संघीय सरकारले महोत्तरीको भंगहा नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि नगरप्रमुख संजीवकुमार साह नेतृत्वको टोलीले नगर र सबै वडा कार्यालयमा तालाबन्दी गरे प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई साँचो बुझाएका छन्।
कार्यालय सञ्चालन गर्ने हाकिम पठाइदिन संघीय मन्त्रालयलाई बारम्बार ताकेता गर्दासमेत नपठाएपछि बाध्य भएर तालाबन्दी गरेको नगरप्रमुख साहले बताए। ४५ दिनभन्दा बढी समयदेखि कार्यालय सञ्चालन गर्ने हाकिम नहुँदा नियमित कार्य सम्पादनमा समस्या भएको उनको भनाइ छ। आगामी तीन दिनभित्र प्रमुख प्रशासकीय अधिकृत नपठाए थप विरोधका कार्यक्रम तय गर्ने प्रमुख साहको चेतावनी छ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी यादवले नगरपालिकाले साँचो बुझाएको विषयमा सम्बन्धित निकायमा जानकारी गराइसकेको बताए।