मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर ६ सोमबार १०:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसको १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर ६ सोमबार १०:३८:००

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आज एक सय ४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुँदै छ । मुलुकका कुल एक सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबारदेखि अधिवेशन हुन लागेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।

हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने समितिका संयोजक महादेवप्रसाद यादवले राससलाई जानकारी दिए । १४औँ महाधिवेशनका लागि गत भदौ १८ गतेदेखि वडास्तरीय अधिवेशन प्रारम्भ गरेको कांग्रेसले त्यसयता अधिकांश जिल्लामा पालिकास्तरको अधिवेशन र यही मंसिर ३ गतेदेखि प्रदेश सभा क्षेत्रीय अधिवेशन प्रारम्भ गरिसकेको छ ।

कांग्रेसको पछिल्लो संशोधित अधिवेशन कार्यतालिकाअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन/एक क्षेत्र मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर ६ गते अर्थात् आजका लागि निर्धारण गरिएको थियो । यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन यही मंसिर १० गते हुँदै छ भने प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने कार्यतालिका छ । कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुनेछ ।

एक मात्र निर्वाचन क्षेत्र भएका अधिकांश १६ उच्च पहाडी तथा हिमाली जिल्लामा भने कांग्रेसले जिल्ला अधिवेशन नै सम्पन्न गरिसकेको समितिका तेजबहादुर रावलले जानकारी दिए । क्रियाशील सदस्यताको विवादका कारण ७७ जिल्लामध्ये सर्लाहीमा मात्र वडा अधिवेशन प्रारम्भ हुन बाँकी रहेको समितिले जनाएको छ ।