मौसममा आएको परिवर्तनले जिल्ला अस्पताल लमजुङमा चिसोका बिरामी बढेका छन्। तापक्रम घटेपछि चिसोका कारण विभिन्न समस्या लिएर दैनिक दुई सयजना बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ। मौसम परिवर्तनसँगै चिसो बढेकाले बिरामीको संख्या थप बढ्न सक्ने लमजुङ जिल्ला अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए।
चिसो हावाका कारण रुघाखोकी, निमोनिया, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी उपचारका लागि अस्पताल आएका छन्। अस्पतालका मेडिकल अफिसर डा. विष्णु अर्यालका अनुसार अस्पताल आउनेमा दूधेबालकदेखि वृद्धवृद्धासम्म रहेका छन् ।
यो समयमा बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने चिकित्सकहरू बताउँछन्। चिसोमा बालबालिका वृद्धवृद्धा र सुत्केरीको स्वास्थ्यमा विशेष ख्याल राख्न चिकित्सकले आग्रह गरेका छन्। अन्य व्यक्तिलाई पनि मौसमअनुकूलको खानपान, तातोपानी तथा झोलिलो खानेकुरा धेरै पिउन, न्यानो कपडा लगाउन, चिसोमा सकेसम्म बाहिर ननिस्कन चिकित्सकहरूले सुझाव दिएका छन् ।