१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७८ मङ्सिर ५ आइतबार ०८:५२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मोटरसाइकल ट्रेकरले भरिभराउ फोक्सुण्डो 

Read Time : > 1 मिनेट
२०७८ मङ्सिर ५ आइतबार ०८:५२:००

हिमाली जिल्ला डोल्पा मोटरसाइकल ‘ट्रेकर’हरूको गन्तव्य बन्न थालेको छ । देशका विभिन्न स्थानबाट पछिल्लो डेढ महिनामै २५ सयभन्दा बढी पर्यटक डोल्पाको शे–फोक्सुण्डो पुगेका छन् ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार डेढ महिनामा २५ सयभन्दा धेरै पर्यटक मोटरसाइकलमार्फत फोक्सुण्डो ताल पुगेका छन् । यहाँ आइपुग्ने सबैजसो पर्यटक आन्तरिक मात्रै छन् । यस वर्ष हवाईजहाज र गाडीबाट भन्दा पनि मोटरसाइकल ‘ट्रेक’ गरेर धेरै पर्यटक आएको निकुञ्जले जनाएको छ ।

डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै देशका जुनसुकै जिल्लाबाट सीधै सदरमुकाम दुनैसम्म मोटरसाइकलमा पुग्न सकिन्छ । दुनैबाट सुलीगार्ड हुँदै दुई दिनको पैदलयात्रा गरेर फोक्सुण्डो ताल पुग्न सकिन्छ । फोक्सुण्डोसँगै यहाँको त्रिपुरासुन्दरी मन्दिर, शे–गुम्बा, धो तराप भ्याली पुग्ने पर्यटक पनि बढेका छन् । 

भदौदेखि फोक्सुण्डो ताल घुम्ने आन्तरिक पर्यटकको चाप बढेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । फोक्सुण्डो ताल आउनेहरूले निकुञ्ज कार्यालय आसपासमा पर्ने सुलीगार्ड क्षेत्रमा पार्किङ गर्ने गरेका छन् । कुनै–कुनै दिन त पार्किङस्थलसमेत अभाव हुने गरेको निकुञ्जले जनाएको छ । केही दिनयता भने चिसो बढेकाले पर्यटक घटेका छन् ।

सडक मार्गबाहेक हवाईमार्गबाट पनि डोल्पा पुग्न सकिन्छ । नेपालगन्ज विमानस्थलबाट जहाजमा ४५ मिनेटमै डोल्पाको जुफाल विमानस्थल पुग्न सकिन्छ । तर, नेपालगन्ज एयरपोर्टमा पहुँच नभएका आन्तरिक पर्यटकले टिकट पाउने अवस्था निकै कम भएको बताउँछन्, सुर्खेतका बालकृष्ण बुढा । यसकारण यस्ता व्यक्तिले मोटरसाइकल यात्रा नै रोज्छन् । मोटरसाइकलमा डोल्पा जाँदा थोरै खर्चमा घुमेर आइने उनको भनाइ छ ।

‘ब्लू’ ‘डायमन्ड’का रूपमा परिचित फोक्सुण्डोको सौन्दर्यताले जोकसैको मन लोभ्याउने अर्घखाँचीबाट डोल्पा घुम्न आएका विकास खनालले बताए । ‘जाजरकोटदेखि डोल्पासम्मको बाटो कच्ची र ठाउँ–ठाउँमा पुल नबन्दा दुःख भोग्नुपर्‍यो, तर फोक्सुण्डो पुगिसकेपछि सबै दुःख–पीडा भुलिन्छ,’ खनालले भने । जाजरकोटबाट डोल्पासम्मको कच्ची सडक सुधार गरे डोल्पामा थामिनसक्नु आन्तरिक पर्यटक आउने उनको भनाइ छ ।

जीर्ण सडकले पर्यटकलाई सास्ती

ट्रयाक मात्रै खुलेको जाजरकोट–डोल्पा सडकयात्रा सहज भने छैन । डोल्पा घुम्न आउने आन्तरिक पर्यटकले निकै नै सास्ती व्यहोर्नुपरेको बताएका छन् । सडकमा खस्ने ढुंगा, माटो र पहिरोका कारण दुर्घटनाको जोखिम उच्च छ । जाजरकोटदेखि दुनैसम्मको करिब एक सय १८ किमि सडकमा पनि पक्की पुल नबन्दा धेरै ठाउँमा गाडी परिवर्तन गर्नुपर्ने भएकाले सास्ती हुने गरेको छ ।

होटेल खचाखच
पर्यटक बढेसँगै डोल्पाका होटेलहरू खचाखच भएका छन् । पर्यटकीय मार्गमा पर्ने खदाङ, त्रिपुराकोट, दुनै, जुफाल र सुलीगार्डदेखि फोक्सुण्डोसम्म बीचबाटामा पर्ने होटेलहरू खचाखच भरिएका हुन् ।

यस वर्ष पर्यटकका चापका कारण पाहुनालाई खाना खुवाउन, सुताउन हम्मेहम्मे परेको होटेल व्यवसायीको भनाइ छ । अघिल्लो वर्षको तुलनामा आन्तरिक पर्यटक दोब्बर रहेको शे–फोक्सुण्डो गाउँपालिकाका वडाध्यक्ष निमा लामाले बताए । ‘आन्तरिक पर्यटकले फोक्सुण्डो सबै होटेल खचाखच भरिएका छन्, होटेलहरू सीमित भएकाले पर्यटकको भार थाम्न सकिएको छैन,’ अध्यक्ष लामाले थपे ।

अहिलेसम्मकै धेरै पर्यटक
निकुञ्ज स्थापना भएयता अहिलेसम्मकै धेरै पर्यटक डोल्पा भित्रिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । भदौदेखि १५ कात्तिकसम्ममा २५ सय पर्यटक फोक्सुण्डो ताल पुगेको निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल खनालले बताए ।

‘डोल्पा ‘अन एक्सप्लोर’ ठाउँ हो, अझै प्रशस्त प्रचारप्रसार हुन सकेको छैन, तैपनि पर्यटक आउने गरेका छन्,’ खनालले भने, ‘पर्यटक बढेसँगै निकुञ्ज क्षेत्रमा फोहोर नहोस् भनेर ठाउँ–ठाउँमा खाल्डा खन्ने र डस्बिनहरू राख्ने गरेका छौँ,’ खनालले थपे ।