एमाले अध्यक्ष केपी ओलीले माडीलाई मणि बनाउन भगवान् राम आएको बताएका छन् । एमाले नगर कमिटी माडी नगरपालिकाले मंगलबार आयोजना गरेको कार्यक्रममा ओलीले भगवान् रामले माडीलाई मणि बनाउने बताएका हुन् ।
‘मैले चार वर्षअघि माडीमा बोल्दा भनेको थिएँ, हामी माडीलाई मणि बनाउँछौँ । अब त म होइन राम नै फर्किएर आउनुभयो माडीलाई मणि बनाउन । राम नै फर्किएर आएपछि अब मणि बन्छ,’ उनले भने, ‘यो ठाउँलाई सुरक्षित गर्नुस्, यहाँ रामनवमीको दिन दशौँ लाखको उपस्थितिमा असाधारण मेला लाग्नुपर्छ । अन्त बनाएको मूर्ति होइन, रामको जन्मभूमिमा भएको मूर्ति हो ।’
उनले माडीमा असाधारण ढंगले भक्तजनहरूको भिड लाग्ने पनि दाबी गरे । ‘कसैले मलाई भन्लान् राजनीति गर्ने मान्छे भौतिकवादी र माक्र्सवादी दर्शन मान्ने मान्छे,’ उनले भने, ‘दर्शनका कुरा गर्ने हो भने दर्शनकै कुरा गरौँला, तर यहाँ देश विकासको कुरा छ, मलाई देश विकास गर्नुछ । इतिहास फैलाउने कुरा छ । हाम्रो माडी विश्वनाथ र तिरूपतिमा भन्दा धेरैले भ्रमण गर्ने ठाउँ बन्नुपर्छ ।’
अयोध्याधाम कसैको विरुद्ध निर्माण नभई सत्य प्रमाणित गर्न लागिएको उनले बताए । ‘राम, सीता, लक्ष्मणको अगाडि हनुमान हात जोडेर बस्नुभएको छ । हनुमान सधैँ हात जोडेर बस्नुहुन्छ भन्ने होइन, अत्याचार भयो भने हनुमानको गदाहा उठ्न बेर छैन । हनुमानको गदाहा टाउकोमा प¥यो भने के होला,’ उनले भने, ‘सायद केहीकेही मान्छेहरू आत्तिएका त्यही भएर पनि होलान् कि ! पाप नगर्ने हो भने डराउनुपर्दैन । पापीहरू डराउनुपर्दछ ।’