मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ असोज १३ मंगलबार o७:४९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू–१९ महिला विश्वकपको तयारीप्रति आइसिसी सन्तुष्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार o७:४९:oo
  • आइसिसीको टोलीले मूलपानी र त्रिवि मैदान निरीक्षण गरेपछि सोमबार नेपालमा क्रिकेटप्रतिको उत्साह विश्वका जुनसुकै देशसँग तुलना गर्न सकिने बताएको छ

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सन् २०२७ को यू–१९ महिला विश्वकपको सहआयोजक नेपालको तयारीप्रति सन्तुष्टि व्यक्त गरेको छ । आइसिसीका इभेन्ट्स एन्ड अपरेसन्सका महाप्रबन्धक गौरव सक्सेनासहितको टोलीले आइतबार माथिल्लो मूलपानी र त्रिवि क्रिकेट मैदानको निरीक्षण गरेको थियो । सहआयोजकका रूपमा नेपालको पूर्वतयारी तथा व्यवस्थापनबारे जानकारी लिन टोली नेपाल भ्रमणमा आएको हो । नेपालले सन् २०२७ मा हुने आइसिसी यू–१९ महिला विश्वकपका लागि सहआयोजकको जिम्मेवारी पाएको छ ।

आइसिसीको टोलीले मूलपानी र त्रिवि मैदान निरीक्षण गरेपछि नेपालमा क्रिकेटप्रतिको उत्साह विश्वका जुनसुकै देशसँग तुलना गर्न सकिने उल्लेख गरेको छ । ‘यू–१९ महिला विश्वकप नेपालमा आयोजना गर्न आइसिसी उत्साहित छ,’ आइसिसीले सोमबार जारी गरेको विज्ञप्तिमा सक्सेनाले भनेका छन्, ‘यो यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताबाट सुन्दर देश नेपालसँग क्रिकेटको सम्बन्ध अझ मजबुत हुने विश्वास छ ।’ 

उनले विश्वकप सफल र अविस्मरणीय बनाउन आइसिसी निकै उत्साहित भएको जनाए । ‘नेपालको तयारी देखेर खुसी छौँ । यसलाई सफल बनाउन पूर्ण रूपमा सहयोग गर्न तयार छौँ,’ उनले भने । सक्सेनाले निरीक्षण भ्रमण आइसिसी प्रतियोगिताको योजना र व्यवस्थापनको महŒवपूर्ण हिस्सा भएको उल्लेख गरे । 

नेपाल क्रिकेट संघ (क्यान)सँग प्रतियोगितालाई विश्वस्तरीय बनाउन आवश्यक पूर्वाधार, सञ्चालन र अन्य व्यवस्थापनका विभिन्न पक्षमा विस्तृत छलफल भएको सक्सेनाले जनाए । ‘क्यानलाई निरन्तर सहयोगका लागि धन्यवाद छ । आगामी महिनामा आइसिसीले क्यानसँग नजिकबाट सहकार्य गर्दै विशेष प्रतियोगिताको तयारीलाई पूर्णता दिने विश्वास दिलाउँछौँ,’ उनले भने । 

सामान्य सुधार गर्नुपर्ने
क्यानका सचिव पारस खड्काले आइसिसी टोलीबाट केही विषयमा सुधार गर्न सुझाव दिएको बताए । खड्काले पनि आइसिसीको टोली नेपालको तयारीबाट समग्रमा सन्तुष्ट रहेको जनाए । ‘आइसिसीका इभेन्ट म्यानेजमेन्ट, टिम ब्रोडकास्ट टिम र लजिस्टिक टिमका गरी १५ सदस्यले दुवै मैदानको स्थलगत निरीक्षण गरेका थिए,’ खड्काले भने, ‘उनीहरूले प्रस्तावित मैदानको अवस्था, भौतिक पूर्वाधार र प्रतियोगिता सञ्चालनका लागि आवश्यक सुविधाको मूल्यांकन गर्ने उद्देश्यले निरीक्षण गरेका थिए ।’

आइसिसी टोली नेपाल आएका वेला मौसम प्रतिकूल थियो । यस्तो वेला मैदानको अवस्थालाई लिएर नकारात्मक सन्देश जाने हो कि भन्ने चिन्ता पनि थियो । क्यानले भ्रमणको तालिका केही समय सार्न प्रयास गरेको थियो । तर, आइसिसीका सदस्यहरूको व्यस्तता र फरक–फरक देशबाट आउनुपर्ने बाध्यताका कारण समय परिवर्तन हुन नसकेको क्यानले जनाएको छ । आइसिसी बोर्डले सन् २०२२ मै नेपाल र बंगलादेशलाई २०२७ को यू–१९ महिला विश्वकपको संयुक्त आयोजक घोषणा गरेको थियो ।

पूजाको कप्तानीमा नेपाल
१६ टोली सहभागी हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक हुन बाँकी छ । नेपालमा कति खेल सञ्चालन हुने र कुन–कुन चरणका खेल आयोजना गर्ने भन्ने विषय अझै अन्तिम टुंगोमा पुगेको छैन । क्यानले माथिल्लो मूलपानी र त्रिवि क्रिकेट रंगशालालाई मुख्य खेलस्थलका रूपमा तयारी गरिरहेको छ । कीर्तिपुरमा १४ हजार र मूलपानीमा करिब पाँच हजार दर्शक क्षमताको पूर्वाधार रहेको छ । नेपालको यू–१९ महिला टोलीले प्रतियोगितामा आयोजक राष्ट्रका रूपमा सहभागिता जनाउनेछ । महेशप्रसाद रिजालको प्रशिक्षण रहेको नेपाली टोलीको कप्तानी पूजा महतोले गर्नेछिन् ।

↑