मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ कार्तिक १४ आइतबार १४:५३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङको दुर्गम गाउँमा नेपाली सेनाको स्वास्थ्य शिविर

Read Time : > 1 मिनेट
२०७८ कार्तिक १४ आइतबार १४:५३:००

नेपाली सेनाले उत्तरी धादिङको किन्ताङफेदीमा बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ। उत्तरी धादिङको दुर्गम क्षेत्रका मानिसहरूलाई गाउँ घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले श्री शिवदल गण गजुरीले विभिन्न सस्थाहरूसँगको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो। 

उत्तरी धादिङका मानिसहरू धादिङबेंसी तथा काठमाडौं जान निकै टाढा छ। रोग लिएर हिँडिरहेका बिरामीहरूलाई रोगको पहिचान गरी उपचार गर्ने बानीको समेत विकास गर्न शिविर आयोजना गरिएको ६ नम्बर बाहिनी अड्डाका बाहिनी पटी रवीन्द्र केसीले बताए। उनले भने, ‘यो स्वास्थ्य शिविरमा बालरोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ, डेन्टल, आँखा, दाँतलगायत अन्य सामान्य सेवा समेत दिएको छौँ । जटिल केसहरू, बिरामीहरू पनि आएका छन्। थप उपचारमा सहजीकरण गर्छाैँ,’ केसीले भने। 

शिविरमा सेवा लिन आएकी खनियाँबास गाउँपालिका– ४ की ८६ वर्षीया मनमाया तामाङले गाउँ नजिकै शिविर भएकोले मात्र जचाउन आएको बताइन्।  उनले भनिन्, ‘स्वास्थ्य संस्था टाढा छ। अलि जटिल समस्या भए धादिङबेंसी जानुपर्छ। दुई–तीन दिन लाग्छ। सम्भव नै छैन।’ गाउँमै शिविर आएकोले आँखा र दाँत जचाउन आएको उनले बताइन्। त्यस्तै, राम्रोसँग आँखा नदेख्ने र खुट्टा दुखेर जचाउन आएका नेत्रावती डवजोङ गाउँपालिका– १ भाङटारका लमन श्रेष्ठ गाउँमै स्वास्थ्य शिविरले दुर्गम क्षेत्रका समुदायलाई ठूलै राहत मिलेको बताए। ‘टाढा जान परेन। आउन–जान खर्च हुन्थ्यो। औषधि पनि निःशुल्क पाएका छौँ। हामी त खुसी छौँ,’ उनले भने। 

जिल्ला प्रशासन कार्यालय धादिङको संयोजनमा श्री नं. ६ फि.ए. गुल्म, बैरनी, धादिङ अस्पताल, स्वास्थ्य कार्यालयलगायत नजिकका पालिकाहरूको सहयोगमा शिविर सञ्चालन गरिएको हो। शिविरमा पाँच सयजना सेवाग्राहीले सेवा लिएका छन्। आँखाको जाँच गराएका एक सय १० जनामध्ये पाँचजनामा मोतियाबिन्दु फेला परेको छ। मोतियाबिन्दु फेला परकोहरूकाे आगामी मंसिर १६ देखि १८ गतेसम्म जिल्ला सामुदायिक आँखा केन्द्रमा निःशुल्क अप्रेसन गरिने आयोजकले बताएका छन्।