बुधबार सामान्य अंकले बढेर तिहारअघि सेयर बजारले उकालो यात्रा कायमै राखेको छ । लगानीकर्ताहरू बजार घट्ने त्रासले अझै पनि नाफा बुक गर्ने क्रममा रहँदासमेत नेप्से उकालो लागेको छ । कारोबारको सुरुवातमा बजार तीव्र गतिमा बढे पनि बीचमा नाफा बुक गर्ने प्रतिस्पर्धा हुँदा बजार केही सुस्त हुन पुगेको थियो । बुधबार नेप्से सूचक ५ दशमलव २२ अंकले बढेर दुई हजार आठ सय ४८ दशमलव ८४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स भने झिनो अंकले घटेको छ ।
बुधबार कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये वाणिज्य बैंक, फाइनान्स, जलविद्युत् समूहको सूचकमा लगानीकर्ताको आकर्षण बढेको छ । झिनो अंकले बढेको नेप्सेमा जीवन बिमा, निर्जीवन बिमा समूहको सूचकमा भने केही गिरावट आएको छ । सामान्य अंकले बढेको नेप्सेमा तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट मूल्यमा कारोबार भएको छ । महालक्ष्मी विकास बैंक, आइसिएफसी फाइनान्स र साहस ऊर्जा कम्पनीको सेयर १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार हुँदा यी कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा आर्जन गरेका छन् ।
अरुण काबेली पावर, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, मानुषी लघुवित्त, अपि पावर कम्पनीको सेयर मूल्य सात प्रतिशतदेखि पाँच प्रतिशतले बढेको छ । गुमाउने कम्पनीमा छ्याङ्दी पावर कम्पनी सबैभन्दा अघि रहेको छ । यसको सेयर मूल्यमा ५ दशमलव ५९ प्रतिशतले गिरावट आएको छ । श्री इन्भेष्टमेन्ट फाइनान्स, युनिलिभर नेपाल लिमिटेड, ग्रिन लाइफ हाइड्रोपावर, सानिमा लार्ज क्याप फन्ड, युनाइटेड मोदी हाइड्रोपावरको सेयर तीन प्रतिशतले घट्न पुगेका छन् ।
बुधबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २९ कम्पनीको एक करोड कित्ता÷इकाइ सेयर खरिद बिक्री हुँदा ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँको कारो बार भएको छ । सर्वाधिक सेयर खरिद बिक्री नबिल बैंकको भएको छ । बैंकले मंगलबार ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव ल्याएको थियो । यसैकारण, नबिल बैंकको सेयर कारोबार बढेको हो । त्यस्तै, महालक्ष्मी विकास बैंक, अपि पावर कम्पनी, अरुण काबेली पावर, नेपाल रिइन्स्योरेन्स कम्पनीको ३५ करोड रुपैयाँदेखि १८ करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छ ।
फस्र्ट माइक्रो फाइनान्सको साधारणसभा मंसिर १६ मा
फस्र्ट माइक्रो फाइनान्सको साधारणसभाको मंसिर १६ गते बस्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरूलाई वितरण गर्न प्रस्ताव लाभांशलाई पारित गर्ने गरी साधारण सभा बोलाएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।