विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको कार्यकारी निर्देशकमा चण्डिकाप्रसाद भट्टलाई नियुक्त गर्ने तयारी गरिएको छ । उद्योग मन्त्रालयका उपसचिव भट्टलाई अर्को व्यवस्था नभएसम्मका लागि सेजको कार्यकारीमा नियुक्त गर्ने तयारी गरिएको हो । सेजको पूर्वकार्यकारी निर्देशकसमेत रहेका भट्ट केमिकल इन्जिनियर हुन् । उनी कांग्रेसनिकट लोकतान्त्रिक प्यानलबाट इन्जिनियरिङ एसोसिएसनको उपाध्यक्षमा उम्मेदवार बनेका थिए । उद्योग मन्त्रालयले भट्टलाई अर्को व्यवस्था नभएसम्मका लागि सेजको कार्यकारी निर्देशक बनाउने फाइल मन्त्रिपरिषद्मा लगिसकेको छ । मन्त्रिपरिषद्बाट निर्णय भने भइसकेको छैन ।
हाल मन्त्रालयका सहसचिव बलराम रिज्यालले सेजको कार्यकारी निर्देशकको भूमिकासमेत निर्वाह गर्दै आएका छन् । रिज्यालभन्दा कनिष्ठ भट्टलाई सेजको जिम्मा दिन लागिएको हो । ‘उद्योग मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले कार्यकारी निर्देशकमा भट्टलाई नियुक्ति गर्ने फाइल अगाडि बढाउन निर्देशन दिएका छन्,’ मन्त्रालय स्रोतले भन्यो ।सेजको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अघि बढाइएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले बताए । तर, कसलाई नियुक्ति गर्न लागिएको उनले खुलाएनन् । ‘अर्को व्यवस्था नभएसम्मका लागि भनेर मन्त्रालयकै कर्मचारीलाई सेजको कार्यकारीको जिम्मा दिन लागिएको हो,’ उनले भने, ‘तर, निर्णय नभइसकेकाले अहिल्यै नाम खुलाउन मिल्दैन ।’ सेजमा पूरा समय दिने गरी कार्यकारी नियुक्ति गर्न थालिएको उनले बताए ।
सेजका कार्यकारी निर्देशक रिज्यालले भने नयाँ कार्यकारी निर्देशक नियुक्तिका विषयमा आफूलाई जानकारी नभएको बताए । ‘अहिले सेजको कार्यकारी निर्देशकका रूपमा मैले नै जिम्मेवारी वहन गर्दै आएको छु, नयाँ नियुक्तिको प्रक्रिया अघि बढेको विषयमा मलाई जानकारी छैन,’ उनले भने, ‘मन्त्रालयभित्रैबाट जिम्मेवारी हेरफेर हुन लागेको भए त्यसलाई सामान्य र नियमित कार्यका रूपमा लिनुपर्छ ।’विशेष आर्थिक क्षेत्र ऐन, २०७३ ले सेजको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ । तर, भट्टलाई प्रतिस्पर्धाविनै कार्यकारीको जिम्मा दिने तयारी गरिएको हो । यद्यपि, उनलाई अर्को व्यवस्था नभएसम्मका लागि मात्रै नियुक्त गर्न थालिएको हो ।
सिफारिसमा पनि परेका थिए भट्ट
अघिल्लो वर्ष सेजको कार्यकारी निर्देशक छनोट गर्न गठित समितिले गरेको सिफारिसमा समेत भट्ट परेका थिए । योजना आयोगका सदस्य रामकुमार फँुुयाल संयोजकत्वको सिफारिस समितिले सेज प्राधिकरणको सेल–२, गोरखाका भट्ट, तमाम–८, बाग्लुङका योगेन्द्र गौचन र व्यास–५, तनहुँका रघुराज काफ्लेको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेका तीनमध्ये एकलाई सरकारले सेजको कार्यकारी निर्देशकमा नियुुक्ति गर्ने विशेष आर्थिक क्षेत्र ऐन, २०७३ मा उल्लेख छ । तर, तत्कालीन प्रधानमन्त्री र विभागीयमन्त्रीबीच भागबन्डा नमिलेपछि सेजमा कार्यकारी निर्देशक नियुक्ति गर्ने फायल मन्त्रिपरिषद्बाट फिर्ता भएको थियो ।
दुई वर्षदेखि रिक्त
विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणको कार्यकारी निर्देशक पद भने दुई वर्षदेखि रिक्त रहेको छ । तत्कालीन कार्यकारी निर्देशक चण्डिका भट्टको कार्यकाल ६ असोज ०७६ मा सकिएको थियो । त्यसयता उद्योग मन्त्रालयका सहसचिवहरूले निमित्त भएर सेज प्राधिकरणको प्रमुखकको जिम्मेवारी सम्हाल्दै आएका छन् । रिक्त भएयता सहसचिवहरू रामचन्द्र ढकाल र शोभाकान्त पौडेलले सेजका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाले । हाल उद्योग मन्त्रालयका सहसचिव बलराम रिज्यालले सेजको निमित्त कार्यकारी निर्देशकका रूपमा काम गरिरहेका छन् ।