चार दिनको झरी आइतबारबाट थामिएसँगै सोमबारदेखि मौसममा सुधार आएको छ । सोमबार दिउँसो अधिकांश स्थानमा घाम लागेको छ ।
नेपाल मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी बुधबारसम्म ठुलो वर्षाको सम्भावना छैन । महाशाखाले नियमित रूपमा तीन दिनको मौसम पूर्वानुमान गर्दै आएको छ ।
वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बंगालको खाडीबाट आएको न्यूनचापीय क्षेत्र कमजोर बनिसकेको, मनसुनी रेखा सरदरभन्दा दक्षिणतिर रहेकाले तत्काल ठुलो वर्षाको सम्भावना नरहेको बताए । ‘समग्रमा आइतबारबाट मौसममा सुधार आइसकेको थियो । सोमबारबाट सबैजसो ठाउँमा सुधार भएर अधिकांश ठाउँमा घाम लाग्यो,’ उनले भने, ‘आगामी दुई–तीन दिनसम्म यही अवस्था रहन्छ । ठुलो वर्षा हुँदैन ।’
यद्यपि, ठुलो वर्षा गराएको प्रणालीले बोकेर ल्याएको जलवाष्पयुक्त हावा अझै पनि नेपाली आकाशमा रहेकाले अपराह्नपछि केही ठाउँमा आइसोलेटेड वर्षा भने हुने उनले बताए । ‘ठुलो वर्षा हुँदैन । कुनै–कुनै ठाउँमा केहीछिन हल्का वा मध्यम वर्षा हुन्छ,’ उनले भने ।
विभागले आगामी बुधबारसम्मका लागि मौसमसम्बन्धी कुनै चेतावनी जारी गरेको छैन ।
महाशाखाले जारी गरेको नियमित बुलेटिन आज मंगलबार हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । राति हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम सफा रहनेछ ।
त्यस्तै, बुधबार कोशी, बागमती र गण्डकीका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एक–दुई स्थानमा मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ । त्यसबाहेकको पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको आकलन छ । त्यस्तै, कोशीको तराई भूभागका एक–दुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र कमजोर अवस्थामा भारतको उत्तर प्रदेशको दक्षिणी क्षेत्रमा छ । मनसुनी (न्यूनचापीय रेखा) पनि नेपालनजिक छैन । ‘त्यही भएर मनसुनको प्रभाव पनि त्यति धेरै पर्दैन, अब बिस्तारै मनसुन पनि बाहिरन्छ,’ उनले भने ।
सरदरमा अक्टोबर पहिलो साता मनसुन बाहिरिने हुन्छ । मनसुन प्रवेशको सरदर मिति जुन १३ हो ।