधिवेशन भने महाधिवेशनपछि गर्ने कांग्रेसको तयारी छ ।

पदाधिकारीमा आकांक्षीको लर्को, कुन पदमा कसको चाहना ?

कांग्रेसको १५औँ महाधिवेशनका लागि मतदाता (महाधिवेशन प्रतिनिधि) टुंगो नलाग्दै पदाधिकारीका लागि नेताहरू आन्तरिक गृहकार्यमा लागेका छन् । महाधिवेशन नजिकिँदै गर्दा सभापतिसहित पदाधिकारीमा नेताहरू खुल्दै गएका छन् । विशेष महाधिवेशनबाट संशोधन गरिएको विधानअनुसार केन्द्रीय समिति २३१ सदस्यीय हुनेछ । 

सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठसहित १३ पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुनेछन् । कोषाध्यक्ष र तीन सहमहामन्त्री सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नेछ । मनोनीतसहित कांग्रेस पदाधिकारी १७ सदस्यीय हुनेछ । विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापा १५औँ महाधिवेशनमा पनि सभापतिमा निरन्तरता दिने तयारीमा छन् । विशेषबाट सभापति निर्वाचित भएका थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले अद्यावधिक गरेको थियो । सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयलाई मान्यता दिए पनि देउवा पक्षको पुनरवलोकन निवेदनमा भने सर्वोच्चले निस्सा दिएको छ । आधिकारिकता मुद्दा अझै अदालतमा विचाराधीन छ ।

१४औँ महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्री बनेका किशोरसिंह राठौरले सभापतिमा उठ्ने घोषणा गरेका छन् । ‘पार्टीको महाधिवेशन हो, म सभापतिमा उम्मेदवारी दिन्छु,’ उनले भने । राठौर नेविसंघको पूर्वअध्यक्षसमेत हुन् । देउवा खेमाका मानिएका राठौरले विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिको निर्णयअनुसार क्रियाशील सदस्यता अद्यावधिक गराएका थिए । 

उपसभापतिमा विशेष महाधिवेशनबाट चयन भएका विश्वप्रकाश शर्मा र पुष्पा भुसाल नै दोहोरिने तयारीमा छन् । सकभर सर्वसम्मतको प्रयास हुने र सहमति नजुटे निर्वाचनबाटै आउने तयारीमा शर्मा र भुसाल छन् । 

महालक्ष्मी उपाध्याय डिनाले पनि उपसभापतिमा आकांक्षा राखेकी छिन् । तर, उनले सार्वजनिक रूपमा घोषणा गरेकी छैनन् । महाधिवेशन प्रतिनिधि नै नटुंगिएको अवस्थामा अहिले नै उम्मेदवारी घोषणा गर्नु उचित नहुने उनको तर्क छ । विशेष महाधिवेशनबाट महामन्त्री चयन भएका प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्रीका स्वाभाविक दाबेदार हुन् । पौडेल र घिमिरे दुवै विद्यार्थी राजनीतिबाट आएका हुन् । दुवै नेविसंघको अध्यक्षसमेत भए । 

सहमहामन्त्रीद्वय उदयशमशेर राणा र डा. डिला संग्रौलाले पनि महामन्त्रीका आकांक्षा राखेका छन् । तर, सार्वजनिक रूपमा उनीहरूले घोषणा गरेका छैनन् । पूर्वसहमहामन्त्री जीवन परियार र महेन्द्र यादव पनि महामन्त्रीको आकांक्षी छन् । परियार १४औँ महाधिवेशनमा शेखर कोइराला–गगन थापा प्यानलबाट र देउवा प्यानलबाट यादव सहमहामन्त्रीमा निर्वाचित भएका थिए । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले ००९ मै जनकपुरमा भएको पाँचौँ महाधिवेशनबाट दलित समुदायका धनमानसिंह परियारलाई महामन्त्री बनाएको उदाहरण प्रस्तुत गर्दै जीवनले १५औँ महाधिवेशनबाट आफू महामन्त्री बन्ने आकांक्षा राखेका छन् । 

प्रवक्ता देवराज चालिसेले पनि महामन्त्रीमा आकांक्षा राखेका छन् । सहमतिमै नेतृत्व चयनको प्रयास हुने र लोकतान्त्रिक अभ्यास गर्नर् ेअधिकार सबैलाई भएको उनी बताउँछन् । उनी विशेष महाधिवेशनका अगुवा हुन् । ‘फुटबलमा जस्तै राजनीतिमा पनि टिम चाहिन्छ । आकांक्षा राख्नु अस्वाभाविक होइन, मुख्य रूपमा सहमतिमै नेतृत्व चयन हुन्छ,’ उनले भने । 

केन्द्रीय सदस्य नैनसिंह महरले औपचारिक कार्यक्रममै महामन्त्रीको उम्मेदवारी घोषणा गरेका छन् । उनी महाधिवेशन प्रतिनिधि भएको डडेल्धुरा कांग्रेसले महामन्त्रीको उम्मेदवार उठाउने औपचारिक निर्णय नै गरेको छ । उनी सुदूरपश्चिमबाट कार्यकर्ता भेटघाटमा लागिसकेका छन् ।

केन्द्रीय सदस्य सुनील शर्मा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले महामन्त्री उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेका छन् । केन्द्रीय सदस्यहरू रामहरि खतिवडा, मीन विश्वकर्मा, रञ्जित कर्ण र मधु आचार्यले पनि महामन्त्रीमा आकांक्षा राखेका छन् । सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, बहादुरसिंह लामा, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, प्रकाश स्नेही र मुक्ताकुमारी यादव पनि महामन्त्रीका दावेदार मानिएका छन् ।

महाधिवेशनप्रतिनिधि सात हजार नाघ्ने
१५औँ महाधिवेशनमा प्रतिनिधि सात हजारभन्दा बढी हुने भएका छन् । प्रदेश सभा क्षेत्रीय सभापति र पालिका सभापति पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्थाका कारण प्रतिनिधिको संख्या बढेको केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले बताए । ‘यसपालि महाधिवेशन प्रतिनिधि सात हजारभन्दा बढी नै हुन्छन् । प्रदेश (१) र (२) का सभापति र पालिका सभापतिहरू पदेन महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । त्यही कारण यसपालि महाधिवेशन प्रतिनिधिको संख्या धेरै भएको हो,’ खड्काले भने । १४औँ महाधिवेशनमा प्रतिनिधि चार हजार ७४३ थिए ।

को–को हुन्छन् महाधिवेशन प्रतिनिधि ?

१६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट कम्तीमा चार महिलासहित १४ जना, श्रमिक, पेसागत क्षेत्र वा विषय विज्ञबाट दुईजना, ३५ वर्षमुनिका युवा एक महिलासहित तीनजना, अपांगता भएका व्यक्ति एकजना प्रत्यक्ष र महिला, दलित, मधेशी दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, थारू, मुस्लिम, पिछडिएको क्षेत्रबाट १० जना प्रतिनिधि समानुपातिक आधारमा प्रतिनिधिसभा क्षेत्रको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम निर्वाचित गर्नेछ ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापति र गाउँ–नगरपालिका कार्यसमितिको सभापति पदेन केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनेछ । पदेन महाधिवेशन प्रतिनिधिलाई मतदानको अधिकार भए पनि उम्मेदवार बन्ने अधिकार हुँदैन ।

कांग्रेसले विशेष महाधिवेशनबाट विधान संशोधन गर्दै केन्द्रीय पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि रहने पुरानो व्यवस्था हटाएर वडाबाटै अनुमोदित भएर आउनुपर्ने व्यवस्था गरेको छ । क्षेत्रका साथै भ्रातृ, शुभेच्छुक र विदेशस्थित सम्पर्क समितिबाट पनि महाधिवेशन प्रतिनिधि आउँछन् । भ्रातृ संस्थाबाट कम्तीमा पाँच र शुभेच्छुक संस्थाबाट कम्तीमा तीनजना महाधिवेशन प्रतिनिधि हुन्छन् ।

↑