१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २८ आइतबार
  • Monday, 12 May, 2025
श्याम रोक्का
२o८२ बैशाख २८ आइतबार १६:oo:oo
Read Time : > 4 मिनेट
ब्लग डिजिटल संस्करण

यसकारण मनाउनुपर्छ ‘बुद्धजयन्ती’

Read Time : > 4 मिनेट
श्याम रोक्का
नयाँ पत्रिका
२o८२ बैशाख २८ आइतबार १६:oo:oo

२५६९औँ बुद्धजयन्ती मनाउने तयारीमा छौँ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन विश्वशान्तिका महानायक भगवान् गौतम बुद्धको जन्म तथा बुद्धत्व प्राप्ति र निर्वाण प्राप्तिको दिन भएकाले यस दिनलाई विश्वभरका बुद्धिस्ट राष्ट्रहरूले राष्ट्रियस्तरमा विभिन्न कार्यक्रम गरेर बुद्धजयन्ती भव्य रूपमा मनाउने गरेका छन्। नेपाल सरकार एवं लुम्बिनी विकास कोषले पनि यस दिनको अवसरमा भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा विशेष कार्यक्रम आयोजना गरेर बुद्धजयन्ती एवं लुम्बिनी दिवस भव्य रूपमा मनाउने तयारीमा छन्।

भगवान् गौतम बुद्धको जन्म लुम्बिनीमा इ.पू. ५६३ मा,  बुद्धत्व प्राप्त इ.पू. ५२८ बोधगयामा र महापरिनिर्वाण  इ.पू. ४८३ कुशीनगरमा  वैशाख पूर्णिमाको दिन भएको हुँदा यस दिनलाई  ‘त्रिसंयोग’ पवित्र दिनका रूपमा लिइन्छ। यसै अवसरमा लुम्बिनी विकास कोषले वैशाख पूर्णिमाको दिन बुद्धजयन्ती तथा लुम्बिनी दिवस २०८२ को विशेष समारोहका लागि प्रधानमन्त्री केपी ओलीसहितको विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरेको छ।

कार्यक्रममा बौद्ध भिक्षु तथा भिक्षुणीहरू स्वस्फुर्त सहभागी हुने छन् भने देशैभरका बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा, भन्ते एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजा विधिपूर्वक गर्नेछन्। लुम्बिनीलगायतका क्षेत्रहरूमा स्थानीयहरूले बेलुकी घरमा दीप प्रज्वलन गरेर बुद्धजयन्ती मनाउने छन्। बुद्धजयन्ती मनाउन लुम्बिनी मायादेवी मन्दिर, पुष्पकरणी पोखरीलगायतलाई विशेष रूपमा सजाइनेछ। झकिझकाउ बत्तीहरू, सरसफाइ, फूलबारीहरूको शृंगार र विभिन्न सांस्कृतिक एवं बुद्धकालीन समयका पौराणिक कथा तथा नाटकलगायत कार्यक्रमहरूको आयोजनाले धार्मिक एवं अन्य पर्यटक तथा भक्तजनहरूको स्वागत गर्नेछ।

प्रत्येक वर्ष नियमित रूपमा  वैशाख पूर्णिमा अर्थात् बुद्धजयन्तीलाई मनाउँदै आएकोमा अब भने परम्परागत धार्मिक दृष्टिकोणबाट मात्र नभई बुद्धजयन्ती  मानव समाजको विकासका लागि आपसी सदभाव, प्रेम, भाइचारा, मैत्रीभावको बीजारोपण गर्नमा बुद्धदर्शनले खेलेको उल्लेखनीय भूमिकाको स्मरणको दिनको रूपमा मनाउन जरुरी छ। बुद्धदर्शनको मूल शिक्षा नै शान्ति र अहिंसा हो। भगवान् गौतम बुद्धले शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा दिए। बुद्धदर्शनमा पञ्चशील, अष्टशील, दशशील र आर्य अष्टांगिक मार्गले नै हरेक समस्याको समाधान गर्न सकिन्छ भन्ने कुरालाई जोड दिएको छ। चतुब्रह विहारमैत्री, करुणा, मुदिता र उपेक्षाको पालना र अभ्यास गर्ने प्रेरणा जगाएको छ। मानव जीवनको मूल समस्या राग, द्वेष, मोह, घृणा, लोभ, ईर्ष्या, भय र सामाजिक विसंगति, हिंसाजन्य आचरण हो र त्यसबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने उपदेश प्रदान गरिएको छ।

बुद्धदर्शनको सान्दर्भिकता आजको आधुनिक मानव समाजमा अपरिहार्यजस्तै भएको छ। छिमेकी देश भारत र पाकिस्तानका प्रशासित कस्मिरका विभिन्न स्थानमा शृंखलाबद्ध हवाई हमलालगायत विभिन्न मुलुकबिच तनाव, हातहतियारको प्रतिस्पर्धा र होडबाजीले विभिन्न देश र समूह–समूहबिच द्वन्द्व, हिंसा व्याप्त गरेको छ। विभिन्न देशहरूबिचको आपसी लडाइँ र युद्धले ठुलो धनजनको क्षति, आर्थिक असमानता, शोषण, अत्याचार भेदभाव, हिंसा र आतंकवादलाई जन्म दिइरहेको छ। यस्तो परिस्थितिमा बुद्धदर्शनले दमन, अत्याचारलाई घृणा गर्दछ। युद्ध र हिंसालाई अस्वीकार गर्दछ। किनकि बुद्धदर्शन भनेको नै शान्ति, सदभाव, प्रेम, समानता, विकास, समृद्धिको दर्शन हो।

त्यसैले हामीले मनाउने बुद्धजयन्ती बुद्धको जन्म सन्दर्भको मात्र संकेत गर्ने र लुम्बिनीमा मात्र सीमित राख्नेभन्दा पनि बुद्धत्व प्राप्त गरेको बोधगया र महापरिनिर्वाण गरेको कुशीनगर र विशेष गरी एसियायी राष्ट्रहरूसहितको संयुक्त सहकार्यमा विश्व शान्तिको आह्वानसहित बुद्धजयन्तीलाई विश्वव्यापी रूपमा मनाउन जरुरी छ।

संसारबाट युद्ध रोक्न सकिन्छ भन्नेमा बुद्धदर्शनको विश्वास छ। यस दर्शनका अनुसार युद्धले कहिल्यै कुनै समस्याको हल हुँदैन। वैरभावले कहिल्यै शान्ति हुँदैन। अवैरभावले मात्र वैरभावलाई शान्त पार्न सकिन्छ। शान्ति भनेको युद्धको अन्त्य मात्र हाेइन, मानवले पाउनुपर्ने अधिकारको निर्वाध उपलब्धता पनि हो। हिंसाको अन्त्य गरी शान्ति स्थापित गर्न बुद्धदर्शनले देखाएको बाटो सबैभन्दा भरपर्दो आधार हो। त्यसैले बुद्धजयन्ती परम्परागत धार्मिक मूल्य–मान्यताबाट मात्र नभई बुद्धदर्शनको दृष्टिकोणबाट मनाउन जरुरी छ।

बुद्धका उपदेश संसारलाई हिंसा र युद्धको बाटो छाडी अहिंसा, मित्रता र विश्वबन्धुत्वको मार्ग प्राप्त गर्नु हो। जीवन र जगतको अनित्यता सत्य भएको कुरा लोकलाई बुझाउनु हो। लोभ र तृष्णाले दुःख निम्त्याउने हुँदा मानिसलाई त्यागी, दानी बन्न र सम्पूर्ण प्राणीहरूलाई समभावले हेर्न सिकाउनु बुद्धको शिक्षाको प्रेरणा हो। बुद्धका अनुयायीहरू एसिया हुँदै संसारभर फैलिएका छन्। बुद्धका उपदेशले मानव जातिलाई सुख, शान्ति र आनन्द दिलाउने भएकाले उक्त ज्ञानको संसारभर प्रचारप्रसार  तीव्र हुँदै छ।

६ वर्षको कठोर खोजपश्चात् ३५ वर्षको उमेरमा बोधी वृक्षमुनि ज्ञान प्राप्त गरेपछि भगवान् गौतम  बुद्धले पहिलो उपदेश वाराणसीमा पाँचजना भिक्षुहरूलाई दिएका थिए। संसारमा दुःख छ। जीवनमा जन्म, बुढ्यौली, रोग, मृत्यु, वियोग आदिले दुःख ल्याउँछ। दुःखको कारण छ। त्यो कारण तृष्णा (लोभ, लालच, आसक्ति) हो। दुःखको अन्त्य सम्भव छ। तृष्णाको अन्त्यले नै दुःखको अन्त्य गर्छ।  दुःखको अन्त्यसम्म पुग्ने बाटो छ। त्यो बाटो अष्टांगिक मार्ग हो । यी चार सत्य बौद्ध धर्मको मूल शिक्षाको आधार हुन्, जसले मुक्ति (निर्वाण) प्राप्त गर्ने मार्ग देखाउँछ।

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्धत्व प्राप्त भएपछि बुद्ध स्वयंको धर्मदेशनाका सिलसिलामा लुम्बिनीमा आगमन भएको थियो। त्यसै वेलादेखि लुम्बिनीको महिमा बढ्दै गएको छ। यस्तै सम्राट अशोकबाट शिलास्तम्भ स्थापना गरी भगवान् बुद्ध सिद्धार्थको जन्मस्थलमा अशोक चैत्य बनाई एक लाख सुवर्ण मुद्रा चढाएको इतिहास छ। त्यसैले यस बुद्धको पवित्र जन्मभूमिमा एकपटक पाइला टेक्न संसारका मानिसहरू लालायित हुन्छन्।

बुद्धजयन्तीमा बुद्ध सर्किट
भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनी र बुद्धकालीन सभ्यतासँग जोडिएका नेपालका सबै क्षेत्रहरूलाई जोडेर धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले  निर्माण भएको बृहत् बुद्ध सर्किटको प्रचार र भ्रमण बुद्धजयन्तीमा अनिवार्य छ।

लुम्बिनीलाई केन्द्रमा राखेर कपिलवस्तु, रुपन्देही र नवलपरासीका बुद्धकालीन सम्पदाहरूलाई सर्किटमा समेटिएको छ। साथै नेपालका पूर्व–पश्चिम, उत्तर–दक्षिणका हिन्दु–बौद्धसँग सम्बन्धित क्षेत्रहरूलाई समेत  सर्किटको रुटमा समावेश गरेर विकास गर्ने लक्ष्य राखिएको छ।

बुद्धपथसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह, रामग्राम, अरौराकोट, सगरहवा, सिसहनिया, सग्रहवा अनोमा नदीलगायतका क्षेहरूलाई समेटेर प्रवर्द्धनात्मक कार्यक्रमहरू भइरहेको छ। मायादेवी प्रसूतिमार्ग निर्माणको प्रक्रिया एवं प्रसूतिगृह निर्माण बजेट अभावले रोकिए पनि यथाशीघ्र निर्माण अगाडि बढ्ने चरणमा छ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाको कार्यकाल अवधिमा दुई वर्षमा झनै एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ठुलाठुला धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू आयोजना भएका छन्। परिणामस्वरूप बुद्धजयन्तीमा सरदरभन्दा यस वर्ष उल्लेखनीय  मात्रामा आन्तरिक तथा बाह्य पर्यटक बुद्ध सर्किट हुँदै भ्रमण गर्ने आकलन गरिएको छ। धार्मिक पर्यटकहरूलाई लक्षित गरेर लुम्बिनीको मायादेवी मन्दिरको परिसरमा दियो बाल्ने व्यवस्था मिलाइएको छ भने निःशुल्क ध्यान गर्ने स्थलको प्रबन्ध गरिएको छ।

पर्यटकहरूलाई पैदलमार्ग र सवारीसाधन प्रयोग गरेर जानका लागि लुम्बिनी गुरुयोजनाभित्रका मूल सडक कालोपत्रे गरिएको छ भने गुरुयोजनाभित्रका सडकहरू पूर्ण रूपमा कालोपत्रे सम्पन्न हुने अन्तिम चरणमा छ। पछिल्लो दुई वर्षमा लुम्बिनीको अन्तर्राष्ट्रिय जगतमा लुम्बिनी र बुद्ध सर्किटको प्रचारप्रसारले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नुको साथै बुद्धजयन्तीमा पर्यटकको बसाइ लम्बिने विश्वास लिएको छ।

विश्वका बौद्धमार्गीहरूको विशेष गरेर चारधाम  लुम्बिनी, बोधगया, सारनाथ र कुशीनगर हुन् । यीमध्ये सबैभन्दा महत्त्वपूर्ण लुम्बिनी हो । लुम्बिनीमा धम्मयात्रा  नगर्दा सम्म पुण्य सञ्चय नहुने विश्वास बौद्धमार्गीहरूको रहेकाले भारत सरकारले बनाएको बुद्ध सर्किटसँग लुम्बिनीलाई जोड्ने र ‘ग्रेटर बुद्ध सर्किट’ निर्माण गरेर दैनिक हजारौँ पर्यटक भित्र्याउन सकिन्छ। त्यसैले लुम्बिनीमा बुद्धजयन्तीमा ‘बुद्ध सर्किट’को पर्याप्त मात्रा प्रचारप्रसार गर्न संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार सक्रियतापूर्वक लाग्न पर्नेछ।

पर्यटक आगमनमा उत्साह थप्दै बुद्धजयन्ती
लुम्बिनीमा बुद्धजयन्ती एवं अन्य धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरूले पर्यटक आगमनमा उत्साह थपेको छ। दुई वर्षको अवधिमा लुम्बिनीमा दर्जनौँ धार्मिक एवं अन्तर्राष्ट्रिय स्तरका सांस्कृतिक कार्यक्रम साथै विभिन्न सम्मेलन र गोष्ठीहरू आयोजना भएका छन्।

दुई वर्ष अगाडिको तथ्यांकलाई केलाउने हो भने सन् २०२३ को जुलाईसम्म राहदानीवाहक (नेपाल र भारतबाहेक देशका) पर्यटकको संख्यामा पाँच सय प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो। भारतीय पर्यटकको आगमनमा ३० प्रतिशत र ३० प्रतिशत हाराहारीमा आन्तरिक पर्यटकको संख्यामा पनि वृद्धि भएको थियो।

एक वर्षअघिको  तथ्यांकलाई हेर्न हो भने सन् २०२४ मा कुल ११ लाख ७२ हजार ३०४ पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए। यस वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम तथा मोन्लम आयोजना भएको कारण यो संख्या सन् २०२५  सम्ममा अत्यधिक बढ्ने आकलन गर्न सकिन्छ।

त्यस्तै, एक वर्षअघि सन् २०२४ मा सात लाख ५९ हजार ९९० जना आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा १५.८१ प्रतिशतले बढी हो। बुद्धजयन्तीमा एक लाखभन्दा बढी पर्यटक लुम्बिनीमा भ्रमण गरेका थिए। सडक सञ्जाल र आर्थिक मन्दीका कारण आन्तरिक पर्यटकको संख्या अपेक्षित रूपमा बढ्न नसके पनि यस वर्ष विभिन्न धार्मिक नियमित गतिविधिले बुद्धजयन्तीमा उत्साहजनक सहभागी हुने आकलन गर्न सकिन्छ।

(रोक्का लुम्बिनी विकास कोषका कार्यकारी सदस्य हुन्)