चालू आवको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप दुई प्रतिशतले वृद्धि हुँदा कर्जा लगानी भने आठ दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जाको वृद्धिदर उच्च देखिएसँगै सन्तुलन पनि बिग्रन थालेको छ । ‘अहिले बैंक तथा वित्तीय संस्थामा देखिएको कर्जायोग्य पुँजी अभावको समस्या यही वृद्धिदरमा देखिएको असन्तुलनले हो,’ नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘अहिले पनि अवस्थामा खासै सुधार भएको छैन ।’राष्ट्र बैंकले चालू आवका लागि निजी क्षेत्रतर्फ जाने बैंक तथा वित्तीय संस्थाको कर्जाको वृद्धिदर १९ प्रतिशतमा राख्ने लक्ष्य लिएको छ । कर्जाको वृद्धिदर उच्च नभए पनि निक्षेप स्रोतमा वृद्धि हुन सकेको छैन ।
निक्षेप खोसाखोसको अवस्था सिर्जना भएपछि केही समयअघि निक्षेपको माथिल्लो सीमामा राष्ट्र बैंकले अघोषित क्याप लगाएको छ । यही कारण बैंक तथा वित्तीय संस्थाहरू निक्षेप वृद्धि गर्ने अनेक उपायमा लागेका छन् । उदाहरणका लागि ससाना रकममा पनि बैंकहरूले बढाएर लाभांशदर घोषणा गर्न थालेका छन् । हालै एक विकास बैंकले १० हजार निक्षेपमा पाँच प्रतिशत ब्याजदर दिने स्किम नै ल्याएको छ ।
राष्ट्र बैंकले चालू आवबाट अभ्यासमा ल्याएको कर्जा निक्षेप अनुपात (सिडी रेसियो)ले समेत बैंक तथा वित्तीय संस्थाको लगानी क्षमता केही घटेको छ । ‘पुरानै सिसिडी रेसियोको व्यवस्थाले बैंक तथा वित्तीय संस्थाले थप ९८ अर्ब रुपैयाँ लगानी गर्न सक्ने अवस्था आउने साँचो हो,’ राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक देवकुमार ढकालले भने, ‘तर, सिसिडीको व्यवस्थाले स्रोतविना पनि लगानी गर्न सक्ने अवस्था बनिरहेको थियो ।’
अहिले बैंक तथा वित्तीय संस्थाले कम्तीमा २० प्रतिशत रकम तरल सम्पत्तिको रूपमा राख्नुपर्छ । हाल बैंक तथा वित्तीय संस्थाको प्राथमिक पुँजी स्रोतको रूपमा मात्रै ६ खर्ब रुपैयाँ छ । प्राथमिक पुँजी स्रोत तरल सम्पत्तिकै रूपमा राख्नसमेत पर्याप्त नभइरहेको र कर्जा लगानी आयातकै लागि खर्च भइरहेकाले सिडी रेसियो कार्यान्वयनमा ल्याएको ढकालले स्पष्ट पारे ।
‘तरल रूपमा राख्नुपर्ने पुँजीलाईसमेत कर्जा लगानीमा लगाउन सक्ने सुविधाले निक्षेप नबढे पनि बैंकहरूले कर्जा लगानी गर्न पाइरहेको अवस्था थियो,’ ढकालले भने, ‘तर, मुलुकको भुक्तानी सन्तुलनमै समस्या आउन थालेपछि भने यो सुविधा हटाउनैपर्ने अवस्था आएको हो ।’
निक्षेप खोसाखोस
वाणिज्य बैंकहरूबीच भदौयता निक्षेप खोसाखोसको प्रवृत्ति देखिएसँगै तीन महिनाको अवधिमा आठवटा बैंकको निक्षेप घटेको छ । प्रभु, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आइएमई, नेपाल बंगलादेश, कृषि विकास, राष्ट्रिय वाणिज्य बैंकको निक्षेप एक अर्ब ३९ करोडदेखि २४ खर्ब २६ अर्ब रुपैयाँसम्म घटेको हो । सन्राइज र सानिमा बैंकको भने निक्षेप क्रमशः २१ अर्ब र १३ अर्बले वृद्धि भएको हो । असोजमा पाँच बैंकले मुद्दती नौ दशमलव ५० भन्दा माथि ब्याजदर प्रस्ताव गरेका थिए । सन्राइज र सानिमासहित प्राइम, मेगा, एनएमबिले उल्लेखित ब्याजदर प्रस्ताव गरेका हुन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत बुधबार (३ कात्तिक) बैंकिङ प्रणालीबाटै १० अर्ब निक्षेप घटेको छ । मंगलबार कुल बैंक तथा वित्तीय संस्थामा ४८ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप रहेकोमा बुधबार घटेर ४८ खर्ब पाँचा अर्बमा सीमित भएको हो । त्यस्तै, कर्जा भने ४४ खर्ब ९२ अर्बबाट बढेर ४४ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।
वाणिज्य बैंकहरूबीच निक्षेप खोसाखोसको प्रवृत्ति देखिएसँगै तीन महिनाको अवधिमा आठवटा बैंकको निक्षेप घटेको छ