मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० बैशाख २२ शुक्रबार २२:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पाको फोक्सुन्डाेमा जलवायु परिवर्तनको असरबारे चर्चा

Read Time : < 1 मिनेट
२०८० बैशाख २२ शुक्रबार २२:०१:००

डोल्पाको से–फोक्सुन्डाे गाउँपालिकाअन्तर्गत वडा नम्बर ८ मा पर्ने फोक्सुन्डाेमा जलवायु परिवर्तनको असर न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ।

शुक्रबार साथसाथै नेपालको आयोजनामा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल, पूर्वपरराष्ट्रमन्त्री डा. विमला राई पौड्याल, उच्च अदालत नेपालगन्जका न्यायाधीश वामदेव ज्ञवाली, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलगायतको उपस्थितिमा फोक्सुन्डाेमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

नेपालमा जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिरहेकाले न्यूनीकरण गर्न प्रतिनिधिमूलक कार्यक्रमको रूपमा फोक्सुन्डाेमा आयोजना गरिएको साथसाथै नेपालका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् ।

‘हिमाली जिल्लाहरूमा हिउँ पर्ने समयमा पर्दैन । पुस–माघमा पनि डाँडाकाँडा रित्तै देखिन्छन् । पानी पर्ने समयमा पानी पर्दैन । पछिल्लो केही वर्षयता जलवायु परिवर्तनका असर व्यापक रूपमा देखिएको छ,’ उनले भनिन् ।

उनले फोक्सुन्डाे अत्यन्तै सुन्दर पर्यटकीय क्षेत्र भएकाले लाखौँ आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सकारात्मक सन्देश दिन पनि फोक्सुन्डाे तालनजिकै कार्यक्रम आयोजना गरिएको बताइन् । 

उनले डोल्पाका अधिकांश नागरिकमा जलवायु परिवर्तनसम्बन्धी जानकारीको अभाव पाइएको जानकारी दिइन् । 

प्रतिनधिसभाका उपसभामुख इन्दिरा रानामगरले फोक्सुन्डाे ताल नेपालको भर्जिन ल्यान्ड भएको भन्दै यसको प्रचारप्रचार र विकासको गुरुयोजना निर्माण नहुँदा ओझेलमा परेको बताइन् । 

काठमाडौं फर्किएपछि फोक्सुन्डाेकाे विकास र जलवायु परिवर्तनका विषयमा सदन र सरकार दुवैको ध्यानाकर्षण गराउने उनको प्रतिबद्धता थियो । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष धावासुम्डुक गुरुङलगायतका जनप्रतिनिधिले फोक्सुन्डाेको बृहत् विकासको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

डोल्पाका स्थानीयले हेलिकाेप्टरमा सयर गर्दै एक–दुई घन्टा अन्तरक्रिया कार्यक्रम गर्दैमा जलवायु परिवर्तन न्यूनीकरण नहुने भन्दै आलोचनासमेत गरेका छन् । कार्यक्रमका करिब २० लाख रुपैयाँ खर्च गरिएको साथसाथै नेपालले जनाएको छ ।