मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २२ शुक्रबार ०७:४८:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इपिएलको फाइनल शनिबार : पोखरा र चितवन उपाधिका लागि भिड्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २२ शुक्रबार ०७:४८:००

चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)को फाइनलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच शनिबार प्रतिस्पर्धा हुने भएको छ । त्रिवि मैदानमा बिहीबार पोखराले फाइनल प्रवेशका लागि भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटोर्सलाई सात विकेटले हराउँदै चितवनविरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । चितवन यसअघि नै फाइनल पुगिसकेको थियो । फाइनल प्रवेशका गरेका दुवै टोली नयाँ हुन् । यसकारण जसले उपाधि जिते पनि यसपटक इतिहास रचिनेछ । 

भैरहवाको मध्यम योगफल
भैरहवाले पहिलो ब्याटिङ गर्दा सोचे जस्तो योगफल स्कोर बोर्डमा राख्न सकेन । निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा भैरहवाले एक सय १९ रनको मध्यम योगफल खडा गर्‍यो । सहज लक्ष्य पछ्याएको पोखराले १८.२ ओभरमा तीन विकेट गुमाएर एक सय २३ रन जोड्दै पहिलोपटक फाइनल स्थान पक्का गर्‍यो । पोखराले १० बलअघि नै जित निकालेको हो । पोखराका साहन अराचेहिगेले इनिङ्सको १८.१ र १८.२ ओभरमा लगातार चौका प्रहार गरी विजयी रन बटुलेका थिए । भैरहवाका लागि रोहितकुमार पौडेल १८औँ ओभर बलिङ गर्न आएका थिए । भैरहवाले पोखराविरुद्ध आठ बलर प्रयोग गरेको थियो । जसमध्ये भुवन कार्की मात्र सफल भए । उनले तीन ओभरमा एक मेडन राखी १६ रन खर्चेर पोखराका दुई ब्याट्सम्यानलाई आउट पारे । 

सिहन र विपिनले जिताए
पोखरा इनिङ्सको ७.४ ओभरमा ३५–३ को अवस्थामा थियो । ओपनर रिचार्ड लेभी १४ रन तथा रित गौतम पाँच रनमै आउट भए । लोशेक बम भुवनकै ओभरमा बोल्ड भए । त्यसपछि साहन र विपिन रावलले चौथो विकेटका लागि ८८ रनको साझेदारी गर्दैैै पोखरालाई इपिएल इतिहासमै पहिलोपटक फाइनलको स्थान सुरक्षित गराए । साहनले ४४ बलमा सात चौकाको सहयोगमा ५३ रनको योगदान दिए । विपिनले ३४ बलमा तीन चौका र एक छक्का प्रहार गरी ४० रन बटुले । 

भैरहवाको कमजोर ब्याटिङ
एलिमिनेटर खेलमा भैरहवाले काठमाडौं किंग्स इलाभेनविरुद्ध उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको थियो । तर, फाइनल प्रवेश गर्ने निर्णायक खेल भने भैरहवाका ब्याट्सम्यान चुकेका छन् । यद्यपि, ब्याटिङ पिच भए पनि पोखराका बलर हावी हुँदा भैरहवाका ब्याट्सम्यानले रन बटुल्न निकै मिहिनेत गरेको देखिन्थ्यो । सो इनिङ्समा दुईपटक मात्र गतिलो साझेदारी भएको थियो । कप्तान शरद भेषवाकर र आरिफ सेखले छैटौँ विकेटका लागि ४१ रनको साझेदारी गरे । यसैगरी, भेषवाकरले धम्मिका प्रसादसँग सातौँ विकेटका लागि २७ रन बटुले । 

यसबाहेक अन्य कुनै पनि विकेटका लागि राम्रो साझेदारी भएन । सेखले २४ बलमा समान एक चौका र छक्का प्रहार गरी २७ रन बनाए । अन्तिमसम्म नटआउट रहेका कप्तान भेषवाकरले ३३ बलमा एक छक्का र दुई चौका प्रहार गरी ३२ रन बटुले । यसअघि शीर्ष तीन ब्याट्सम्यान रोहित पौडेल (१८), प्रदीप ऐरी (११) र उपल थरंगा (१०) रनमा आउट भए । पोखराको बलिङमा किशोर महतोले २१ रन खर्चेर दुई विकेट लिए ।