सरकारी तथ्यांकअनुसार नेपालमा बर्सेनि १५ हजारभन्दा बढी हृदयाघातका बिरामी थपिन्छन् । हृदयाघातको कारक सुगर, प्रेसर र अन्य रोग रहेको चिकित्सकहरू बताउँछन् । सुगर, प्रेसर र अन्य रोग लागेको थाहा नपाउँदा त्यसको दबाब मुटुमा परेर हृदयाघात हुने गरेको हो ।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक प्राडा आशिषगोविन्द अमात्यले पछिल्लो वर्षको तथ्यांक हेर्दा हृदयाघातको मुख्य कारक रक्तचाप, सुगर र मोटोपना रहेको बताए । ‘कसरी मलाई मुटुरोग लाग्दै छ भन्नेबारेमा बिरामीलाई थाहै छैन, सुगर र उच्च रक्तचापले थाहै नपाई मुटुरोग लाग्ने गर्छ,’ उनले भने, ‘पछिल्लो समय मुटुरोग लागेका बिरामीमा जटिलता र शल्यक्रिया गर्नुपर्ने अवस्था बढिरहेको छ, यो हाम्रो खानपानको कारण पनि हो ।’ उनका अनुसार गत वर्ष ३०० भन्दा बढी हृदयाघातका बिरामी अस्पतालमा आएकामा २०० भन्दा बढीमा उच्च रक्तचाप र मधुमेह देखिएको थियो ।
उक्त अस्पतालको तथ्यांकअनुसार गत वर्ष २ हजार ८३ मुटुका बिरामी भर्ना भएका थिए । तीमध्ये सबैभन्दा धेरै जन्मजात सायनोटिक मुटुरोगका ४२८ र जन्मजात सायनोटिक मुटुरोगका २९२ बिरामी थिए । त्यसपछि मुट फेलका ६८, रुमेटिक हृदय रोगका ८६, मुटुको धड्कन अनियमित हुने समस्याका २८, इन्फेक्टिभ एन्डोकार्डाइटिसका २२ र पेरिकार्डियल इफ्युजन भएका १२ जना थिए । बाँकी ४०० भन्दा धेरै अन्य विभिन्न प्रकारका मुटुसम्बन्धी रोगबाट पीडित थिए ।
डा. अमात्यले मुटु स्वस्थ राख्ने गतिविधिमा ध्यान पुर्याउनुपर्ने बताए । ‘अहिले मानिसहरू अल्छी भए, हिँड्ने बानी हरायो, खानेकुरा चिल्लो–पिरो भयो, रमाइलो गर्दा खाने परिकारहरू पनि मुटुलाई असर गर्ने किसिमका छन्,’ उनले भने, ‘जीवनशैलीकै कारण मुटुरोगीको दर बढ्दै छ ।’
गंगालाल अस्पतालको पछिल्लो उपचार प्रवृत्ति र नेपालमा देखिने मुटुरोगको अवस्थाले कोरोनरी धमनी रोग (हार्ट अट्याक), उच्च रक्तचापसँग सम्बन्धित मुटुरोग, भल्भसम्बन्धी रोग, रुमेटिक हृदय रोग, जन्मजात मुटुरोग र मुटु फेलको समस्या बढी देखिएको छ । विशेष गरी कोरोनरी धमनी रोग, भल्भसम्बन्धी समस्या र जन्मजात मुटुरोगका बिरामी गंगालाल अस्पतालमा सबैभन्दा धेरै उपचारका लागि आउने गरेका छन् ।
वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कुञ्जाङ शेर्पाका अनुसार यस वर्ष मुटु दिवसको मुख्य नारा ‘कुनै पनि धड्कनलाई नछुटाउmँ’ भन्ने छ । ‘मुटुरोग भयावह बनिरहेको छ, मुटुरोगको संकेत चिनेर उपचार गर्नुपर्छ,’ उनले भने, ‘संसारमा मृत्युको मुख्य कारण मुटुरोग पनि हो, नेपालमा मुटुरोग लाग्नुका धेरै कारण जीवनशैलीसँग सम्बन्धित छन् ।’ उनका अनुसार हाल बाथ मुटुरोग, चालको गडबडीबाट मुटु फेल हुने जोखिम नेपालमा बढिरहेको छ । तर, यसको मुख्य कारण धुम्रपान र अस्वस्थ जीवनशैली नै देखिएको डा. शेर्पाको भनाइ छ । नेपालमा हाल मुटुको रक्तनली बन्द हुने समस्या पनि बढिरहेको उनको भनाइ छ । हाल वीरमा पनि मुटुका भल्ब खोल्ने, मुटुमा विभिन्न डिभाइस राख्ने, ओपन हर्ट सर्जरी पनि भइरहेको छ ।
बर्सेनि थपिन्छन् हृदयाघातका १५ हजारभन्दा बढी बिरामी
स्वास्थ्य सेवा विभागले २०२५ मा गरेको अध्ययनले नेपालमा हरेक वर्ष १५ हजारभन्दा बढीमा हृदयाघात भएको देखाएको थियो । विभागले यो वर्ष भने उक्त अध्ययन गरेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा मुटुरोगबाट वार्षिक ३० हजारको मृत्यु हुन्छ । त्यसमध्ये एकतिहाइ मृतक १३ देखि ४५ वर्ष उमेर समूहका छन् । मुटुरोग विशेषज्ञहरूका अनुसार नेपालमा युवावस्थामै मुटु बिग्रने क्रम बढ्दो छ । विश्व स्वास्थ्य संगठन र मन्त्रालयको तथ्यांकअनुसार नेपालमा मुटुरोगका कारण वार्षिक ३० हजारको मृत्यु हुन्छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले नेपालमा युवा पुस्तामा मुटु बिग्रिने क्रम हरेक वर्ष बढिरहेको बताए । ‘युवाहरूको मुटु झन्झन् बिग्रँदो छ,’ उनले भने, ‘परिवेश, खानपान र डिजिटल डिभाइसका कारण युवाहरूमा मुटुको समस्या बढ्दो छ, नेपालमा मुटुको कारण हुने मृत्युको एकतिहाइ अल्पायु अर्थात् १३ वर्षदेखि ४५ वर्षसम्म छ ।’ उनका अनुसार पछिल्लो समय कलिलो उमेरमै उच्च रक्तचाप, मधुमेह, किड्नी तथा कलेजो बिग्रने क्रम बढ्दो छ, जुन रोगले मुटुमा सिधै असर पार्छ । उनले अन्य रोग तथा समस्या नजरअन्दाज गर्दा त्यसले अन्ततः मुटुमै असर पार्ने क्रम पनि बढिरहेकाले त्यसतर्फ सावधान हुनुपर्ने बताए ।
जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले पनि मुटु स्वास्थ्य अहिले जोखिमपूर्ण अवस्थामा रहेको बताइन् । ‘पछिल्लो दैनिक र खानपानले मुटुलाई असर गरिरहेको छ, मुटु अस्वस्थ बनिरहेको छ,’ उनले भनिन्, ‘विशेष गरी युवाहरूले आफ्नो मुटु बचाउन ध्यान दिनुपर्छ ।’ उनका अनुसार जंकफुड तथा तयारी खाना, शारीरिक अभ्यास नहुनु, मोबाइलमा बढी समय बिताउनु, मदिरा सेवन गर्नु, कलिलो उमेरमै उच्च रक्तचाप र मधुमेह देखिनुलगायत कारणले युवाहरूको मुटु बिग्रने गरेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वमा बर्सेनि मुटुरोगबाट दुई करोड मानिसको मृत्यु हुन्छ । त्यसमध्ये ६५ लाख मानिस अल्पायुमै मर्छन् । नेपालमा वार्षिक ३० हजार मानिसको मुटुरोगबाट मृत्यु हुन्छ भने त्यसमध्ये एकतिहाइ मृत्यु अल्पायुमै हुन्छ । जसलाई विश्व स्वास्थ्य संगठनले १३ देखि ४५ वर्ष समूहमा वर्गीकरण गरेको छ । डा. रेग्मीका अनुसार २९ सेप्टेम्बर अर्थात् १३ असोजमा ‘मुटुलाई धड्कन देऊ’ भन्ने नाराका साथ विश्वभर मुटु दिवस मनाइँदै छ । विश्व मुटु महासंघले सन् २०३० सम्ममा मुटुको उपचारको दायरा बढाएर हाल उपचारको दायरामा नआएका ५० करोड मानिसलाई उपचारको दायरामा ल्याउने लक्ष्य राखेको छ ।