जुम्लाका बजार क्षेत्रमा मानसिक रोगी तथा बहुअपांगता भएका व्यक्तिहरू देखिन्छन्। उनीहरूको हेरचार न त परिवारले गरेका छन् न त सरकारले। ती सडकपेटीको छेउछाउमा देखिने मानिस बढ्दै गएका छन्। मानसिक रोगीका विषयमा राज्यका तीन तहका सरकार उदासीन देखिन्छन्। स्वास्थ्य परामर्शदेखि औषधिउपचारमा राज्यले बेवास्ता गर्दै आएको परामर्शकर्ताहरूले बताउँदै आएका छन्।
विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा आज टिपिओ नेपाल जुम्लाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले मानसिक रोगका विषयमा राज्यको तीनै तहका सरकार उदासीन देखिएको बताएका हुन्।
नेपाल पत्रकार शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले भने, ‘पछिल्लो समय विभिन्न कारणले मानसिक रोग बढ्दै गएको छ। तर, सरोकारवाला निकाय उदासीन देखिनु दुःखद पक्ष हो। राज्यको यो क्षेत्रमा कुनै पनि लगानी देखिएको छैन।’ राज्यका तीनै तहका सरकारले अपनत्व लिएर बृहत् योजना बनाएर मानसिक रोगको रोकथाम तथा नियन्त्रण गर्नुको विकल्प नरहेको उनले बताए।
अघिल्लो वर्ष कर्णाली प्रदेश सरकारले ‘सडक मानव’मुक्त घोषणा गरे पनि त्यसको उपलब्धि नदेखिएको मनोविमर्शकर्ता नन्दराज आचार्यले बताए। उनले भने, ‘जैविक तत्व, मानवसिर्जित तथा प्राकृतिक विपत्, सामाजिक तत्वहरू, मनोसामाजिक तत्वले गर्दा मानसिक रोग वृद्धि भइरहेको छ।’ हेर्दा सामान्य देखिए पनि त्यसले समाजमा ठूलो असर पार्ने गरेको हुन्छ। त्यसको वेलैमा निदान गरेको खण्डमा ठूलो घटना हुनबाट जोगिने भएकोले वेलैमा रोकथाम तथा नियन्त्रणमा ध्यान दिनुपर्ने उनले बताए।
गत वर्ष जुम्लामा ४८ जना सडकमानव भेटिएका थिए। करिब डेढ साताको अवधिमा संकलित तथ्यांकअनुसार यहाँका आठवटै स्थानीय तहमा गरी ४८ जना सडकमानव भेटिएका हुन्। भेटिएका अधिकांश सडकमानव मानसिक रोगी देखिएका छन्। यीमध्ये १० जनालाई उद्धार गरी सुर्खेतस्थित मानव सेवा आश्रम पठाइएको थियो। सामाजिक विकास कार्यालय जुम्लाका अनुसार तिला र हिमा गाउँपालिकामा सडकमानव शून्य छन्। तातोपानीमा दुईजना, सिँजामा तीनजना, कनकासुन्दरीमा १६ जना, पातारासीमा १० जना, गुठीचौरमा दुईजना र चन्दननाथ नगरपालिकामा १३ जना गरी ४६ जना सडकमानव छन् ।
जुम्लामा सडक मानवको संख्या क्रमिक रूपमा बढ्दै जाँदा व्यवस्थापनमा चुनौती देखिएको छ। सडकमानवको दीर्घकालीन व्यवस्थापनमा आर्थिक, भौतिक तथा आवश्यक जनशक्ति व्यवस्थापनलगायतका चुनौती देखिएका छन्।
अपांग पुनर्स्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष नन्दराज धितालका अनुसार सडकमा भेटिएका अधिकांश मानसिक रोग भएका व्यक्तिहरू छन्। अपांगताका १० प्रकारमध्ये मानसिक रोगी पनि बौद्धिक अपांगभित्र पर्दछन्। उनले भने, ‘यहाँका विभिन्न सडक तथा बजार क्षेत्रमा देखिएका व्यक्तिहरू मात्र भेटिएका हुन्। खोजतलास गर्न हो भने अझै यस्ता व्यक्तिहरू भेटिन्छन्। अपांगता भएका व्यक्तिहरूको संरक्षण र संवर्द्धन गर्नु घरपरिवार, अभिभावक र राज्यको पहिलो जिम्मेवारी हो।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मानसिक रोग विषेशज्ञ चिकित्सक अनुप देवकोटा यो विषय राज्यको प्रथामिकता नपरेको बताउँछन्। कर्णाली प्रदेशमा १० जिल्ला छन्। १० जिल्ला मध्ये दुई जिल्ला जुम्ला र सुर्खेत अस्पतालमा दुईजना चिकित्सक मात्र छन्। दुईजना चिकित्सकले १० जिल्लामा हेर्न सकिने अवस्थामा नरहेको उनले बताए। ‘आवश्यक जनशक्तिसहित पूर्वाधार थप्नुको विकल्प छैन। पछिल्लो समय विभिन्न कारणले मानसिक रोग बढ्दो क्रममा भए पनि राज्यको यस विषयमा कुनै नीति तथा कार्यक्रम छैन,’ उनले भने।