जिल्ला प्रशासन कार्यालय लमजुङले जिल्लाका सरकारी कार्यालयको छड्के अनुगमन गरेको छ । जिल्लाका ९ सरकारी कार्यालयमा अनुगमन गरेकोमा अनुगमनमा ३३ जना कर्मचारी कार्यालयमा उपस्थित नभएको र २१ जनाले तोकिएको पोसाक नलगाएको भेटिएको थियो ।
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यको निर्देशनमा जिल्ला प्रशासन कार्यालय लमजुङका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी जगदीश मिश्रसहितको टोलीले अनुगमन गरेको हो । चाडपर्वको समयमा लामो समयसम्म कर्मचारी कार्यालयमा अनुपस्थित हुने भएकाले यसलाई न्यूनीकरण गरी राष्ट्रसेवक कर्मचारीलाई अनुशासित र मर्यादित बनाउन अनुगमन थालिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
अनुगमन टोलीले जिल्लाको स्वास्थ्य कार्यालय ,शिक्षा विकास तथा समन्वय इकाइ, पूर्वाधार विकास कार्यालय , जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, नापी कार्यालय, कृषि ज्ञान केन्द्र, मालपोत कार्यालय, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोनको अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी बैद्यले बताए ।