मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १९ मंगलबार
  • Friday, 11 July, 2025
२o७८ असोज १९ मंगलबार १३:५८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अस्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज १९ मंगलबार १३:५८:oo

अस्ट्रेलियाले सन् २०२२ सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले मंगलबार पर्यटकलाई भन्दा कुशल आप्रवासी र विद्यार्थीलाई अस्ट्रेलिया प्रवेशमा उच्च प्राथमिकता दिइने बताएका हुन्।

अस्ट्रेलियाले मंगलबारसम्म १६ वर्षमाथिका ८० प्रतिशत जनतालाई कोभिडविरुद्धको दोस्रो मात्राको खोप लगाइसक्ने जनाएको छ।

गत हप्ता प्रधानमन्त्री मोरिसनले खोप लगाएका नागरिक र स्थायी बासिन्दाहरूलाई पहिलोपटक नोभेम्बरबाट विदेश उडान गर्न अनुमति दिने योजना सार्वजनिक गरेका थिए। गत वर्ष मार्चमा लिइएको सीमा प्रतिबन्धको निर्णयपछिको यो सीमा खुकुलो बनाउने पहिलो र महत्त्वपूर्ण निर्णय थियो।   यसैबीच प्रधानमन्त्री मोरिसनले मंगलबार अस्ट्रेलियालीपछि स्वदेश प्रवेशको अबको प्राथमिकता बाह्य पर्यटकभन्दा कुशल आप्रवासी र अन्तर्राष्ट्रिय विद्यार्थी हुने बताएका हुन्।

अन्य देशहरूबाट अस्ट्रेलिया प्रवेश गर्नेहरूको संख्या दोस्रो विश्वयुद्धपछि सबैभन्दा कम कोभिड महामारी र यसबाट सिर्जित प्रतिबन्धका कारण भएको  छ। कोभिड महामारीले अस्ट्रेलियाली विश्वविद्यालयहरूमा अत्यन्तै नकारात्मक असर पारेको छ। किनकि यहाँका प्रायः विश्वविद्यालय विदेशी विद्यार्थीले तिर्ने शुल्कमा निर्भर हुने गर्दछन्। जारी सीमा प्रतिबन्ध निरन्तर रहँदा अन्तर्राष्ट्रिय विद्यार्थी अन्य मुलुकमा जान सक्ने  डरले यहाँका विश्वविद्यालयहरू चिन्तित देखिन्छन्।

अस्ट्रेलियन पर्यटन  परिषद्ले महामारीभन्दा पहिले अन्तर्राष्ट्रिय पर्यटकहरूबाट मात्र एक वर्षमा ४५ अर्ब अस्ट्रेलियन डलर कमाएको थियो। परिषद्ले अर्को वर्षको मार्चसम्ममा सीमा प्रतिबन्ध हट्ने र बाह्य पर्यटकको आवागमनमा सहजता आउने अपेक्षा गरेको छ।