मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ३ बुधबार
  • Thursday, 19 December, 2024
२o७८ कार्तिक ३ बुधबार o८:o३:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विश्वकर्मा मृत्यु प्रकरण : न्याय माग्दै परिवार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ३ बुधबार o८:o३:oo

पीडित परिवार भन्छ– दलित र गरिब भएकै कारण कुटेर मारियो, जातीय विभेद भयो 

भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा दसैँको नवमीका दिन स्थानीय भीमबहादुर विकको कुटपिटका कारण मृत्यु भयो । स्थानीय सीताराम बस्नेत र दिलीप श्रेष्ठको कुटपिटबाट विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । पीडित परिवारले भने जातीय विभेदका कारण कुटपिटबाट विश्वकर्माले ज्यान गुमाउनुपरेको भन्दै दोषीमाथि कारबाही हुनुपर्ने माग गरेको छ । विश्वकर्मालाई कुटपिट गर्ने बस्नेत र श्रेष्ठ अहिले प्रहरी हिरासतमा छन् ।

दलितसँग सम्बन्धित विभिन्न संघसंस्थाले जातीय विभेदजन्य कारणबाट घटना भएको भन्दै विश्वकर्माको परिवारलाई न्याय दिनुपर्ने माग गरेका छन् । सोमबार विभिन्न १९ संघसंस्थाले यस्तो माग गरेका हुन् । भीमबहादुर विक संयुक्त न्यायिक समितिले विकको जघन्य अपराधपूर्ण हत्या भएको भन्दै दोषीमाथि जातीय भेदभाव तथा छुवाछूत कसुरअन्तर्गत कारबाही हुनुपर्ने माग गरेको छ । 

तर, प्रहरीले प्रारम्भिक अनुसन्धानमा अत्यधिक मादक पदार्थ सेवन गरेर अपशब्दसहित होहल्ला गरेपछि विश्वकर्मामाथि आक्रमण भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एवं प्रवक्ता सूर्यबहादुर थापाले वादविवादपछि घटनाले अर्को रूप लिएको जानकारी दिए । पक्राउ परेकाको बयानका आधारमा विकले मादक पदार्थ खाएर गालीगलोज गरेपछि बस्नेतले पाइपले र त्यसको सात–आठ मिनेटपछि पल्लवी फार्मेसीका सञ्चालक श्रेष्ठले मुक्का हानेपछि उनी पिच सडकमा ढल्न पुगेको उनको भनाइ छ । ‘ज्यानसम्बन्धी कसुरमा जाहेरी परेकाले त्यहीअनुसार अनुसन्धान अघि बढेको छ,’ थापाले भने । ज्यान कसुरअन्तर्गत विश्वकर्माका छोरा किसनले दुईजनाविरुद्ध किटानी जाहेरी दिएका थिए । दसैँ बिदालगत्तै अदालतमा घटनासँग सम्बन्धित व्यक्तिबाट बयान लिन थालिने प्रहरीले जनाएको छ । ‘विकमाथि कुटपिट गरेको भनिएको थियो । मन्दिर र जातीयताको विषय पनि उठेको छ । यो पनि अनुसन्धान गर्दै छौँ,’ थापाले भने, ‘कुटपिटमा संलग्न दुवैजना हिरासतमा छन् । घटनाको सूक्ष्म अध्ययन भइरहेको छ ।’ 

नारायणगढ बजारदेखि करिब पाँच किमि पश्चिमतर्फ रामघाट लंकुमा मंगलपुर जाने सडकनजिक दुर्गाचोक छ । चोक आडमा पुस्तकालय, बचत तथा ऋण सहकारी संस्था भएकै ठाउँमा सानो मन्दिर छ । मन्दिरदेखि दक्षिणतर्फ करिब चार सय मिटर पर भीमबहादुरको घर छ । 

‘हामीलाई न्याय चाहिन्छ, दोषीमाथि कारबाही होस्’

भीमबहादुरकी श्रीमती विन्दु र छोरा किसन ।

विश्वकर्माको शवको भरतपुर अस्पतालमा पोस्टमार्टम गरिए पनि प्रहरीले रिपोर्ट सार्वजनिक गरेको छैन । मृतकका परिवारले शव बुझेका छैनन् । गरिब र दलित भनेर हत्या घटना टालटुल पार्ने हो कि भन्ने विश्वकर्मा परिवारमा डर छ । भीमबहादुरका छोरा किसन विकले दलित र गरिब भएकै कारण बुबा मारिएको दाबी गरे ।

‘बुबा सामान किन्न भन्दै पसल जानुभएको थियो । उहाँले लामो समय रक्सी खान छाडे पनि केही दिनदेखि पुनः खान थाल्नु भएको थियो । त्यो दिन उहाँ बजार जाँदा कसले खुवायो वा आफैँले खानु भयो हामीलाई थाहा भएन,’ उनले भने, ‘उहाँलाई ज्यानै जाने गरेर पिट्नु हामी दलित र गरिब भएकै कारण हो । हामीले मन्दिरका बारेमा बोल्नै नपाउने हो र ? कुकुर बिरालो मारेको हैन, मान्छे मारेको हो सबैले देखेका छन् । पहिले पाइपले कुटेछन् । पछि फेरि झापड हान्दा बुबा ढल्नुभएछ । पक्कै अप्ठ्यारो ठाउँमा लाग्यो होला, बुबा त्यहीँ बित्नुभयो । हामी जस्तो गरिब मानिस अब यसरी मर्न नपरोस् । हामीलाई न्याय चाहिन्छ ।’

भीमबहादुरकी श्रीमती विन्दु विकले १५/२० वर्षअघि दुर्गा मन्दिरमा पूजा गर्न जाने गरे पनि अहिले भने आफूहरू त्यहाँ नजाने गरेको बताइन् । ‘पहिलेपहिले हामी पूजा गर्न जान्थ्यौं, तर आफै मन्दिर प्रवेश गरेर पूजा गर्न पाइँदैनथ्यो, त्यसैले हेलामा पर्नुभन्दा आफै पूजा गर्न जान छाडेका थियौँ । मन्दिरमा बोका चढाउने कुरा विगतमा केही नभएको, तर रक्सीको नशामा त्यो दिन श्रीमान्ले बोल्नुभयो होला । यसको सजाय मृत्यु त हैन होला नि,’ उनले भनिन् । 

भीमबहादुरकी कान्छी छोरी मिना विकको पनि आमाको जस्तै दुखेसो छ । ‘बुबाले मदिरा सेवन गर्नुभएको थियो भने हामीलाई खबर गरेको भए उहाँलाई घरमा ल्याउँथ्यौं । प्रहरीलाई भनेको भए बरु जेल नै जानु हुन्थ्यो । पिटेर मार्ने अधिकार कसलाई छ ? बुबाले के गर्नु हुन्छ भन्ने सबै गाउँलेलाई थाहा छ । हामीले गरिब र दलित भएकै कारण सधैं धम्की र दबाब सहनु परेको थियो । त्यसैको परिणाम आज परिवारको सदस्य गुमाउनुपर्‍यो,’ उनले भनिन् ।