१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
बागमती प्रदेश साक्षर घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र सामाजिक विकास मन्त्री विजय सुवेदी । तस्बिर : नयाँ पत्रिका
दीपक अधिकारी काठमाडाैं
२o८१ जेठ १ मंगलबार o७:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

४५ हजार नागरिक निरक्षर रहेको बागमती प्रदेश साक्षर घोषणा

Read Time : > 1 मिनेट
दीपक अधिकारी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:१३:oo

४५ हजार चार सय ४५ नागरिक निरक्षर रहेको बागमती प्रदेश साक्षर घोषणा भएको छ । सोमबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको औपचारिक कार्यक्रममार्फत मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर प्रदेश घोषणा गरेकी हुन् । प्रदेशका १३ जिल्लामा ९७ प्रतिशत साक्षरता रहेकाले साक्षर घोषणा गरिएको शिक्षा विकास निर्देशनालयले जनाएको छ । 

साक्षर अभियानलाई सिर्जनात्मक रूपमा अघि बढाइन्छ : मुख्यमन्त्री शाक्य

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर अभियानलाई सिर्जनात्मक रूपले अघि बढाउने बताएकी छन् । ‘अहिले पूर्ण साक्षर नभए पनि अब भने शतप्रतिशत साक्षर गराउन सबै स्थानीय तह, जिल्ला समन्वय समितिहरू लाग्नुपर्छ,’ उनले भने । शाक्यले जिल्लास्तरबाट सबै अभियन्ताहरू साक्षर अभियानमा लाग्न निर्देशनसमेत दिइन् । 

प्रदेशभित्र सिन्धुपाल्चोकमा एक हजार ९ सय २, धादिङमा एक हजार ३ सय ३४, चितवनमा एक हजार ९ सय २३, नुवाकोटमा एक हजार ४ सय ७१, भक्तपुरमा एक हजार १ सय ३८, दोलखामा दुई हजार ४ सय ७५, मकवानपुरमा आठ सय ८, रामेछापमा एक हजार ८ सय ९९, सिन्धुलीमा ६ सय ३५, रसुवामा ५ सय ५२, काभ्रेपलाञ्चोकमा १३ हजार १ सय ५५ र काठमाडौंमा १९ हजार ५३ जना निरक्षर रहेको तथ्यांकमा उल्लेख छ । 

कार्यक्रममा निर्देशनालयका निमित्त निर्देशक सिपी लुइँटेलले पेस गरेको तथ्यांकअनुसार बागमतीमा ९७.२२ प्रतिशत नागरिक साक्षर छन् । काठमाडौं उपत्यकासहित १३ जिल्लामा ५५ लाख २९ हजार ४ सय ५२ जनसंख्या रहेको बागमतीमा १५–६० वर्ष उमेर समूहका १५ लाख ८८ हजार ८ सय २२ नागरिक साक्षर रहेको तथ्यांकमा उल्लेख छ ।

१३ वटै जिल्लाले यसअघि नै साक्षर घोषणा गरिसकेको र मापदण्डअनुसार प्रदेशभित्रका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर रहेको आधारमा प्रदेशलाई घोषणा गरिएको निमित्त निर्देशक लुइँटेलले बताए ।

तथ्यांकअनुसार १५–६० वर्ष उमेर समूहका सिन्धुपाल्चोकका ९७.६८, ललितपुरका १००, धदिङका ९८.४०, चितवनका ९७.५०, नुवाकोटका ९८.१९, भक्तपुरका ९६.७०, दोलखाका ९५.३७, मकवानपुरका ९८.९७, रामेछापका ९६.४०, सिन्धुलीका ९९.१३, रसुवाका ९६.२९, काभ्रेपलाञ्चोकका ९६.४८ र काठमाडौंका ९६.८८ प्रतिशत नागरिक साक्षर छन् । 

प्रदेशको सामाजिक विकास मन्त्रालयले साक्षर प्रदेश घोषणा गरे पनि दिगो साक्षरता, प्रणाली सुधार र एकीकृत प्रणाली स्थापना, बानी सुधार, लगानी सुधार र शिक्षा, समसामयिक, व्यक्तिगत आवश्यकताको चुनौती रहेको जनाएको छ ।
 

ad
ad